बिपीको सक्रिय जीवनको अन्तिम दिन शहजीसँगको चर्काचर्की र अन्तिम यात्राको त्यो मानव समुद्र

फर्कलान् र ती दिनहरू

बिपीको सक्रिय जीवनको अन्तिम दिन शहजीसँगको चर्काचर्की र  अन्तिम यात्राको त्यो मानव समुद्र

हरिविनोद अधिकारी  |  साहित्य  |  भदौ ०६, २०७७

झल्झल्ती आउने त्यो दिन जहिले पनि । अहिले पनि हिजैजस्तो लाग्छ तर ३८ वर्ष भएछ । भौतिकरुपमा बिपीको निधन भएको । २०३९ साल साउन ६ गते । थाइल्यान्डबाट बिपीलाई सायद बेहोसमा नै नेपाल ल्याइयो र विमानस्थलबाट एम्बुलेन्समा चाबहिलको निवासमा ल्याइयो । सुनिएको थियो, बिपीले आफ्नो अन्तिम सास नेपालमा नै फेर्ने चाहना गर्नु भएको थियो । कोमामा जानुभन्दा पहिले । त्यसैले उहाँलाई थाइल्यान्डको सुविधाजनक अस्पतालबाट निकालेर नेपाल ल्याइएको थियो । साँझको ७ बजेर १५ मिनेट जाँदा उहाँलाई मृत घोषणा गरियो । सायद गिरिजाबाबुले जस्तो लाग्छ,  बिपी अव नरहनु भएको घोषणा गर्नु भयो र यो समाचार सुकेको खरमा आगो लागेजस्तै फैलियो । त्यसै दिनको बिबिसीमा नै त्यो समाचार आयो । बिबिसी विश्व संस्करण अङ्ग्रेजीमा, अनि हिन्दी तथा नेपाली भाषामा नै आएपछि भारत र नेपाल अनि विश्वमा रहेका नेपाली तथा प्रजातान्त्रिक समाजवादी नेताहरुले थाहा पाए । बिपीका नेपाल र भारतमा रहेका परिवारजन तथा परिवारसरहका साथीहरूले पनि जानकारी पाए कि अब बिपी यो संसारमा हुनुहुन्न । 

बिपीको मृत्यु क्यान्सर रोगका कारणले नै भएको थियो । बिपीको निधनलाई,  महाप्रस्थानलाई निर्वाण भनौँ या मोक्ष प्राप्ति भनौँ या नेपाली राजनीति, सामाजिक रूपान्तरण र साहित्यको नयाँ विधालाई मूर्तरूप लिने एक जना शिल्पीको भौतिकरुपमा अन्त्य भएको मानौँ । विचारको जहाँसम्म कुरा छ, जुन दिनदेखि उहाँले नेपाली राजनीतिमा आफ्नो उपस्थिति जनाउनु भयो ।  त्यो दिनदेखि आजपर्यन्त बिपीको विचारको पक्ष र विपक्षमा नेपाली राजनीति केन्द्रित छ । अहिले त नेपालको संविधान हेर्दा बिपीको सैद्धान्तिक  क्षले जितेको देखिन्छ किनभने मुलुक समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यासमा छ । राजतन्त्रको अन्त्य बिपीको अभीष्टता थिएन र पनि बारम्बार राजतन्त्रको अन्त्यको कल्पना गर्दै बिपीले राजालाई सतर्क गराएको पाइन्छ नेपालको इतिहासको अध्ययन गर्दा । गणतन्त्रको पक्षमा भन्दा पनि राजालाई सुधारेर संवैधानिक बनाएर नेपालको विकासमा लाग्ने बिपीको चाहना पूरा भएन । 

