लोकसंवाद संवाददाता | समाज | साउन २८, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिराले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट रु एक लाख प्रदान गरिसकिएको छ ।
सरकारले पहिराबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई रु दुई लाख र थप मृतक भएमा प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई मङ्गलबार थप रु एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।उक्त रकम सङ्घीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गर्नुभयो ।
जिल्लामा असार २९ र साउन ५ गतेको पहिरामा पुरिएर १३ जनाको मृत्यु भएको छ । ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक रु एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट रु ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ । सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।