जनमत सङ्ग्रह र ‘लेफ्टह्यान्डेड क्रिटिक’मा बिपी : राजाको असीमित अधिकार र सर्प-छुचुन्द्रोको कथा

फर्कलान् र ती दिनहरू

जनमत सङ्ग्रह र ‘लेफ्टह्यान्डेड क्रिटिक’मा बिपी : राजाको असीमित अधिकार र सर्प-छुचुन्द्रोको कथा

हरिविनोद अधिकारी  |  साहित्य  |  साउन ३१, २०७७

क्रान्तिकारी कवि गोपाल रिमालले आफ्नो कवितामा भन्नुभएको थियो- एक दिन पक्कै त्यो आउँछ आमा । सायद ! त्यो एक दिन आयो र गयो । एउटा क्रान्ति द्रष्टा, भविष्य द्रष्टा र नेपाल आमाको बारेमा चिन्ता लिएर जीवन न्यौछावर गर्ने नेपाल आमाको सन्तानको रुपमा बिपी कोइराला आउनु भएको थियो र करिब ७५ वर्षदेखि नेपाली माटोमा बाटो देखाउने युग पुरुषको रुपमा रहनु भएको छ । 

बिपी नेपाल आउँदा सायद निकट छिमेकी भारतलाई, भारतको राजकीय नेतृत्वमा रहने इन्दिरा गान्धीहरूलाई लागेको थियो होला, बिचरा बिपीले के पो गर्न सक्नुहोला र ? सायद पञ्चहरूलाई लागेको थियो, राजा हामीसँग छन्, राजासँग सम्पूर्ण राजकीय शक्ति छ, सेना छ, पुलिस छ, प्रशासन छ र दलहरू प्रतिबन्धित छन् । हामी पञ्च नै राजाका भएपछि नेपालमा, त्यो पनि विखण्डित पार्टीहरूले के पो गर्न सक्लान् र ? भखरैमात्र जुरमुराएर पुनर्संगठित हुन थालेको कम्युनिस्ट आन्दोलनलाई भने नेपाली काँग्रेसको बलजफती खुला साङ्गठनिक व्यवहारले केही झस्काएको देखिथ्यो । डाक्टर केसर जङ्ग रायमाझीलाई कम्युनिस्टहरूबाटै संशोधनवादी र राजावादी भनेर भनिन्थ्यो । 

मोहनविक्रम सिंहको कम्युनिस्ट र भर्खरै एकीकृत भएर उदीयमान हुन थालेको मार्क्सवादी लेनिनवादी सङ्गठन प्रति भने कसैको ध्यान गएको थिएन । तर त्यो सङ्गठन युवाहरूका माझ भूमिगतरुपमा अत्यन्त विस्तारित हुँदै थियो । सायद ! कम्युनिस्ट आन्दोलनमा एउटा पक्षलाई सरकारसँग समन्वय गरी अघि बढ्ने र अर्को पक्षले सरकारबाट निरापद् अवस्थाको प्रत्याभूति लिई सङ्गठन विस्तार गर्ने दोहोरो मापदण्ड लिइएको जस्तो पाइन्थ्यो किनभने केही नेताहरू कारागारमा पनि गोलघरमा थिए त कोही पञ्चायतका धुरन्धर नेताहरूको आडमा भूमिगत सङ्गठनलाई विस्तारित गर्दै थिए । त्यसैलाई बिपीले इन्डोनेसियाका कम्युनिस्ट नेता कमरेड डी एन अडिटको फर्मुला मान्नु भएको थियो । घुस, विश्वास प्राप्त गर र त्यो संस्थालाई सिद्ध्याऊ । बिपीले त्यसलाई स्याबोटियर्सको नाम दिनु भएको थियो अन्तध्र्वंशी । 

