भक्त राई | साहित्य | साउन ३०, २०७७
तिमीले सुनाखरी भनेपछि
म सुनाखरी भएर फुलेँ,
फुल्न सकेर पनि
फुल्न नसकेर पनि
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
भीरमा अडिएर फुलेँ
पिरमा तड्पिएर फुलेँ
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
पहिरोमा फुलेँ/गहिरोेमा फुलेँ
डाँडामा फुलेँ/काडाँमा फुलेँ
तिमीलेले जहाँ जहाँ भन्यौ
त्यहीँ त्यहीँ फुलेँ
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
हावाहुरीमा झोक्कासँगै फुलेँ
जुन रोएको शीतको थोपासँगै फुलेँ
हाँसेर फुलेँ/रोएर फुलेँ
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
शीरमा फुलेँ/पाउमा फुलेँ
भिरमा फुलेँ/गाउँमा फुलेँ
जहाँ जहाँ भन्छौ
सबै तिम्रो नाउँमा फुलेँ
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
तिमीले भनेपछि
म त वनको फूल
वनमा फुलेँ
तिम्रो लागि मात्रै फुल्नु फेरि भन्यौ
तिम्रो मनमा फुलेँ
कहिले भुलेर फुलेँ
कहिले सम्झेर फुलेँ
तिम्रो रहरको गल्ली गल्ली
डुलेर फुलेँ
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
तिम्रो बलेसी नआउनु भन्यौ
एक्लै फुलेँ
तिम्रो कुलेसी नधाउँनु भन्यौ
बाँझै फुलेँ/बिहानै फुलेँ
समसाँझै फुलेँ
तिमीले सुनाखरी भनेपछि
सुनाखरी नै भएर फुलेँ ।
जानेर फुलेँ/नजानेर फुलेँ
मानेर पनि फुलेँ/नमानेर पनि फुलेँ
तिम्रो लागि फुल्दा फुल्दा
खोज्दै हेर्छु आज आफ्नै लागि भने
कहाँनेर फुलेँ
तिमीले सुनाखरी के भन्यौ
सुनाखरी नै भएर फुलेँ
जानेर, नजानेर
सुनाखरी नै भएर फुलेँ ।
सुन्दरहरैँचा, मोरङ