नेपाल अधिराज्यको संविधान २०१५ मा निहित सङ्कटकालीन अधिकारको राजाबाट हुनसक्ने दुरुपयोगका बारेमा सर आइभर जेनिङ्ससँगको वार्ताबाट पनि बिपीले एउटा अनुमान लगाउनु भएको देखिन्छ, यदि राजाबाट धारा ५५ द्वारा गरेको गल्तीलाई सुधार गरेर नेपाली जनतालाई अधिकार दिएमा मुलुक प्रजातान्त्रिक बाटोमा लाग्नेछ । तर २०१७ को गल्ती सुधार्नेभन्दा पनि राजा विष्णुको अवतार भएको र सम्पूर्ण राजकीय शक्ति आफैमा समेटेर शक्तिमान भएको भ्रममा बाँचेको कुरा बिपीले अनुभूत गर्नुभएकाले नै पञ्चायतरूपी मुर्दा शान्ति तलाउमा राष्ट्रिय मेलमिलापको उद्वेलन सुरु गराउनु भएको थियो । जसरी पनि पञ्चायतलाई बपौतीको रुपमा र एउटा राजनीतिक दर्शनको रुपमा नेपाली माटोमा फलाउन राजा लागेका थिए चाहे महेन्द्र राजा हुन् कि राजा वीरेन्द्र हुन् । 

यत्ति के भन्दै हुनुहुन्थ्यो, एक जना सायद डाक्टर आए र एउटा कागज दिए । अनि बिपीको अनुहारमा प्रतिक्रिया देखियो र तत्कालै उहाँले हाँसेर सबैलाई भन्नुभयो- हेर्नुस् न, मलाई निम्न रक्तचाप भनेर लेखेको रहेछ । भर्खरै शाहजीसँग म कसरी चर्काेसँग कुरा गरिरहेको थिएँ, यदि मेरो ब्लड प्रेसर लो भएको भए कसरी त्यसरी ठुलो स्वरमा भन्न सक्थेँ र ? अनि बिपी शाहजीलाई बिदा गरेर माथि शयन कक्षमा जानु भयो । अनि सायद गिरिजाबाबुले बरन्डामा आएर भन्नुभयाे -साथीहरू, सानदाजुले आजै बम्बई जानु पर्ने भयो, पछि मात्र उहाँसँग भेट हुनेछ फर्केपछि ।

भारत प्रवासमा हुँदा नै बिपीलाई क्यान्सरको उपचार गर्न भारत बाहिर जानुपर्दा तत्कालीन युवराज वीरेन्द्रबाट राहदानीका लागि सहयोग हुनसक्ने आशा थियो तर जापान, बेलायत र अमेरिकामा शिक्षित तथा दीक्षित युवराजबाट कुनै सहयोग नभएकोमा बिपी भावी राजाबाट त्यति आशावान हुनुहुन्थेन र पनि राजा महेन्द्रको निधनपछि राजा त वीरेन्द्र नै भएका थिए । या त अधिकार लडेर लिने हो, या त अधिकार मागेर लिने हो । दुई दुई ओटा सशस्त्र सङ्घर्षबाट पनि प्रजातन्त्र पुनर्स्थापना हुन नसकेको र भारतमा दिनानुदिन अपमानित अवस्था सृजना हुन लागेको बिपीलाई लाग्यो । पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्राएर बङ्गलादेश बन्नु र भारतको हिस्साको रुपमा  सिक्किम भारतमा विलयपछि अनि चीनको सांस्कृतिक क्रान्तिसँग तिब्बतमा चीनको एकाधिपति स्वायत्तताको नाममा चिनियाँ करण गरेको देखेपछि बिपीलाई लाग्यो होला, यदि म यो सबै टुलुटुलु हेरेर बसेँ भने भारत र चीनको आपसमा विवादपूर्ण तर आफ्ना आफ्ना पक्षको विस्तारित स्वरूपले नेपालको अवस्था नाजुक हुनेछ ।

 नेपालको सबै क्षेत्रमा  भारतको सूक्ष्म व्यवस्थापनका लागि नेपालले देखाएको हरियो झन्डा भित्रभित्र अनि बाहिर भारत विरोधी अनुहारको बिपीले राम्ररी जानकारी राख्नु भएको थियो । त्यसैले भन्नुभयो- राष्ट्रियता लागि राजासँग सहकार्य हुनसक्छ तर प्रजातन्त्र प्राप्ति नहुन्ज्यालसम्म सङ्घर्ष जारी रहनेछ । न आत्मसमर्पण, न सङ्घर्ष । आफूलाई फाँसीसम्म दिन चाहने राजतन्त्रका पक्षमा पञ्चभन्दा पनि एकदम अघि रहनु हुने बिपीलाई तत्कालीन राजाले झिनो बोलीको निरीह राजनीतिज्ञ सम्झने काम गरे । त्यति मात्र होइन, बिपीको निधनमा दिएको शोक वक्तव्यसमेतमा राजाले कन्जुस्याइँ गरेर अन्टसन्ट शब्द राखे एकातिर भने भूतपूर्व प्रधानमन्त्रीलाई दिने राजकीय सम्मान नदिने अनि बिदा नदिने नीति बनाएका थिए तत्कालै बिपीको अवसानको अनुमान गरेर ।    

२०३९ साउन ६ गते साँझदेखि नै चाबहिलमा मानव सागर जम्मा हुन लागेको थियो । बिपीको अन्तिम दर्शन गर्न चाहनेहरूका लागि कुनै खुला स्थानमा उहाँको शव राख्न दिइएन । नेपाली काँग्रेसले पनि तत्कालै निर्णय गरेर बिपीको पार्थिव शरीरलाई काठमाडौँको मूल सडक तथा सहरभित्रका गल्लीभित्र जनताको चाहनाअनुसार लैजाने काम गर्‍यो । साउनको गर्मी भनेनन् नेपाली जनताले । पर्न सक्ने पानीको वास्ता गरेनन् नेपाली जनताले । भारतबाट उहाँका समर्थक तथा पारिवारिक मित्रहरू पनि आइपुगेको अवस्था थियो तर साउनको महिना, कतिपय ठाउँमा बाटोमा पहिरो गएको अनि बिपीको अन्तिम यात्रामा आउन चाहनेहरूलाई आउन नदिएको पनि बुझियो किनभने बिपीको अस्तु लिएर जानेहरू धेरै कार्यकर्ताहरूलाई सार्वजनिक सुरक्षा ऐनअन्तर्गत कारागारसमेत पठाइयो । 

साउन ७ गते मध्यदिन नहुँदैदेखि चाबहिलबाट सुरु भएको बिपीको अन्तिम यात्रामा मानव सागर उर्लिएको थियो । बाटाबाटमा घरघरबाट अन्तिम यात्रामा हिँडेका मलामीहरूलाई गर्मी भयो भनेर कौसीहरूबाट पानी छम्कने काम हुन्थ्यो र बिपीलाई राखेको ट्रकमा पर्ने गरी लावा र अबिर अनि फूलहरू बर्साइएको थियो । त्यो अन्तिम यात्रामा बिपीसँग रहनुभएका गणेशमानजी, किसानजी, शैलज दिदी, बीपीपुत्रहरु फूल र अबिरले रङिनु भएको थियो । कतिले बिपीलाई खादा चढाउँथे । सबैभन्दा बढी त बीपीेको अन्तिम यात्रामा आँसुको भल यसरी बगेको थियो कि मानिसहरूका आँखा नरसाएका कमै देखिन्थे । अनि स्वतः कपाल मण्डन गरेर सडकमा सेतो फेटा बाँधेर आउनेहरूको पनि ठुलो जमात देखिन्थ्यो ।