कमरेड अडिटले इन्डोनेसियाका उदार सामाजिक प्रजातन्त्रवादी नेता सुकार्नोको राज्यकालमा उनकी श्रीमती देवीलाई खुसी पारेर राज्यका धेरै पहुँचमा कम्युनिस्ट सङ्गठन विस्तार गरेकाले जनरल सुहार्तोले सत्ता कब्जा गरे । प्रजातन्त्र नै रहेन । भनिन्छ, लाखौँ प्रजातन्त्रवादी र कम्युनिस्टहरूको हत्या गरेर निरंकुश सत्ताको विस्तार गरे । भन्न त उनले पनि आफ्नो शासनलाई प्रजातन्त्र नै भने । बिपीले राजालाई सचेत गराउनु भयो, पञ्चको नाममा वा आडमा राजतन्त्रको विनाश हुने खतरा देख्नु भएको थियो । त्यसैले बिपीले राजा र आफ्नो घाँटी एकै ठाउँमा जोडिएको बताउनु भएको थियो । बिपीको त्यो भनाइलाई अहिलेसम्म पनि गलत अर्थ लगाइन्छ । वास्तवमा अहिले बल्ल राजतन्त्रका मतियारहरूलाई लाग्यो होला ! त्यो झिनो बोलीमा बोल्ने मान्छेले कति शक्तिशाली भविष्यवाणी गरेको रहेछ । 

हेर्नुस् बिपी यो अधिकार भनेको मन्त्रिपरिषद्को सल्लाहमा प्रयोग गरिने हो । यदि राजाले स्वेच्छाले यो प्रयोग गरे भने सर्पले मुसो ठानेर छुचुन्द्रो समाए जस्तो हुनेछ । सर्पले छुचुन्द्रो समायो भने यदि छुचुन्द्रो बाँचेर बाहिर आयो भने त्यसले छोड्ने ग्याँसले सर्प दृष्टिविहीन हुन्छ, केही गरी खायो भने उसको शरीर पटपट फुटेर पाक्छ । जे गरे पनि सर्पलाई राम्रो हुँदैन । यो सङ्कटकालीन अधिकार त्यस्तै विकट अधिकार हो । मन्त्रिपरिषद्को सल्लाहले लगाएमा त्यसको जबाफदेही सरकार नै हुन्छ तर राजाले स्वेच्छाले प्रयोग गरे भने पचाउन सक्दैनन् ।

सायद ! बिपीले पुनर्जागरण मासिक पत्रिकालाई माथवर सिंह बस्नेतजीलाई एउटा अन्तर्वार्ता दिनु भएको थियो, र त्यसमा शीर्षक राखिएको थियो–'द किङ इज रिसेप्टिभ' अर्थात् राजा सुन्न तयार छन् । राजासँगको अन्तरङ्ग वार्ताका क्रममा बिपीसँग भनाभन भएर राजाले तिमी कोसँग कुरा गरिरहेका छौँ भनेर रिसाएर हिँड्दा बिपीले पनि आफ्नो हैसियत देखाउँदै आफू जनताको प्रतिनिधि अनि बाणीविहीनहरुको वाणी बोल्ने व्यक्ति भएको बताउनु भएछ र राजा महेन्द्रसँगको वार्तालाई सम्झाउँदै आफूले राजा महेन्द्र अर्थात् आफ्ना अघिल्तिरका राजाको पितालाई भनेको कुरा सम्झाउनु भएछ–सरकार, म असफल भए त विराटनगरमा गएर हलो जोतेर खेती गरेर बसुँला तर सरकार असफल भएपछिको अवस्था ध्यान दिनु भएको छ ? त्यही कुरा भन्दा राजा वीरेन्द्र थचक्क बसेर भनेछन्–लु भन तिम्रा कुरा ।

त्यसैलाई बिपीले भन्नुभएको रहेछ, 'द किङ इज रिसेप्टिभ' । सायद त्यो बेलामा बिपी र गणेशमानजीलाई प्रहरी तालिम केन्द्र, महाराजगन्जमा राखिएको थियो । त्यही दिन होला सायद, गणेशमानजीले बिपीलाई सोध्नु भएछ- कोइरालाजी, तपाईँलाई राजाले तपाईँ भनेर संशोधन गरे कि तिमी भनेर ? अनि बिपीले कूटनीतिक उत्तर दिनु भएछ–म सबै नेपालीलाई राजाबाट तपाईँ भनाउन लागेको मान्छेले आफूलाई के भने भन्ने कुरा गौण ठान्छु । यसको अर्थ के लगाउन सकिन्छ भने राजाले तिमी नै भने होलान् । तर बिपीले भन्नुहुन्थ्यो- आफूलाई गणेशमानजी, सुवर्णजीको जस्तो दर बारिया भाषा बोल्न नआउने भएकाले राजा वीरेन्द्रसँग अङ्ग्रेजीमा नै कुरा गर्न सहज ठान्थेँ र राजा पनि नेपालीमा भन्दा अङ्ग्रेजीमा नै कुरा गर्न सहज मानेको आफूले पाएको थिएँ । 

