लोकसंवाद संवाददाता | विदेश | भदौ ०८, २०७७
एजेन्सी । जापानकाे प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिनु भएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९औं दिन प्रधानमन्त्री पदमा रहन सफल हुनु भएको छ । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गर्नु भएको थियो ।
अर्को महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसक्नु भएको छ ।
स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उहाँ एक वर्षमात्र प्रधानमन्त्रीमा रहनु भएको थियो । अहिले पनि उहाँको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उहाँ दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।
दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, 'मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।'
अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताउनु भएको थियो । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किदै गएको अनुमान गरेका छन् ।
आबेको मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताउनु भएको छ । प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थाल्नु भएको र विगतको जस्तो फुर्तिलोगरी हिँड्न नसक्ने अवस्थामा पुग्नु भएको बताएका छन् ।
गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिनु भएको थियो ।