लोकसंवाद संवाददाता | समाचार | चैत १०, २०७५
काठमाडौँ । सामान्यतया वैशाख दोस्रो सातादेखि डढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रूप लिएको छ । बस्तीछेउ, निकुञ्ज/आरक्षका जंगलमा धेरै डढेलो देखिएको छ । मुलुकमा चैतदेखि जेठसम्म बढी डढेलो लाग्छ ।
दक्षिण एसियाली डढेलो नियन्त्रण समाजका अध्यक्ष सुन्दरप्रसाद शर्माले शुक्रबार बेलुकी ५ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म देशभरि १ हजार ८ सय ७० ठाउँमा डढेलो लागेको जानकारी दिए । धेरै डढेलो चुरे क्षेत्रमा देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको ‘मोडिस’ भू–उपग्रहले ५४ जिल्लाका डढेलो तस्बिरमा कैद गरेको हो ।
‘मोडिस’का अनुसार सबभन्दा बढी डढेलो उदयपुर, पर्सा, सिन्धुली, धनुषा, बारा, रौतहट, चितवन, नवलपरासी, चितवन र सर्लाहीमा देखिएको हो । प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने कम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर तापक्रम बढिरहेको छ । शनिबार अधिकतम तापक्रम ३३.३ डिग्री (डडेलधुरा) सम्म रेकर्ड भएको छ । डढेलो धेरै लागेका प्रदेश १ र २ का जिल्लामा पनि अधिकतम तापक्रम ३१.७ (मोरङ) सम्म छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।