पक्कै पनि बिपीको क्यान्सरको मात्र कुरा भएको थिएन होला तर राजासँग यसरी बिपीले एक्ला एक्लै कुरा गर्दा पञ्चहरूमा राजाप्रति शङ्का उत्पन्न हुन थालेको थियो होला र त बिपी बारम्बार आफ्ना कार्यकर्ताहरूको छलफलको क्रममा भन्नुहुन्थ्यो- राजालाई पनि आफ्नो वरिपरिका विश्वासपात्रहरूलाई एकै पटक चटक्क छोडेर बहुदलीय व्यवस्था घोषणा गर्न गाह्रो छ जस्तो कि म पनि तिमीहरूलाई छोडेर राजासँग मिल्न सक्दिन । 

यसरी राजनीतिको गुत्थीलाई सहज तरिकाले फुकाउने नेतालाई राष्ट्रिय मेलमिलाप भनेर आएको नेतालाई झुक्क्याउने काम भएको थियो । एकातिर वार्ता पनि गर्ने, बिरामी भएकाले बचाउन भनेर हजारौँ डलर खर्च गरेर अमेरिका पनि पठाउने अनि उहाँकै कार्यकर्ताहरूलाई जेलमा राख्ने अनि उहाँकै आदेशमा सशस्त्र आन्दोलन गर्ने क्रान्तिनायकहरु यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने । सायद राजा वीरेन्द्रमा प्रजातन्त्रका पक्षमा र विपक्षमा उठेको आन्तरिक तुफानलाई समन्वय गर्न त्यति सजिलो भएन होला र त एउटा बेला यस्तो आयो कि राजाबाट विद्यार्थी आन्दोलनको एउटा चरम विन्दुमा आएर मुलुकमा जनमत संग्रहको घोषणा बाध्य  पारियो । 

त्यो विद्यार्थी आन्दोलनलाई बिपीले बडो ध्यानपूर्वक नियालिरहनु भएको थियो भन्ने कुरा पछि उहाँले दिनुभएका कतिपय अन्तर्वार्ताबाट थाहा हुन्छ । विद्यार्थीहरूको गुम्फनको निकास पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीकार अलि भुट्टोलाई फाँसी दिएको विरोधमा विरोध गर्न पाकिस्तानी दूतावासमा जाँदा भएको प्रहरी हस्तक्षेपका विरुद्धमा सुरु भएको थियो । त्यो विरोध जुलुसमा जाँदा भएको लाठी चार्जमा पहिलो घाइते रूप खड्का भएका थिए जसलाई मैले ओम बहालमा टाउकोमा पट्टी बाँधेको अवस्थामा भेटेको थिएँ । मलाई अहिले पनि याद छ होटेल इडेन अघिल्तिर खड्का साथीहरूसँग आउँदै थिए र मैले सोध्दा ती नेविसंघका विद्यार्थीहरूले यसरी विरोध पत्र दिन गएको बेलामा पुलिसले लाठीचार्ज गरेर धेरै विद्यार्थीहरूलाई घाइते बनायो । अरुको बारेमा थाहा भएन, रूपजीलाई देखेकोले याद छ । त्यसपछि निहुँ जुल्फीकार अलि भुट्टोको फाँसीको हो, विद्यार्थीहरूले विभिन्न माग राखेर आन्दोलन यति अघि बढ्यो कि सरकार र विद्यार्थीहरूका बिचमा सम्झौता भयो । त्यही सम्झौताका विरुद्धमा अचानक विद्यार्थीहरूको अराजक जुलुसले नेपाल विद्यार्थी सङ्घका नेता बलबहादुर केसी, अखिलका नेता शरणविक्रम मल्लसहितका नेताहरूलाई ठेलामा राखेर सहर घुमाइयो र झन्डै मारेनन् । त्यो अराजक भीडले आरएनएसी र गोरखापत्रमा आगजनी नै गरेको थियो र केही ठाउँमा कर्फ्यु  जस्तै लागेको थियो ।

