बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा

बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ०२, २०७७

बैतडी । बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोल कार्यालय पहिलो बनेको छ । मालपोत कार्यालयले अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा सोमबारदेखि जानकारी दिन थालेको छ । कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाऊन् भनेर अडियो सूचना बोर्ड सञ्चालनमा ल्याएको हो ।

कार्यालयले दिने सेवाका बारेमा अडियो सूचना बोर्डले डोटेली र नेपाली भाषामा जानकारी दिने गरेको कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले जानकारी दिनुभयो । कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिनुभयो । मालपोत कार्यालयले नामसारी, अंशवण्डा, रजिष्ट्रेशन, रोक्का, फुकुवालगायतका सेवा दिने गरेको छ । 

यस्तै कार्यालयले दानपत्र, हालको बकसपत्र, शेषपछिको बकसपत्र, दाखिला, खारेज, संशोधनलगायतका सेवा दिने गरेको छ । यी सबै सेवाका बारेमा अडियो नागरिक बडापत्रमार्फत जानकारी दिन थालिएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । अडियो नागरिक बडापत्रको सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला मालपोत कार्यालयका प्रमुख भट्टले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।