रूपक अलङ्कार | साहित्य | भदौ ०३, २०७७
२०७० संवत्को कुरो हो । जाडो महिनाको कुनै शनिबार थियो । बिहान सात मात्र बजेको थियो होला । हुस्सु लाग्नुपर्ने काठमाडौँमा लागेको भने थिएन । तर जाडो भने मस्तै थियो । काठमाडौँ निद्राबाट ब्युँझेर दैनिकीमा लागिसकेको थियो । घामका झुल्काहरू देखिन थालेका थिए । लैनचौर डाँडामा तिनजना कविताका छात्रहरू उभिए । हेम प्रभास, केशव भट्टराई र म । यद्यपि, यो ठाउँमा पहिले पनि आइएको थियो । यहाँ आउनु हामीजस्ताका लागि गौरवको विषय थियो । गौरवान्वित हुनका लागि भए पनि निहुँपिहुँ पारेर गइन्थ्यो । तर त्यस दिन भने हामी बिना निहुँ पुगेका थियौँ ।
त्यस ब्रह्ममुहूर्तमा ब्रह्ममय कवि माधव घिमिरेसित फोटो खिच्ने एकसूत्रीय उद्देश्य थियो हामीसित । कुनै काम आफ्नै खुसीले गर्दा नि मजा हुन्छ । (हुन त उनलाई राष्ट्रकवि, छन्दकवी, शास्त्रीयकवि, साहित्यका एक युग, शताब्दी कवि, नेपाली कविताका कालिदास, राष्ट्रवादी कवि, नेपाली साहित्यका धरोहरलगायतका सहस्र विशेषणले थिच्ने गरिन्छ । शब्दमा रमाउनेहरूका लागि आनन्दको विषय होला । तर आफ्नै छातीमुनि सरसको मूले भेट्ने कविलाई अरूको तिर्तिरे धारो के काम ? त्यसैले एउटा कविलाई कवि भन्नु नै सर्वतस् सम्मान हो भन्ने लाग्छ मलाई । प्रमाण स् आफ्नै छातीमुनि सरसको मूल भेट्तैन जस्ले तिर्खा कैल्यै पनि हृदयको हेर मेट्दैन त्यस्ले । )
कवितामा मात्र नभएर प्रवचनमा पनि पूर्वीय दर्शनको उत्तिकै प्रभाव परेको पायौँ । सूक्तिमयता उनका कविता शक्ति हो । कुनै मन्त्रभन्दा उनका कविता कमजोर छैनन् । वैदिक ऋचा र उपनीषदीय संहिता उनका कवितामा अवतरित भएका छ्न् तर मौलिक स्वादमा । हामी केही कविता लेख्दै गरेका बालकविका कवितामा कवि घिमिरे अवतरित भएका छ्न् यसलाई पनि स्वाभाविक भन्न सकिन्छ उनकै पंक्ति प्रमाण छन् ।: खोला गर्दछ शैलकै चरणमा कल्लोल कोलाहल ।
'सामन्तीका खँडहरमहाँ क्रान्तिका दूत नाचे ।' भन्ने पंक्ति पढ्दा उनी खुंखार क्रान्तिकारी लाग्न सक्छन् । 'काली तिम्रा बगर बगरै आउँला मुक्तिनाथ ।' भन्ने पंक्ति पढ्दा उनी अत्यन्त धार्मिक लाग्न सक्छन् । जे लागे पनि उनी सबैलाई कवि लाग्छन् र अन्तस्करणको सत्य लेख्न सक्ने मान्छे कवि हुन्छ ।
उत्सुक भएर गेट उघार्दा कवि आँगनको दुवोमा यात्रारत थिए । त्यति गम्भीर शान्तिमा हामीले खलल पुर्यायौँ । कवि झस्किए । (लैनचौरजस्तो सहरको मध्यभागमा केको शान्ति : भन्ने लाग्ला: आफैँमा परिपूर्णलाई दुनियाँ संसार क्यै हैन रे ! यो पंक्ति मननीय छ ।)
उनले हातको संकेतले धेरै प्रश्न तेर्स्याए एकै पटक ।
'हजुरलाई भेट्न आको ।'
'भो भो पर्दैन । भेट्न फुर्सद छैन ।'
भयो त अब ! आँखा मिच्दै आएका भुराहरूलाई कविले सिधै इन्कार गरे । गेटबाट भित्र पस्न नदिइकनै लघार्न खोजे ! हाम्रो उत्साह पानी भयो । के हाम्रो व्यक्तित्व एउटा कविलाई भेट्नेसम्म नि छैन ? कविलाई भेट्न पनि तोकै लिएर जानुपर्ने हो त ? कि कवि आफैँमा परिपूर्ण हुन् ? होलान् । तर हामी त हैनौँ नि ! उहाँलाई भेटेर अलिकति भरिन मन थियो हामीलाई 'गुरु, हामी हजुरसित फोटो खिच्न मात्र आएका हौँ ।' हामीले एक चोटि प्रयत्न गर्यौँ तैपनि !