त्यो मानव सागर बिस्तारै बिस्तारै आर्यघाट पुग्यो र वाग्मतीको वरिपरि यसरी झुम्मियो कि कसैलाई म कहाँ छु भन्ने नै थाहा भएन । कति त रुखमा श्लेष्मान्तक वनको रुखमा चढेका थिए, कति पशुपति वरिपरि यसरी बसेका थिए कि जता हेर्‍यो उतै मानिस नै मानिस थिए र अश्रु पारित नयनले बिपीलाई बिदाइ गरिरहेका थिए । सायद बिपीलाई पनि म यति जनताको प्यारो छु भन्ने अनुमान थियो कि थिएन । किनभने त्यो दिन कार्यालयहरूमा छड्के गरिएको थियो रे ! र त्यो शव यात्रामा गएको थाहा पाए कुनै पनि नागरिकलाई शान्ति सुरक्षाको कानुन लाग्न सक्थ्यो । तै पनि जनताले त्यसको परवाह गरेनन् । अझ बाहिर जिल्लाबाट पनि कार्यकर्ताहरू पाएका भए .....? त्यो दिनको मानव सागर, त्यो पनि निःस्वार्थ मायाले कसैको अन्तिम यात्रामा निःशर्त जाने व्यक्तिहरूको बारेमा अहिले कल्पना गर्न पनि सकिँदैन । खुला वातावरणमा आउने मानव सागरको कुरा बेग्लै हो । तर त्यो बेलामा बिपीको सिद्धान्तका लागि आफूलाई न्यौछावर गर्नेहरू सबै सीमा तोडेर र निडर भएर गएका थिए । म पनि त्यो लाखौँको भीडमा थिएँ । साँच्चै भन्नु हो भने त्यस दिन भन्दा पहिले म कुनै मलाम या शव यात्रामा गएकै थिइन । किनभने बाबुआमा हुनेले अरूको शवयात्रा या मृत्युको अन्तिम संस्कारमा जाने चलन थिएन या त्यस्तो चाँजो परेको  थिएन । 

अहिले पनि म सम्झन्छु बिपीलाई जलाउने ठाउँमा म कसरी चितानेरको कुनोमा पुगेँ । सायद धकेल्दै धकेल्दै पुगेँ हुँला र मसँग दोलखाको साथी वासुदेव काफ्ले पनि थियो । हामी स्वयंसेवकको रुपमा बिपीलाई राखेको ट्रक वरिपरि नै थियौँ । यदि त्यो दिन स्थानीय प्रशासनले बिपीको शवमाथि कब्जा जमाउने या सहर घुमाउन नदिने भनेको भए के हुन्थ्यो अनुमान अहिले गर्न सकिँदैन किनभने राजा वीरेन्द्रले बिहानै ७ बजेको समाचारमा बिपीको मृत्युमा शोक वक्तव्य दिँदै बिपीलाई ‘.......जो नेपाली मरे पनि दुःख लाग्ने भएकाले ....’भन्ने वाक्य राखेका थिए । यसले सामान्य नेपाली जनतामा साउनको कोसीको भेलझैँ शवयात्रामा भाग लिने जोस र हिम्मत जागेर आएको हुनुपर्छ ।  या त राजाले शोक सन्देश नदिएको भए हुने थियो या त राम्रैसँग प्रथम जन निर्वाचित प्रधानमन्त्री भनेर दिनुपर्थ्यो । राजाको द्वैध मानसिकता त्यहाँ पनि देखियो, शोक सन्देश नदिउन् अन्तर्राष्ट्रिय नेपाली राजनेता, दिउँ राजाको निरपेक्ष शक्तिका विरुद्धमा लागेको पञ्चायत विरोधी प्रजातन्त्रवादी विपक्षी नेता । राजाले बिपीको क्षमता नबुझेका होइनन् तर पञ्चहरूको ढाल बन्नका लागि प्रजातन्त्रवादी हुन सकेनन् त्यो बेला । समयको पदचाप सुन्ने बेला एक पटक आउँछ । 

अनि म बिपीको शव जलाउने ठाउँको दक्षिणतिर थिएँ करिब करिब चिताको दुई मिटर मात्र टाढा वाग्मतीको पुलमुनि । अनि बिपीको शवमा दागबत्ती दिएको स्पष्टै देखेँ छोराहरूले दिएका थिए । प्रकाश, श्रीहर्ष र शशाङ्क छोराहरू । करिब साँझको ८ बज्न लागेको थियो होला । कुनै बिगुल बजेनन् सरकारका तर्फबाट तर लाखौँ नेपालीहरूले समवेत स्वरले बोले-वीर बिपी अमर रहून् । दिउँसाभरि उहाँको शवलाई साक्षी राखेर प्रजातन्त्र जसरी पनि ल्याउने वाचा गरेका युवाहरूले त्यो बेलामा पनि बिपी अमर रहून्, प्रजातन्त्र ल्याएरै छोड्ने वाचासहितका नारा लगाएर नेपाली आकाशलाई गुञ्जायमान गराए । त्यो समवेत स्वरमा एउटा आक्रोश थियो, एउटा वाचा थियो, एउटा दृढता थियो प्रजातन्त्रका पक्षमा । तर सबै रोइरहेका थिए बिपीको बिछोडलाई सहन नसकेर । 