 त्यो दिन बुधवार थियो । जेठ ९ गते । राती । हामी होमनाथ दाइ र म ओम बहालको राष्ट्र पुकारको कार्यालय र प्रेसबाट पत्रिकालाई अन्तिम रूप दिएर निस्कियौँ । गोरखापत्रमा आगजनी भएकाले त्यहाँबाट हामीले जाने बाटो थिएन, हामी खिचापोखरी हुँदै धरहरा निस्किँदै थियौँ, एउटा स्कुटरमा पी टी आइका प्रतिनिधि सायद नाम मुकुल जस्तो लाग्छ, आउँदै थिए, उनलाई लखेट्दै कुनै समूह आउँदै थियो र हामी उनीसहित एउटा घरमा छिँडीमा लुक्यौँ । अनि त्यो अराजक भीड कतै गयो र हामी बिस्तारै बाहिर आयौँ र दाइले ती प्रतिनिधिलाई नयाँ सडकतिर नजान र भोटे बहालतिरबाट त्रिपुरेश्वर निस्किएर कोठातिर जान भन्नुभयो । हामी पनि डराई डराई आउँदै थियौँ, धरहरातिरबाट एक बटालियन सैनिक नयाँ सडकतिर जाँदै थियो । अनि दाइले भन्नुभयो- सायद कर्फ्यु लाग्छ क्या रे ! हामीलाई त्यो पनि थाहा थिएन कर्फ्यु कस्तो हुन्छ र कति कडा हुन्छ ? राती धेरै कुरा भयो होला र त बिहानै ६ बजेर ३० मिनेटमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत या बहुदलीय शासन पद्धतिका लागि रोज्न भनेर नेपालमा जनमत संग्रहको घोषणा गरेका थिए । 

होमनाथ दाइ बिहानै बिपीकोमा गएर प्रतिक्रिया लिनु भएछ र राती सबै पूरा गरेर छापिँदै गरेको पत्रिकामा हेडलाइन परिवर्तन गरेर लेखियो–श्री ५ वीरेन्द्र जिन्दाबाद । अनि बिपीले प्रतिक्रिया दिनु भयो जनमत संग्रहको घोषणाको स्वागत गरेको । २०३६ साल जेठ १०गते राष्ट्रपुकार साप्ताहिक दुई पटक छापियो फरक फरक मुख्य समाचारमा । कति विक्री भयो भयो त्यो दिन । स्वराज रञ्जित भन्ने भाइ थियो कम्पोजिटर पनि, प्रेस म्यान पनि । त्यो दिउँसोभर छापियो पत्रिका । 

बिपीका लागि पनि त्यो अप्रत्याशित थियो । नेपाली काँग्रेसमा कुनै तयारी थिएन र राजा आत्तिएर पनि होला, सिधै पञ्चायतको विकल्प दिन नसकेर जनमत संग्रहको माध्यमबाट उपाय विकल्पमा ल्याएको । राजाले सायदै कसैसँग सल्लाह गरे होलान् । तर पञ्चका लागि यो यति अप्रत्याशित भएको थियो कि ! उनीहरूका लागि राजा अब अभिभावकभन्दा पञ्चायतको विकल्प खोज्ने निष्पक्ष शासक बनेको देखे । उनीहरूको खान्की सित्तैमा खोस्ने जस्तो । तर राजाको नामबाट खाएका थिए भन्ने सायदै बिर्सिए । 

बिपीको निःशर्त समर्थन थियो जनमत संग्रहको घोषणाका लागि किनभने बिपीको स्पष्ट तर्क थियो– जनमत संग्रह जस्तो प्रजातान्त्रिक प्रक्रियालाई मैले पनि समर्थन गरिन भने कसरी म प्रजातन्त्रवादी ? पञ्चायतको विकल्प नेपाली जनतालाई चाहिएको हो, बहुदलीय व्यवस्थाको लासमाथि राजाले बलजफती पञ्चायतको झन्डा गाडेका हुन् । जब राजा नै त्यो व्यवस्था ठिक छ कि छैन ? भनेर जनतासँग सोध्न थालेका छन् भने मैले या नेपाली काँग्रेसले त्यसमा त जनमतसंग्रहलाई स्वच्छ र निष्पक्ष बनाउन कम्मर कसेर लाग्ने हो । बहुदलीय व्यवस्था नै प्रजातन्त्रका लागि अपरिहार्य माध्यम हो भन्ने देखाउने सुनौलो अवसर हो भन्नेमा लाग्ने हो ।

