सुहाना लम्साल | साहित्य | भदौ ०६, २०७७
म सानो छँदा आमा
तिमीले घाममा सुताएर
तोरीको तेलले मिचिदिएका
मेरा कलिला हात आज
ठूला जहाज उडाउने भएका छन्
आँखामा चिसो नपसोस् भनेर तिमीले गाजल लगाइदिएका
मेरा नयन आज
संसारको लामो दूरी देख्ने भएका छन्
यति धेरै ममताका साथ मिचिदिएका मेरा हातले
आज तिम्रो आँखामा बग्ने
आँसु पुछ्न सकिनँ
यति धेरै ममताका साथ
गाजल लगाइदिएका मेरा नयनले तिम्रो ममतालाई देखिनँ भनेर
नरिसाउनू है आमा
कारण म त उड्ने चरी हुँ
मैले आकाशमा उड्न
यो धर्ती मात्र हैन
तिम्रो मनभित्र बग्ने
ममताको खोलोलाई पनि छाड्नुपर्छ
बिर्सिएकी त छैनौ होला नि
मलाई सेतो पृष्ठभूमिमा
पहेँलो धर्का भएको सर्ट
र पाइलटको क्याप लगाएको
हेर्ने सपना थियो तिम्रो
अनि धर्ती छोडी
हावाको बेगसँगै उचाइमा पुगेको
ठूलो जहाज हेर्ने मन थियो तिम्रो
आज मलाई
नजरदेखि टाढा नजाऊ नभन हिड्ने बेलामा आँसु झारी कमजोर नबनाऊ मलाई
सयौँ यात्रीको जिम्मेवारीसहित
लाखौँ मिटर टाढा
हजारौं फीटको उचाइमा पुग्नु छ
कारण म त उड्ने चरी हुँ
मलाई आकाशमा
तातो सूर्यको छिर्का
र कालो बादलसँगको
आकस्मिक ठक्कर प्रिय छ
आमा तिमीले
कौसीमा बसेर हेर्ने गरेको ठूलो जहाज
कुनै दिन बादलको घुम्टोसँगै रुमलिएर हरायो भने
मुर्छा नपर्नू है
उड्दा ठूलो देखिने जहाज टुक्रिएर क्षतविक्षत भई
भुइँमा झर्यो भने
आँसु नबगाउनू है
उडिरहेको विमान टुक्रिएर
असिनाजस्तै झर्न थाल्यो भने
तिमी आफ्नो ममताले पग्लिएर मैन भएको मनलाई
ढुङ्गा जस्तै कठोर बनाएर
मेरो भग्नावशेष
शरीर हेर्ने आउनू है
अनि म घरबाट बाहिर निस्किँदा म्वाइँ खाएर बिदा गरेजस्तै गरी
मेरा मरिसकेका गालामा
म्वाइँ खाएर बिदा गर्नू है
म सानो छँदा
सुत्ने बेलामा जबर्जस्ती
आँखा बन्द गर्न लगाएजस्तै गरी मेरा पल्टिसकेका आँखा
शाहसी हातले बन्द गरिदेऊ है
यो संसार र तिमीलाई छोडेर
आकाशमार्गतिर लाग्छु म
बुढेसकालको ममता लत्याइ भनेर
गाली नगर्नू है आमा
कारण म त उड्ने चरी हुँ