मन्त्रीले भने ‘लोभी’ : ‘म जिउँदो हुन सकेँ, त्यसैले म दोषी हुँ’

मन्त्रीले भने ‘लोभी’ :  ‘म जिउँदो हुन सकेँ, त्यसैले म दोषी हुँ’

लोकसंवाद संवाददाता  |  विदेश  |  साउन ३२, २०७७

काठमाडौं । सी थू फ्यो अवशेषमा बचेको रत्न खोजिरहेका थिए, त्यसैबेला धर्ती हल्लिएको महसुस भयो । २१ वर्षका सी थु उत्तरी म्यानमारको कचिन प्रान्तमा रहेको सबैभन्दा ठूलो जेड पत्थर अर्थात हरियो रंगको महंगो मूल्य पर्ने धातुको एक खानीमा काम गर्दथे । 

उनी त्यो दिन खानीमा जेड पत्थर खोजिरहेका सयौं मानिसमध्ये एक जना हुन् । भूस्खलनका कारण जब दुर्घटना भयो तब उनले भाग्ने कोशिस गरे । तर जब उनी भाग्दै थिए, त्यो भन्दा पहिले नै उनी पानी, हिलो माटो र ढुंगाको थुप्रोमा भासिन पुगे । 

त्यो दिनको स्मरण गर्दै उनी भन्छन्, ‘मेरो मुखमा हिलो आएर भरिएको थियो । मलाई ढुंगाले लागिरहेको थियो र थुप्रोमुनि भासिदै गएको थिएँ । मलाइ लाग्यो अब मर्दैछु ।’

तर सी थु अनेक कोशिसपछि त्यहाँबाट निस्कन सफल भए । पछि उनलाई अस्पताल पुगेपछि आफ्नो नजिकका ७ जना साथीहरुको मृत्यु भएको थाहा भयो । उनीहरु ति २०० मानिसमध्ये पर्दथे, जसले देशको सबैभन्दा भयानक भूस्खलनमा ज्यान गुमाएका थिए । 

सी थु आफ्ना साथीहरुको स्मरण गर्दै मधुरो स्वरमा भन्छन्, ‘हामी दाजुभाईजस्तै थियौं । कयौं पटक एउटै ओच्छ्यानमा सुतेका थियौं ।’ उनी आफ्नो सानो घरमा ९ जना सदस्यहरुसँगै बस्छन् । उनको घरबाट त्यो पहाड देखिन्छ, जहाँ उनी धातु खोजिरहेका थिए । 

सी थु भन्छन्, ‘एक्लै जिउँदो बचेका कारण म आफूलाई अपराधी जस्तो महसुस गर्छु । यो दुर्घटना कुनै नराम्रो सपना हुन्थ्यो, म ब्युझिन्थे र भूस्खलन नहुँदो हो त मेरा साथीहरु फर्किएर आउने थिए ।’

ठूलो दुर्घटनाको एक महिनापछि मानिसहरु पुनः जेड पत्थरको खानीमा फर्किन थालेका छन् । काममा फर्किनेमा बच्चाहरु समेत छन्, जो आफ्ना बाबुआमासँगै कडा मेहनत गर्छन् । कोमल चट्टानमा महंगो पत्थर खोज्छन् । उनीहरुलाई थाहा छ कि उनीहरुको चारैतिर भएका चट्टानहरु जुनसुकै बेला पनि उनीहरुमाथि खस्न सक्छन् । 

हरियो रङको यो महंगो पत्थरको चीनमा ठूलो माग रहेको छ र हरेक वर्ष अरबौं डलरको व्यापार हुन्छ । म्यानमारको यो खानीबाट मात्रै रहेक वर्ष संसारको ७० प्रतिशत जेड धातु निकाल्ने गरिन्छ । 

गत महिना पनि सो स्थानमा ठूलो पहिरो गएको थियो र मानिसहरुले मोबाइलबाट बनाएको भिडियो चर्चामा आएको थियो । सी थु भन्छन्, ‘सामाजिक सञ्जालले मानिसलाई यसबारे जागरुक बनाएको छ । यहाँ इन्टरनेट र फोन कनेक्सन थिएन, प्रशासन र कम्पनीले आँखा बन्द गर्दथे ।’ 

मन्त्रीले भने ‘लोभी’

दबाबबीच म्यानमार सरकारले एक छानविन समिति बनायो । यसका अध्यक्ष प्राकृतिक संशाधन र पर्यावरण मन्त्री ओहेन बिन थिए । समितिलाई अनुसन्धान गरेर दुर्घटनाको छानविन गरेर घटनाको जिम्मेवारी तय गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न जिम्मा दिइएको थियो ।   

सो समितिले राष्ट्रपतिलाई रिपोर्ट बुझाएको छ । रिपोर्टमा उल्लेख गरिएको विषय अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर मन्त्री ओहेन विनले जेड धातु खोज्ने मानिसहरुप्रति आक्रोश व्यक्त गर्दै खानी दुर्घटनामा मृत्यु हुनेलाई ‘लोभी’ भएको टिप्पणी गरेका छन् । 