बिपीको त्यो राजनीतिक दृढताका पक्षमा लागिरहने वाचा गर्दै थिए कार्यकर्ताहरू अनि बिपीलाई अग्निले बिस्तारै बिस्तारै आफ्नो पकडमा लिएर उहाँको अन्तिम शेष पनि नराख्न कम्मर कसेका थिए । म अन्यमनस्कभावले सोचिरहेको थिएँ-बिपीको भौतिक देहको पृथ्वीमा विलीन भयो, तर उहाँको विचार, व्यक्तिगत स्वतन्त्रता र सामूहिक चेतनाको ज्योति पुञ्जलाई कसैले मार्न पनि सक्दैनन्, मेट्न पनि सक्दैनन् र मानवीय चेतनाको त्यो असीमित क्षमताको पृष्ठपोषणको खुला विचार कसैले मार्न या समाप्त पार्न सक्दैनन् । हेर्दाहेर्दै आगोले उहाँको लामो दाहिने खुट्टाको कुर्कुच्चोलाई बिस्तारै जलाउन थाल्यो र त्यहाँबाट तपतप बोसो पग्लेर झर्न थाल्यो । म अहिले पनि जब त्यो दृश्य सम्झन्छु, एउटा संवेदनशीलता उर्लिएको पाउँछु । केही समयमा त्यहाँ आएका लाखौँ मलामीहरू बिस्तारै बिस्तारै काठमाडौँ उपत्यकाका विभिन्न निवासमा फैलिए होलान् र आफ्ना अश्रुपुरसित नयनले बिपीको सपना पूरा गर्ने मौन व्रत धारण गरे होलान् ।

सायद त्यही दिन र छिनबाट भर्खरै जनमतसंग्रहबाट जितेको भनिएको पञ्चायतलाई जसरी पनि समाप्त गर्ने अठोट गरेर फर्के होलान् । अनि सबैभन्दा पछि त्यो घाटबाट फर्कने म र वासुदेव काफ्ले भयौँ । म डिल्लीबजारमा बस्थेँ मैतीदेवीको दक्षिण फाँटमा । मैले सुनेको थिएँ घाटबाट किरिया बस्नेहरूलाई घरसम्म पुर्‍याउनु पर्छ । हामी दुई जना साथीहरूले पनि त्यसै गर्‍यौँ । उहाँहरूको पारिवारिक तथा पार्टीका माथिल्ला तहका नेताहरूबाहेक हामी दुई जना थियौँ । तर बीपीपुत्रहरुले न त घाटमा कपाल नै काटे, न त किरिया बस्ने कुनै सुरसार नै गरे । बिपी चाहनु हुन्थेन त्यस्तो किरिया बस्ने चलन सायद । तर सेतो धोती भने लगाएका जस्तो लाग्छ । 

बिपीको नेपालमा सक्रिय जीवनको अन्तिम दिन २०३९ साल जेठ ७ गते थियो । एकाबिहानै म र मेरो भानिज बाको छोरो वासुदेव पोखरेल चाबहिल पुगेका थियौँ । होमनाथ दाइ त्यति बेर आउँदै हुनुहुन्थ्यो क्या रे ! सायद त्यो दिन बिपी बिहानै ८ बजेतिर नै आँगनमा कुर्सीमा बसेर कुरा सुरु गर्न थाल्नुभएको थियो । कोठे घरबुनाको भोटोजस्तो लुगा लगाएर बेतको कुर्सीमा । हामी  कोही कुर्सीमा कोही तल दरीमा बसेका थियाै । जेठको बिहानको घाम भए पनि गर्मी थिएन । त्यही बेलामा विद्वान र बिपीको सरकारको बेलामा संयुक्त राष्ट्रसङ्घमा प्रतिनिधि अनि राजाको २०१९ को पञ्चायती संविधान मस्यौदाकार । उहाँ बिपीलाई बीपीमात्र भन्नु हुँदो रहेछ । त्यसताका राँचीमा निर्मल लामा समूहको हुनुपर्छ, अर्थात् त्यो बेलामा मोहनविक्रम सिंहको समूहको हुनुपर्छ, नेपालको शान्ति क्षेत्र प्रस्तावको विरुद्धमा एउटा सेमिनार भएको थियो सेनाको विद्यालयको छात्रावासमा अचानक विद्यालय बिदा गरेर । त्यहाँ शाहजी अतिथि हुनुहुँदो रहेछ र बिपीले त्यसबारेमा कतै टिप्पणी गर्दा विदेशी हस्तक्षेपको कुरा गर्नुभएको रहेछ । शाहजी त्यसैका लागि बिपीसँग झगडा गर्न आउनु भएको रहेछ ।

