लोकसंवाद संवाददाता | समाचार | चैत ११, २०७५
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ। उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ। सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ। विप्लव समूहलाई आपराधिक तथा विध्वंशकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।
सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग सम्वाद अघि बढाउने कोसिस गरिरहेका छन्। तत्कालीन वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सम्बोधन गर्र्दै विप्लव समूहप्रति लक्षित गर्दै ‘भूमिगत भएर कसैले क्रान्तिको सपना नदेखे हुन्छ र सरकारसँग अब ब्याक गियर छैन’ भनेर तर्साउने किसिमको अभिव्यक्ति दिएकै समयमा तत्कालीन वार्ताटोलीका संयोजक र केही सदस्य सो समूहसँग वार्ता अघि बढाउन सम्पर्क गरिरहेका थिए। पाण्डेले विप्लव समूहका केही नेता सम्पर्कमा रहेको र व्यक्तिगत रुपमा संवाद जारी रहेको बताए। सरकारले उनीहका गतिविधिलाई प्रतिबन्ध लगाए पनि आफूहरूले वार्ता र संवादलाई जारी राखेको पाण्डेको दाबी छ। आजको नागरिक दैनिकमा खबर छ ।