पञ्चलाई यो मन पर्ने कुरै होइन, सित्तैमा जनतासँग कुनै सरोकार नराखी शासन गर्न पाएको बेला, महाराज हजुर नै ठुलो, भगवान्, विष्णुको अवतार भनेर खान पाएकोमा अव जनताको कसीमा जानु परेको अवस्थामा उनीहरू जनमत संग्रहको पक्षमा हुँदैनन् नै । कम्युनिस्टहरूको धेरै तप्का छन् र राजासँग मिलेर आफ्नो सङ्गठन विस्तार गरिरहेका छन्, उनीहरूमध्ये कतिलाई पनि यो जनमत संग्रहले फाइदा दिँदैन, त्यसैले प्रजातन्त्रलाई जनताको जनादेशमार्फत् फेरि प्राप्त गर्ने अवसरलाई निःशर्त स्वीकार गर्नुपर्छ भन्ने बिपीको तर्कका नेपाली काँग्रेसभित्र पनि विरोध देखिन्थ्यो, पञ्चहरू सिधै राजाको विरोध गर्न नसक्ने भएकाले उनीहरू पनि जसरी हुन्छ या त जनमत संग्रह नहोस् या भए पनि जसरी हुन्छ पञ्चायतले जितोस् भन्नेमा लागेका थिए । राजाले जनमतसंग्रहको घोषणा गर्ने बेलाको कीर्तिनिधि विष्टको सरकार केही समयपछि नै परिवर्तन भयो र सूर्यबहादुर थापाको प्रधामन्त्रित्वमा सरकार बन्यो । बिपीले यदि सर्त राख्न थाल्नु भएको भए सम्भवतः नेपालमा फेरि कहिल्यै जनमतसंग्रह हुँदैनथ्यो जसरी कि राजाको घोषणा भएको संविधानसभाको निर्वाचन भएको थिएन । 

बिपीलाई यो कुरा आफ्ना दलका नेता तथा कार्यकर्तालार्ई बुझाउन समय लाग्यो र बिपीको पहिलो आम सभा २०३६ साल जेठ २५ गते टुँडिखेलमा भएको थियो । जेठ १९ गते नेपाल कम्युनिस्ट पार्टीका पूर्व महासचिव तथा तत्कालीन नेकपा मार्क्सवादीका नेता मनमोहन अधिकारीले च्यासलमा बहुदलका पक्षमा आमसभा गर्नु भएको थियो । साँच्चै मनमोहनजीको भाषण हाम्रो पुस्ताले पहिलो पटक सुनेको थियो र बारम्बार उहाँले आफू र आफ्नो पार्टी वहुलवादमा विश्वास गर्ने, बहुदलीय व्यवस्थामा विश्वास गर्ने भनेर भन्नुभयो । साँच्चै भन्ने हो भने मैले त्यो बेलासम्म वहुलवादका बारेमा केही बुझेको थिइन, सुनेको पनि थिइन । म एउटा शिक्षक, पत्रकार अनि शिक्षक नेता भएको प्रजातन्त्रवादीले समेत थाहा नपाएको वहुलवादका बारेमा छलफल सुरु भयो र त्यो पनि बिपीबाटै जानकारी पाइन्थ्यो शनिवारका दिन ।

