लोकसंवाद संवाददाता | समाचार | भदौ ०१, २०७७
तनहुँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ भाइरसका कारण पालिकाका समुदायस्तरमा कोरोना प्रभावित हुँदै जान थालेपछि तनहुँका पाँच पालिका सिल गरिएको छ । जिल्लामा रहेका दश पालिकामध्ये तीन गाउँपालिका र दुई नगरपालिका गरी पाँच पालिकामा समुदायस्तरका ३२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको हो ।
सबैभन्दा धेरै भानु नगरपालिकामा २४ कोरोना सङ्क्रमित रहेका छन् । नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवधि सकिन लागे पनि कोरोनाको प्रभाव रहिरहेकाले समय थप गर्ने तयारी भइरहेको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।
व्यास नगरपालिका–१ रत्यौलीमा एकै परिवारमा पाँच जनामा कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालयले एक हप्ताका लागि अत्यावश्यकबाहेकका अन्य सबै सेवा सुविधा बन्द गर्ने निर्णय गरेको छ । देवघाटमा दुई र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित भेटिएका छन् । देवघाट गाउँपालिकाले साउन २९ गतेदेखि भदौ ३ गतेसम्म लकडाउन घोषणा गरेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।
त्यसैगरी बन्दीपुर गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएपछि साउन ३० गतेदेखि भदौ २ गतेसम्मको लागि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना देखिन थालेपछि सुरक्षाकोदृष्टिले लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
त्यसैगरी आँबुखैरेनी गाउँपालिकाको छिमेकी नगरपालिका तथा गाउँपालिकाको समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि उच्च जोखिममा रहेको भन्दै एक हप्ताका लागि बन्द गरेको छ । भदौ १ आजदेखि लागू हुने गरी एक हप्ताका लागि बजार तथा कार्यालयका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाइएको अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रमा हुने आवतजावतबाट आमनागरिक, उद्योगी, व्यवसायी, व्यापारी, कार्यालय, वित्तीय संस्थामा कार्यरत कर्मचारी उच्च जोखिममा पर्ने देखिएकाले बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।