लोकसंवाद संवाददाता | समाचार | भदौ ०१, २०७७
तनहुँ । तनहुँमा कोभिड–१९ को शङ्कास्पद बिरामीका लागि दु्रत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको निर्णय दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय गरेपछि कार्यान्वयनमा ल्याउन नसकेको हो । स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता अन्त्य गर्न यहाँका दशवटै पालिकाको बैठकले खरिद गर्ने निर्णय गरेको थियो । मेशिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले ब्योहोर्ने गरी निर्णय भएको थियो ।
सोहीबमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाले रु १२/१२ लाख, गाउँपालिका म्याग्दे, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङले रु नौ/नौ लाख र देवघाट गाउँपालिकाले रु पाँच लाख बजेट सहयोग गर्ने निर्णय गरेका थिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेपछि मेशिन खरिद प्रक्रियामा नगएको बताउनुभयो । हाल जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले मेशिनको अभाव महसुस गर्न थालिएको छ ।