४१ अर्बभन्दा बढी राजस्व सङ्कलन

४१ अर्बभन्दा बढी राजस्व सङ्कलन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ०२, २०७७

विराटनगर । मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल  ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । 

यो राजस्व आव २०७५/७६ को भन्दा  छ अर्ब २० करोड ५८ लाखले कम हो भने आर्थिक वर्ष २०७४/७५ को भन्दा  ६३ करोड ३६ लाखले बढी हो । आव २०७५/७६ मा कूल  ४७ अर्व २४ करो ३४ लाख र आव २०७४/७५ मा   ४० अर्ब ४० करोड ४० लाख राजस्व सङ्कलन भएको थियो ।

गएको आवमा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो । उहाँले गएको वर्षमा पूँजीगत बजेट  तीन अर्ब ९४ करोड ५६ लाखमा  तीन अर्ब १३ करोड ८७ लाख अर्थात् ७९ दशमलव पाँच प्रतिशत खर्च भएको जानकारी दिनुभयो । सोही वर्ष चालूतर्फ ३१ अर्ब ८० करोड १५ लाख  बजेटमध्ये  ३१ अर्ब १३ करोड २२ लाख खर्च भएको बताइएको छ ।

आवमा २०७५/७६ मा कूल ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा  २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको थियो । पूँजीगततर्फ  चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा  तीन अर्ब ५७ करोड ७८ लाख निकासा भएर ७५ प्रतिशत प्रगति हासिल गरेको थियो भने सोही अवधिमा चालू र पूँजीगत गरी कूल रु ३५ अर्ब ६० करोड पाँच लाखमा  ३३ अर्ब एक करोड ९९ लाख निकासा भई ९३ प्रतिशत प्रगति हासिल भएको थियो ।