गाउँको याद

गाउँको याद

भक्ति घिमिरे 'दुर्बोध'  |  साहित्य  |  भदौ ०६, २०७७

 कतै फुल्छन पारिजात कतै फुल्छन जाइ
बिटा बाध्न जाऔ आज ठूला घरका भाइ
रोपाइँ छ पारी खेत हली बाउसे जुटे
बियाडे र रोपाहारलाइ हिलो छ्याप्दै कुदे ।१।

वरको पाटो मस्याम फल्छ सुर्के पाटो तोरी
फिलुङ्गे नि छर्नै पर्यो कता छर्ने बोडी
लाईले खायो बोडी मकै गाइले खायो धान
बाख्राले खाए मकै बोट झटाराले हान ।२।

ठुटेबारी सार्कीटार तलमाथि हेर्छन
रामेदाइको झारफुक सबै रोग भाग्छन
माझाघर पल्लाघर आम्नेसाम्ने पर्छन् 
ठूल्यामाको अचार मीठो सबै छक्क पर्छन् ।३।

बजार जाने चम्पेतिर साट्ने धान आलु
बाक्लो जङ्गल छैन त्यहा पाइदैनन भालु
मोही मीठो कस्का घरमा कस्का घरमा घिउ
साटी खोजी खाने बानी दह्रो पार्ने जिउ।४।

भुइँकटहर कति मीठो  भाइ रमेशकहा 
हेलीबारी सम्झनामा पापी काभ्रो जहाँको त्यहा
रातमाटेको निबुवा बोट साङ्पाङेको खन्यू
जताततै आप कटहर कता कता हेरू।५।

नयाँ घर भित्ता घर कटहर कागती छन
तल्लाघर ठूलाघर अम्बा धेरै फल्छन
बेलको पाटो बोडी फल्ने टारबारी मास
यता उति डुलेर नै धान्नु पर्ने सास ।६।