लोकसंवाद संवाददाता | समाचार | चैत ११, २०७५
सर्लाही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’
मधेसको उर्वर भूमिका लागि सिँचाइको व्यवस्था गर्न सुनकोसी डाइभर्सनलगायत काम तीव्र गतिमा अगाडि बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानीजहाजमै रुमलिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताए। ‘मुलुकको समृद्धिका लागि तराईको उर्वर भूमिमा सिँचाइको व्यापकता हुनुपर्छ, कृषिमा यान्त्रीकरण गर्नुपर्छ,’ पौडेलले सरकारप्रति प्रश्न तेस्र्याए, ‘तर समृद्धिको एकोहोरो नारा रट्ने वर्तमान सरकारले तराई मधेसलाई आवश्यकता पर्ने यस्ता कुरामा पटक्कै ध्यान दिएको छैन, खाली पानीजहाज मात्र भन्छ, के पानीजहाजले समृद्धि सम्भव छ ?’ आजको नागरिक दैनिकमा खबर छ ।