 राजाका वरिपरिका मानिसहरूलाई त्यो जनमत संग्रह मन परेको थिएन । त्यो घोषणालाई निष्क्रिय बनाउने र कुनै पनि हालतमा जनमत संग्रह हुन नदिनेमा पञ्चहरू लाग्नु त स्वाभाविकै थियो, भर्खरै सङ्गठित हुन लागेको युवाहरूको कम्युनिस्ट आन्दोलनको नेकपा मालेले पनि जनमतसंग्रह धोका हो भनेर नारा लगायो । मण्डलेले मात्र होइन, नेपाली काँग्रेसका आम सभामा कम्युनिस्टहरुलेसमेत अवरोध गरेको प्रमाणचाहिँ गणेशमानजीको हेटौँडामा भएको आमसभामा उहाँलाई भौतिकरुपमा नै नांगेझार पारेर पिटिएको थियो जसमा तत्कालीन मालेका नेताहरू संलग्न थिए । धेरैपछि जब काँग्रेस र वाम मोर्चामा सम्झौता भयो संयुक्त जनआन्दोलनको, त्यसपछि उनीहरूले माफी मागे । जनमत संग्रहमा बहुदलका लागि निलो रङ्ग र पञ्चायतलाई पहेँलो रङ्गको चिन्ह थियो । एकातिर बहिस्कारको नारा दिने तत्कालीन मालेले पञ्चायतका पक्षमा मत दिएको थियो । सबै कम्युनिस्टहरुले पञ्चायतका पक्षमा मत दिएका थिएनन् तर आफ्नो सङ्गठन विस्तारका लागि सहज वातावरण बनाउने पञ्चायतका पक्षमा केही कम्युनिस्ट दलहरू लागेको स्पष्ट बुझिन्थ्यो । 

 त्यही बेलादेखि नै पञ्चहरूले फेरि राजालाई यसरी कसे र २०३६ सालको असोजको पहिलो हप्तासम्ममा त्यसको चरम रूप थियो । जनमत संग्रहमा पाएको अधिकार अनुसार बहुदलीय व्यवस्थाका पक्षमा प्रचारमा हिँड्नु भएका बिपीलाई स्याङ्जामा ताकेरै गोली हानियो र बिपीलाई गोली ताकेर हानेका देखेपछि उहाँलाई छेल्न जाने लमजुङका तारानाथ कोइरालाको खुट्टामा लागेर पछि काट्नु पर्‍यो । 

बिपीलाई प्रचारमा जान नदिन हवाई मैदानमा गुन्डाहरू पसेर एयरपोर्ट कब्जा गर्नु, बिपी जाने बाटोमा रुख लडाएर अवरोध गर्नु, कार्यकर्ताहरूलाई सदर मुकामहरूमा खान बस्न नदिनु र दुःख दिनु आदि कति हो कति गरियो । बिपीको दोष मात्र के थियो भने उहाँ बहुदलीय व्यवस्थमार्फत् प्रजातन्त्रको प्रयोग चाहनु हुन्थ्यो ।  जनताको खोसिएको अधिकार बहाली गराउन चाहनुहुन्थ्यो र राजालाई निर्वाचन हुन नदिने तत्त्वका विरुद्धमा आँटिलो गराएर जसरी भए पनि त्यो जनमतसंग्रह गराएर बहुदलीय व्यवस्थाको पुनर्स्थापन गराउन चाहनु हुन्थ्यो । उहाँका लागि योभन्दा सुनौलो अवसर अर्को थिएन र त बिपीले त्यो संक्रमणकालमा धेरै आर्थिक बोझ हुने माग राखेर भावी सरकारलाई बाटो अप्ठेरो नपार्न सजग गरिरहनु भएको थियो । हामी शिक्षकहरूलाई पनि उहाँको स्पष्ट आह्वान थियो–प्रजातन्त्रमा सबैको सुनुवाइ हुन्छ र सबैको अधिकार सुरक्षित हुन्छ । त्यसैले यो अवसरमा जनमतसंग्रहलाई सफल गराउन सबै लागौँ र प्रजातन्त्र बहाली गरौँ, राजालाई संवैधानिक गराऔँ । 

