चन्द समूहका उच्च नेताहरू निगरानीमा

चन्द समूहका उच्च नेताहरू निगरानीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १०, २०७५

काठमाडौं  । काठमाडौं र काभ्रे - प्रहरीले नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले वलीसहित नेतालाई काभ्रेको खानीखोला गाउँपालिका– ३ बाट पक्राउ गरेको हो ।

शुक्रबार राति समातिएका उनीहरूलाई शनिबार काठमाडौं ल्याइएको छ । केन्द्रीय नेताहरूको मोबाइलमाथि निरन्तर निगरानी राखिरहेको प्रहरीले चैत १ गते पोलिटब्युरो सदस्य मोहन कार्कीलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको थियो ।

उच्च स्रोतका अनुसार फागुन १० मा नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटको जिम्मा लिएलगत्तै प्रहरीले मध्य कमान्ड इन्चार्ज वलीको खोजी तीव्र पारेको थियो । शुक्रबार उनी काठमाडौं आउँदै गरेको सूचना पाएपछि सक्रियता बढाएको प्रहरीले वली, विजय श्रेष्ठ, शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित लामा, सञ्जिव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई समातेको हो । पक्राउ परेकामध्ये अधिकारी ललितपुर जिल्ला केन्द्रित भएर चन्द समूहको गतिविधि विस्तार गरिरहेका थिए ।

महाशाखाको टोलीले चैत ५ गते राति नै काभ्रेको काफलडाँडाबाट पक्राउ गर्न खोजे पनि सेल्टर लिइरहेको घरमा झोला, चस्मा र सुगरको औषधि छाडेर वली भाग्न सफल भएका थिए । काठमाडौंबाटै पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा काफलडाँडा पुगेको महाशाखाको टोलीले त्यहाँबाट झापाका शिव धिताल र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।