उनले वर्षाको समयमा खानी आधिकारिक रुपमा बन्द थियो र सरकारले भारी वर्षको चेतावनी पनि जारी गरेको थियो । उनले भने, ‘उनीहरु लोभी नै थिए ।’

गरिबी र बाध्यताले खानीमा धकेल्यो

यांग नाइंग म्यो पनि त्यो दिन खानीमा थिए । उनले एउटा खाली प्लास्टिकको ड्रम समातेर आफ्नो ज्यान बचाए । उनी सम्झिन्छन्, ‘केही तैरिरहेको लाशलाई समातिरहेका थिए । मलाई पर्यावरण मन्त्रीको भनाइले चित्त दुखेको छ ।’
 
यांग नाइंग म्यो भन्छन्, ‘सरकारले उनलाई अनुसन्धानका लागि पठायो तर उनी हामी पत्थर खोज्नेमाथि नै आरोप लगाइरहेका छन् । यसबाट मलाई हामीलाई धेरै दुःख लागेको छ ।’ 

२३ वर्षका यांग नाइंगको टाउकोमा २३ टाँका लगाइएको छ भने उनको शरीरमा गहिरा घाउहरु छन् । उनी बर्मेली साहित्यमा स्नातक डिग्री गरेका व्यक्ति हुन् ।

उनले सुरुमा आफ्नो बिदाको समयमा पकेट खर्चका लागि खानीमा पत्थर खोज्न सुरु गरेका थिए । स्नातकपछि धेरै निराश भएर उनी पुनः खानीमा फर्किएर आए । उनी भन्छन्, ‘सायद मेरा लागि यही एउटा काम रहेछ ।’

सी थु यहाँसम्म पुग्न पनि पाएनन् । सन् २००८ मा तुफान ‘नरगिस’ ले उनको परिवारको धान खेती नष्ट गरिदियो र उनको जीवन चलाउने सबै अस्त्र एकैपटक नष्ट गरिदियो । त्यसबेला उनले १० वर्षको उमेरमा स्कुल छाड्नुपरेको थियो । 

उनको परिवारका १० सदस्य खानी नजिकै बस्छन् । सी थु सधैंजसो बिहान ५ बजे उठ्छन् र पुरै दिनभरी महंगो पत्थर खोज्ने काम गरिरहन्छन् । 

‘पीडितलाई दोष दिनु हल होइन’

जेड धातु खोज्नेहरु बेरोजगारी र गरिबीको मार झेलिरहेका छन् । सामाजिक कार्यकर्ताहरु खानीको नजिकका इलाकामा म्यानमार सरकारको सीमित नियन्त्रण रहेका कारण उनीहरु त्यहाँ सक्रिय हुन्छन् । 

प्राकृतिक संशाधनको दोहनमाथि नजर राख्ने एक अन्तर्राष्ट्रिय संस्था ग्लोबल विटनेशका पल डोनोविट्ज पीडितमाथि नै आरोप लगाएर समस्याको हल नहुने बताउँछन् । 

डोनोविट्जका अनुसार ठूलो मात्रामा उद्योगलाई म्यानमारको सेनासँग जोडिएको कम्पनीले नियन्त्रित गर्छन् र अत्यन्तै गोप्य रुपमा काम गर्छन् । सो क्षेत्रमा स्वशासनको माग गरिरहेका सशस्त्र विद्रोही समूह पनि यस्ता क्षेत्रबाट आम्दानी गर्छन् भने लागू औषधबाट समेत कमाउने गर्छन् । 

चीनको बढ्दो चाहाना

नेचुरल रिसोर्सेस गभर्नेन्स इन्स्टिच्युटको सन् २०१९ को एक विश्लेषण अनुसार म्यानमारमा खानीबाट हरेक वर्ष निस्कने जेड पत्थरको मूल्य करिब १५ अरब डलर हुन्छ । यसमध्ये बढीजसो जेड पत्थरको उत्खनन गैरकानुनी तरिकाले हुन्छ । 

आधिकारिक सरकारी तथ्यांकमा यसको मूल्य लाखौं डलर हुने बताइन्छ । डोनोविट्जका अनुसार सो प्रदेशले ८० देखि ९० प्रतिशत कमाउनुपर्ने रेभेन्यु गुमाइरहेको छ । 

कचिन प्रान्तमा निकाल्ने बढीजसो जेड पत्थर सीमापार चीनमा बिक्री हुनेगर्छ । चीनमा बढ्दो अर्थतन्त्रसँगै यो पत्थरको मूल्य पनि बढ्दै गएको छ र विस्तारै विस्तारै यसको मूल्य सुनकोभन्दा महंगो हुनसक्ने समेत अनुमान गरिन्छ । 

