प्रदेश नं ५ समाचार : समुदायमा बढ्दै कोरोना सङ्क्रमण

प्रदेश नं ५ समाचार : समुदायमा बढ्दै कोरोना सङ्क्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ३०, २०७७

रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । 

बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको  सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ । 

सङ्क्रमण बढेसँगै आलोपालो प्रशासनिक सेवा

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले राससलाई जानकारी दिनुभयो ।

प्रजिअ पन्थकाअनुसार आइतबार सिद्धार्थ नगरपालिका, मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइने छ । यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकावासीलाई सेवा दिइने छ । मङ्गलबार देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका तथा बुधबार बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइने छ ।

बिहीबार सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइने छ । आज मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तालिका बनाएको छ ।

यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने, शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।