सिन्धुपाल्चोकको बाढीपहिराे  पीडितलाई चीनको सहयोग

सिन्धुपाल्चोकको बाढीपहिराे  पीडितलाई चीनको सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  साउन २९, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरा   पीडितलाई चीनले सहयोग गर्ने भएको छ ।  चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा  कम्बल पाँच सय थान दिने भएको हो ।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरा पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँको विशेष पहलमा सो सामग्री दिन लागिएको हो ।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ । यी खाद्य सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ । न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ ।