लोकसंवाद संवाददाता | समाचार | चैत ११, २०७५
काठमाडौं – मुश्लिम आयोगका नवनियुक्त अध्यक्ष समीम मिया अन्सारीको नियुक्ति बदर माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अन्सारी अध्यक्ष भएको चार दिनमै संविधान, कानुन वीपरित नियुक्ति भएको भन्दै राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्, संसदीय सुनुवाई समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई विपक्षी बनाई अब्दुल सलामले निवेदन दर्ता गरेका हुन्।
संविधानले तोकेअनुसार आयोगको अध्यक्ष हुन ४५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ। त्यसअनुसार उमेरसमेत नपुगेको रिट निवेदकको दाबी छ। संवैधानिक परिषद्ले सिफारिस गर्दा राजनीतिक दलको सदस्य रहेकोे र समितिमा जानीजानी छलफल नगरिएको रिट निवेदकको दाबी छ। नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा विवाद हुँदाहुँदै उनलाई संसदीय सुनुवाई समितिले स्वीकृत नगरी अन्सारी अध्यक्षमा नियुक्त भएका हुन्। अन्सारीलाई नियुक्ति गर्न सुनुवाई समितिले ४५ दिन कटाई स्वतः अनुमोदन गराएर ‘स्वेच्छाचारी व्याख्या’ गर्दै अध्यक्ष पदको सपथ गराइएको रिटमा उल्लेख छ। आजको नागरिक दैनिकमा खबर छ ।