जब सी थुले ठूलो जेड पत्थर भेट्टाउँछन् तब उत्खनन कम्पनी या सशस्त्र समूह या दुवैले आफ्नो भाग लिन्छन् । कतिपय अवस्थामा उनीहरुले भेटेका पत्थर समेत अरुले कब्जा गरिदिन्छन् । 

भूस्खलन भएको स्थानतिर देखाउँदै उनी भन्छन्, ‘मेरा एक साथीले यो खानीमा धेरै मूल्यपर्ने पत्थर भेटेका थिए । तर उनले त्यसलाई पानीमा फ्याँकिदिए, किनकि उनी हामीमाथि गरिने व्यवहारले दिक्क भइसकेका थिए ।’

पहिलो गइरहने सो स्थानमा काम गर्ने चार कम्पनीमध्ये एक हो–ट्रिपल वान माइनिङ कम्पनी । 

यु मिन थु खानी मन्त्रालयका एक वरिष्ठ अधिकारी र जाँच टिमका सचिव पनि हुन् । उनले यो कम्पनी एक संयुक्त चिनियाँ–म्यानमार भेन्चर भएको र यसको सम्बन्ध एक जातीय सशस्त्र समूहसँग पनि भएको पुष्टि गरे । 

‘जुन सशस्त्र समूहले सरकारसँग शान्ति सम्झौता गरेको छ, उसलाई देशमा लगानी गर्ने अधिकार छ,’ उनले भने, ‘२०१९ को एक कानुनले विदेशीलाई जेड खानीमा लगानी गर्नका लागि रोक्छ । तर चिनियाँ उत्खनन कम्पनी संयुक्त भेन्चर बन्न सक्छ । दुवैबीच मुनाफा बाँडफाँड हुन्छ । सरकारलाई २५ प्रतिशत र कम्पनीले ७५ प्रतिशत पाउँछन् ।’

अधिक पारदर्शिता अपनाउने भन्दै सरकारले गत वर्षको अन्त्यमा उत्खनन कम्पनीको स्वामित्व र सम्भावित हितको टकरावलाई लिएर जानकारी प्रकाशित गरेको थियो । यद्यपि यहाँको खानीमा काम गर्ने कम्पनीका मालिकको त्यहाँको सेनाका वर्तमान र पूर्व वरिष्ठ अधिकारी या जातीय सशस्त्र समूहसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । 

बेपत्ता छोराको खोजी

भीडमा डा मु मु पनि छिन् । उनी मान्डलेबाट २० घन्टाको यात्रा गरेर आफ्ना ३७ वर्षका बेपत्ता छोराको खोजीका लागि आएकी हुन् । उनी भन्छिन्, ‘जब म हरेक पटक कुनै शव भेटियो भन्ने सुन्छु, तब म दौडिएर खानीभित्र जान्छु ।’ 

हरेक पटक चढ्दा र ओर्लिदा उनको घुँटा नै दुखिसकेका छन् । आफ्ना छोराको शव मात्रै भेटियो भने पनि उनले २५ हजार डलर क्षतिपूर्ति पाउनेछिन् । जुन सरकार र सहायता एजेन्सीले दुर्घटनामा मारिएका पीडित परिवारलाई दिइरहेका छन् । 

उनी भन्छिन्, ‘मलाई थाहा छ कि मेरो छोरा अब जिवित छैन । उसको शव भेट्ने आशा पनि धमिलो हुँदैछ । म अहिले उसको कोठामा बसिरहेकी छु, जुन शोकमा डुबेको छ । राम्रो खबरको पर्खाइमा छु, मेरो छोराले जिउँदो हुँदा लगाउने लुगालाई हेरेर आफूलाई सान्त्वना दिइरहेकी छु ।’

ठूलो दुर्घटनाको एक महिनापछि मानिसहरु पुनः जेड पत्थरको खानीमा फर्किन थालेका छन् । काममा फर्किनेमा बच्चाहरु समेत छन्, जो आफ्ना बाबुआमासँगै कडा मेहनत गर्छन् । कोमल चट्टानमा महंगो पत्थर खोज्छन् । उनीहरुलाई थाहा छ कि उनीहरुको चारैतिर भएका चट्टानहरु जुनसुकै बेला पनि उनीहरुमाथि खस्न सक्छन् । 

पहिरोको १० दिनपछि एक झरी परेको दिनमा सि थु पुनः खानीतिर निस्कन्छन् । उनी खानीमा पत्थर खोज्नका लागि आफ्नो आलो घाउ निको हुने दिनको पर्खाइमा छन् । 

उनी पुनः यही काममा फर्किन बाध्य छन्, जहाँ उनले आफ्ना साथीहरुलाई गुमाएका थिए । खानीको डिलमा बसेर टाढाटाढा आँखा डुलाउँदै उनी भन्छन्, ‘अर्को पटक म कुनै नराम्रो घटना घट्नुअघि नै भाग्नेछु ।’