लोकसंवाद संवाददाता | समाज | भदौ ०३, २०७७
कोहलपुर । कोहलपुर नगर क्षेत्रभित्र रहेका फरक क्षमता र अति विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय तथा श्रोत केन्द्र कोहलपुरले राहत उपलब्ध गराएको छ । नोबेल कोइराना भाइरसका कारण पाँच महिनादेखि बन्दाबन्दी अवस्था कायम रहीरहेको अवस्थामा विशेष गरी दुई छाक भोजनको जोहो गर्न समेत मुश्किल भइरहका परिवारको विवरण संकलन गरेर पुस्तकालयले खाद्यान्न सहितको राहत उपलब्ध गराएको हो ।
नेपालभर रहेका सामुदायिक पुस्तकालयहरुको मातृ संस्था रिड नेपालको समन्वयमा ज्ञानोदयले नगर क्षेत्रमा रहेका अति न्यून आय सहित फरक क्षमता (अपाङ्गता) रहेका १२ परिवारलाई अपाङ्ग नवजिवन केन्द्र र स्थानीय जन अगुवाहरुको समन्वयमा राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको हो ।
पुस्तकालयको राहत वितरण कार्य सामाजिक कार्यको उच्चतम नमूनायोग्य कार्य रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले प्रतिक्रिया दिनुभएको छ । सोमबार पुस्तकालय प्राङ्गणबाट राहत वितरण कार्यको शुभारम्भ गर्नुभएको नगर प्रमुख रावतले बन्दाबन्दीको मार सबैले खेपिरहेको अवस्थामा नगर क्षेत्रमा अति विपन्न एवम् न्यून आय र फरक क्षमता भएका परिवारको वास्तविक विवरण संकलन गरेर राहत उपलब्ध गराएकोमा पुस्तकालयलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
नगर प्रमुख रावतले नगर क्षेत्रमा रहेका अति विपन्न तथा न्यून आय भएका परिवारलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भएको छ । नगर प्रमुख रावतले कार्यक्रम शुभारम्भ गरेपछि पुस्तकालयका पदाधिकारीहरु नगर क्षेत्रका विभिन्न वडाहरुमा लक्षित परिवारको घरमै पुगेर राहत सहितको खाद्यान्न उपलब्ध गराएका थिए ।
वडा नं. ११ मा ३ जना फरक क्षमता भएका विपन्न परिवार, वडा नं. २ मा दुवै मृगौला निष्कृय भएर समस्याग्रस्त महिला सहित १ जना अति विपन्न परिवार, वडा नं. १० मा अति विपन्न २, फरक क्षमता भएको १ सहित १ जना विपन्न सुत्केरी महिला लगाएत वडा नं. ८ र ६ मा गरेर १२ घर परिवारलाई प्रति घरपरिवार २५ केजी चामल, अढाई केजी दाल, २ केजी नुन र २ लिटर तेल सम्बन्धित वडाका जनप्रतिनिधी तथा जन अगुवाहरुको उपस्थितीमा पुस्तकालयले राहत उपलब्ध गराएको हो ।
वडा नं. १० मा राहत विवरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष निरज चलाउनेले वास्तविक विपन्न एवम् फरक क्षमता भएका परिवारको पहिचान गरेर लक्षित परिवारको घर आगनमै पुगेर राहत उपलब्ध गराउनु महान कार्य भएको प्रतिक्रिया दिनुभएको छ । सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधीहरु सञ्चालन गर्न उहाँले अनुरोध समेत गर्नुभएको छ ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा नगर क्षेत्रमा कुनै पनि परिवारले विपन्नता भएकै कारण चुलो बल्नबाट बन्चित हुन नपरोस भनेर पनि तीजको पूर्व सन्ध्यामा राहत वितरण कार्यक्रम गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताउनु भएको छ ।