सायद बिपीले विदेशी हस्तक्षेप बढ्न थालेको टिप्पणीमा त्यो घटनालाई पनि भन्नु भएको होला । शाहजीले सोध्नुभयो—बिपी तपाईँ जेमा पनि विदेशी हस्तक्षेप देख्न थाल्नुभयो अब ? अनि बिपीले पनि सोध्नुभयो—शाहजी, भन्नुस् त भारतको संस्थापन पक्षको समर्थन विना भारतीय सेनाको परिसरमा सम्मेलन गर्न र सहभागीहरूलाई खान बस्न सेनाको छात्रावासको प्रयोग गर्न दिन्थ्यो होला र ? अनि भारतीय सेनाको परिसरमा नेपालका वारेमा किन सम्मेलन गर्ने त ? नेपालमा नै गरौँ, पञ्चायतको विरोधमा शक्तिको उपयोग गरौँ ।

यत्ति के भन्दै हुनुहुन्थ्यो, एक जना सायद डाक्टर आए र एउटा कागज दिए । अनि बिपीको अनुहारमा प्रतिक्रिया देखियो र तत्कालै उहाँले हाँसेर सबैलाई भन्नुभयो- हेर्नुस् न, मलाई निम्न रक्तचाप भनेर लेखेको रहेछ । भर्खरै शाहजीसँग म कसरी चर्काेसँग कुरा गरिरहेको थिएँ, यदि मेरो ब्लड प्रेसर लो भएको भए कसरी त्यसरी ठुलो स्वरमा भन्न सक्थेँ र ? अनि बिपी शाहजीलाई बिदा गरेर माथि शयन कक्षमा जानु भयो । अनि सायद गिरिजाबाबुले बरन्डामा आएर भन्नुभयाे -साथीहरू, सानदाजुले आजै बम्बई जानु पर्ने भयो, पछि मात्र उहाँसँग भेट हुनेछ फर्केपछि ।

अनि सानदाजु आएर त्यहीँबाट छोरी चेतनाको बिहे सायद  जेठको ९ या ११ गते कहिले थियो, त्यसमा सबै आएर बिहेमा सहभागिता जनाउनु होला भन्नुभयो । मलाई पनि निम्तो थियो त्यो बिहेमा । एउटा टाइप गरेको कागजमा बिपीले सामान्य तरिकाले बिहेमा सहभागी हुन निम्तो गर्नुभएको थियो । उहाँको पुरानै चलन अनुसार प्रिय भनेर नाम लेख्ने र स्नेही वि.प्र. कोइराला भनेर लेख्ने चलन । त्यो बिहेमा हामी गयौँ समोसा खायौँ तर बिपी  आउन सक्नु भएन । मेरो विचारमा बिपीको सार्वजनिकरुपमा भेटघाट भएको त्यही जेठ ७ गते नै हुनुपर्छ । बिपीसँगका धेरै सम्झना छन् तर ती सबै प्रसङ्गमा पछि पनि आउने छन् । 

अहिले यति मात्र भनौँ, बिपीको त्यो राजनीतिक यात्रामा हठात् पूर्ण विराम लगाउने धृष्टता गरेर नै नेपालले प्रजातान्त्रिक अभ्यासको संस्कृतिमा लामो प्रतीक्षा गर्नु परेको हो । क्रमशः