हामी सामान्यतः प्रत्येक शनिवार बिपीको जान्थ्यौँ होमनाथ दाइसँग, विपिन कोइरालासँग जहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल दाइ, चिरञ्जीवी वाग्ले, शिवबहादुर खड्का, मच्छिन्द्र पाठक, शैलजा दिदीसहित प्राध्यापक, शिक्षक, वकिल, विद्यार्थी, साहित्यकार र अन्य बुद्धिजीवीहरूको बाक्लो जमघट हुन्थ्यो । बिपी आफ्ना विश्लेषण पनि खरो तरिकाले सुनाउनु हुन्थ्यो र अरूको खरो टिप्पणी पनि सुनेर जबाफ दिनु हुन्थ्यो । बिपीको एउटै चाहना थियो- नेपालको विकासको क्रम प्रजातन्त्रको जगमा मात्र सम्भव छ र नेपालमा एउटा नमुनाको प्रजातन्त्रलाई विकसित गर्न सकिन्छ ।'मोडेल डेमोक्रेसी] । वास्तवमा व्यक्तिगतरुपमा कसैलाई  पनि उहाँ गाली गलौच गर्नु हुन्थेन, आफूलाई विनाकारण सरकारबाट हटाउने राजा महेन्द्रलाई पनि । तर सिद्धान्तका कुरामा उहाँ अडित हुनुहुन्थ्यो । त्यसैले उहाँको राष्ट्रिय मेलमिलापको एउटा धारणा थियो–मेरो प्रजातन्त्रको नाराबाट पञ्च र कम्युनिस्ट न तर्स, काँग्रेसहरू पञ्च र कम्युनिस्टसँग न झस्क किनभने प्रजातन्त्र सबैका लागि हो । राजाका लागि पनि हो किनभने मेरो प्रजातन्त्रको सिद्धान्तमा राजा संवैधानिकरुपमा रहनेछन् र अरु बहुदलीय प्रतिस्पर्धामा जनताको जनदेश लिएर कानुन बनाउने ठाउँमा जानेछन् । बिपीको एउटै गुनासो देखिन्थ्यो–मलाई राम्रोसँग नबुझी या त उग्र विरोध गरिन्छ या त उग्र समर्थन गरिन्छ । ‘लेफ्टह्यान्डेड क्रिटिक’ । 

जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षधरले पाँच प्रतिशत मतले हार्नु बिपीका लागि अप्रत्याशित र अपत्यारिलो थियो र पनि उहाँले भाग लिइसकेको र सहभागिता राखिएको निर्वाचनमा हार्दा त्यसलाई स्वीकार गर्नु प्रजातन्त्रको गुण भएकोले हारको स्वीकारोक्ति गर्नुभयो । सबैले सर्त नराखेकोले हारेको भनेर उहाँलाई गाली गरे । तर उहाँले राजालाई बहुदलले प्राप्त गरेको मतलाई सम्मान गर्दै राजनीतिलाई उदारतातर्फ लैजान बारम्बार आह्वान गर्नुभयो । तर राजतन्त्रले समयको पदचापलाई नबुझी पञ्चायतप्रतिको अन्ध समर्थन सम्झियो जबकि बिपीले भनेजस्तै अडिटवादीहरूको राम्रै घुसपैठ थियो र त आज राजतन्त्र यो देशमा छैन र बिच दिउँसै नारायणहिटीबाट निस्केर नागार्जुन जानुपरेको हो । 

त्यो भन्दा पनि २०१५ सालको नेपाल अधिराज्यको संविधान बनाउँदाको कथा बिपीले भन्नुहुन्थ्यो । बेलायती संविधानविद् आइभर जेनिङ्सलाई राजाले संविधान बनाउने बेलामा सल्लाहकारको रुपमा बोलाएका रहेछन् । त्यहाँ संवैधानिक राजालाई धारा ५५ मा असीमित अधिकार दिएर सङ्कटकालको अधिकार दिएको देखेर बिपीले सोध्नु भएछ आइभर जेनिङ्सलाई, अनि उनले भनेछन्, हेर्नुस् बिपी यो अधिकार भनेको मन्त्रिपरिषद्को सल्लाहमा प्रयोग गरिने हो । यदि राजाले स्वेच्छाले यो प्रयोग गरे भने सर्पले मुसो ठानेर छुचुन्द्रो समाए जस्तो हुनेछ । सर्पले छुचुन्द्रो समायो भने यदि छुचुन्द्रो बाँचेर बाहिर आयो भने त्यसले छोड्ने ग्याँसले सर्प दृष्टिविहीन हुन्छ, केही गरी खायो भने उसको शरीर पटपट फुटेर पाक्छ । जे गरे पनि सर्पलाई राम्रो हुँदैन । यो सङ्कटकालीन अधिकार त्यस्तै विकट अधिकार हो । मन्त्रिपरिषद्को सल्लाहले लगाएमा त्यसको जबाफदेही सरकार नै हुन्छ तर राजाले स्वेच्छाले प्रयोग गरे भने पचाउन सक्दैनन् । सायद पचेन पनि तर धेरै वर्षपछि त्यसको परिणाम निस्कियो ।  
क्रमशः