'ए फोटो खिच्न ? ल आउनुस् त्यसो भए ।' अघिका घोरमुखा कवि अब प्रसन्नवदन भए । हामी नि उज्यालियौँ । कविले कुर्सी देखाए । हामीले कुर्सी ल्यायौँ । दुबोको गलैँचामा कुर्सी ओच्छ्याएर बस्यौँ ।
'मैले त कार्यक्रमका लागि निम्ता गर्न आएकहोला भन्ने ठानेको ! कार्यक्रममा निम्ता गर्छन् । जान्नँ भन्न पनि गाह्रो । शरीरले पनि त्यति साथ दिँदैन । आफ्नो काम गर्न भ्याइन्न (व्यर्थमा जीवन नफाल्ने कविलाई आफ्नो काम गर्न नभ्याउनु दुस्खको कुरा हो । प्रमाण: साँच्चै बाँच्न सकूँ मरेर अरुको अव्यर्थ उद्देश्य मा केही साँच्न सकूँ विराट् मनुजको अक्षय्य यै कोषमा ।)' कविले दु:ख पोखे । कवि हामी देखि तर्सिनुको कारण बल्ल थाहा भयो । बेला न कुबेला फोटो खिच्ने जाँगर बोकेर आउँदा गल्ती पो भयो कि भन्ने लाग्यो । कवि र हामी बिचको असमझदारी सकिएको थियो । हामी आफ्ना मान्छे बन्यौँ । उनले हाम्रो परिचय मागे । परिचय पनि दियौँ ।
पहिले पहिलेको भेट सम्झाएर नजिक हुन पनि खोजेँ । त्यस्तो प्रयास काम लागेन । उनको प्रमुख आतिथ्यमा आमा शीर्षकमा कार्यक्रम गरेका थियौँ हामीले । त्यो दिन ट्याक्सी लिएर सुरेश सुवेदी र म लिन गएका थियौँ । एक कार्यक्रममा मैले संस्कृत कविता सुनाएको थिएँ जहाँ उनै प्रमुख अतिथि थिए । एकदुई पटक अनाममण्डलीको टोली उनको दैलोमा देउसी खेल्न पुगेको थियो । यी सारा घटनाको नालीबेली लगाएँ ।
'कार्यक्रम कति हुन्छन् भेटेका जतिलाई कसरी चिन्न सक्छु र ?' कविले भने । हामी तीन जनाले नै कविलाई दर्जनौँ पटक भेटेका थियौँ । कवितामा उनको प्रशंसा पाएका थियौँ । भर्याङमा उनको हात समाएर हलमा पुर्याएका थियौँ । लिन गएका थियौँ । पुर्याउन गएका थियौँ । हामीलाई कविले चिन्छन् होला भन्ने लाग्नु स्वाभाविक थियो र कविले नचिन्नु झन् स्वाभाविक थियो ।
कविले हाम्रो पढाइ र पेसा पनि सोधे । मैले वाल्मीकि विद्यापीठ र संस्कृतको नाम लिएपछि कवि बल्ल निकट भए । तीनधारा संस्कृत पाकशालामा बसेर दर्शनशास्त्र पढेका कविले त्यसै पाकशालामा बसेर पढ्ने बालक भेट्दा नचिन्ने कुरै भएन । संस्थाको इतिहास र सम्बन्ध वास्तवमा निकै बलियो हुन्छ । त्यसमा पनि म अथर्ववेदको विद्यार्थी भन्ने थाहा पाएपछि कवि झनै खुलेर आए । अथर्ववेदको पृथ्वीसूक्तको काव्यात्मक अनुवाद गरेका कविसित वैदिक सूक्तका विषयमा चर्चा गर्ने हैसियत बन्यो । म यसका लागि उपयुक्त पात्र नहुन पनि सक्थेँ । कविको सरलता र मेरो अध्ययनको विषयका कारण हामी छिटै सहृदयी भयौँ ।
'विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति, सहन्नँ....।' कवितालाई साक्षी राखेर संघीयताको विषयमा जिज्ञासा राखेँ । कविले समाज विकासको शृङ्खला व्याख्या गरेर । मेरो प्रश्न र सत्ता परिवर्तनलाई सामान्य बनाइदिए । मैले तपाईंका कृति पढेको छु भन्ने देखाउन हो कि कविले आफ्नो कुरा सुनेको फाइदा उठाउन यस्तो प्रश्न सेधेँ मैले अचम्म लागिरहेको छ ।
कविता कसरी बन्छ ? कति लेख्दा बल्ल एउटा कविता भेटिन्छ ? भन्ने प्रसंगमा पनि कविले निकै गम्भीर कुरा गरे। (के भने त्यो पनि लेख्न सकेको भए हुन्थ्यो । तर न टिपोट छ न रेकर्डरु कविले मन्त्र सुनाए कानमा । त्यो हामी तिन जनाको कानमै छ ।) भुमिका लेखाउन, शुभकामना लेखाउन, प्रमुख अतिथिका रूपमा निम्त्याउन, अन्तर्वार्ता लिना आउनेसितको रेडिमेट भेटघाट र औपचारिकता थिएन त्यसदिन । कविलाई भेट्न जाने योजना हामीले त त्यसै दिन बनाएका थियौँ भने । उनीसित कुनै योजना हुने कुरा भएन ।
एकछिन फुर्सद नभएका कविसित अब समय नै समय भयो । हामीलाई त फुर्सद मात्र थियो । हामीले महाकाव्यको प्रसंग पनि निकाल्यौँ । आफुले लेख्दै गरेको महाकाव्यको नाम ऋतम्भरा भन्दा बाहेक एक शब्द नि चुहाएनन् । ऋत शब्दलाई लिएर लामो व्याख्या गरे । मैले पनि पृथ्वीसूक्तको पहिलो मन्त्रमा आएको ऋत शब्दलाई लिएर आफूलाई जान्ने पल्टाएँ ।
उनको कवितामा मात्र नभएर प्रवचनमा पनि पूर्वीय दर्शनको उत्तिकै प्रभाव परेको पायौँ । सूक्तिमयता उनका कविता शक्ति हो । कुनै मन्त्रभन्दा उनका कविता कमजोर छैनन् । वैदिक ऋचा र उपनीषदीय संहिता उनका कवितामा अवतरित भएका छ्न् तर मौलिक स्वादमा । हामी केही कविता लेख्दै गरेका बालकविका कवितामा कवि घिमिरे अवतरित भएका छ्न् यसलाई पनि स्वाभाविक भन्न सकिन्छ उनकै पंक्ति प्रमाण छन् ।: खोला गर्दछ शैलकै चरणमा कल्लोल कोलाहल ।