एउटा त्रासदीः जब मान्छे रातमा उठेर अचानक रुन्छन् र भाग्न थाल्छन्

एउटा त्रासदीः जब मान्छे रातमा उठेर अचानक रुन्छन् र भाग्न थाल्छन्

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ०९, २०७७

बेरुतमा बस्ने सेन्ड्रा अबिनाडार सामान्य हलचल हुँदा पनि तर्सिन्छिन् । एक दिन उनी जार खोलिरहेकी थिइन्, अचानक कोही चिच्याएको आवाज उनको कानमा पर्‍यो । उनी त्यहाँबाट डरले जार छाडेर भागिन् ।

१८ वर्षकी सेन्ड्रा होस् या २४ वर्षकी लुड्स फाखरी पछिल्ला दिनमा मानसिक समस्याबाट गुज्रिरहेका छन् । लुड्स त अचानक रुन थाल्छिन् ।

बेरुतमा भएको शक्तिशाली विस्फोटको दुई साता बितिसकेको छ, तर त्यहाँका स्थानीयबासीले अझै त्यो विस्फोटपछिको त्रासदीलाई भुल्न सकेका छैनन् । तर सेन्ड्रा साइकियाट्रिस्टको सहयोग लिन तयार छैनन् । उनी भन्छिन्, ‘हामीले समस्यालाई सामना गर्न सिकिसकेका छौं ।’ 

लेबनानीले लामो समयको गृहयुद्ध र साम्प्रदायिक संघर्ष झेलिसकेका छन् । यसपछिको कोरोना महामारीकैबीच भएको भीषण विस्फोटले उनीहरुलाई झनै ठूलो पीडा दिएको छ ।

चिकित्सकहरुले समेत स्वास्थ्य संकटको चेतावनी दिएका छन् । किनकि त्यहाँका मानिसमा नराम्रो सपना, अचानक रुनु, चिन्ता, आवेग र थकावटजस्ता मानसिक चोटका समस्याका लक्षणहरु देखिन थालेका छन् । 

मनोचिकित्सकका अनुसार टेलिभिजन र सामाजिक सञ्जालमा विस्फोटका तस्बिरहरु पटक पटक हेरेर पनि दिमागमा गहिरो असर परेको छ ।

मानिसक स्वास्थ्यसम्बन्धी काम गर्ने एनजीओ एम्ब्रेसमा आबद्ध जैद दौका अनुसार मानिस हताश भइसकेका छन्, जस्तो कि उनीहरुलाई अब केही पनि हुँदैन भन्नेजस्ता चिन्ता थपिएका छन् । जसले गर्दा उनीहरुको दिमागमा पनि यस्ता समस्या देखिन थालेका छन् ।

साइकोलोजिस्ट वार्डे डाहेर यो विस्फोटपछि आफूहरु नै चिन्तामा रहेको भन्दै अरुलाई कसरी मद्दत गर्ने भन्ने प्रश्न गर्छन् ।

मनोचिकित्सक ओला खोदोर मानिसहरुले यस्तो समस्या नझेलेको र यो विस्फोटका कारण उनीहरु मानसिक समस्यामा परेका कारण आफू र बच्चाहरुको हेरचाह समेत गर्न नसकिरहेको बताउँछन् । ‘बच्चाहरुलाई पूरा नभएपनि केही सत्य बताउनुपर्छ, ताकि उनीहरुले आफ्ना भावना व्यक्त गर्न सकुन्,’ उनी भन्छन् ।

मनोचिकित्सकका अनुसार यो घटनापछि बच्चाहरुलाई सम्झाउन कठिन भइरहेको छ । आमाबाबुले यो घटनालाई एक खेल भएको बताइरहेका छन् ।

जस्तो कि एक बाबुले आफ्नो बच्चालाई यो विस्फोट एक 'प्रिटेन्ड बुम गेम' भएको र प्लेहाउसमा बिस्फोट भएका कारण बच्नका लागि भाग्नुपरेको घटनाका रुपमा ब्याख्या गरेका छन् ।

धेरै अभिभावकले बेरुत विस्फोटपछि आफ्ना बच्चाहरुलाई त्यसको असरबाट भुलाउन अनेक उपाय लगाइरहेका छन् । युनिसेफका अनुसार बेरुतका ५० प्रतिशत बच्चामा चिन्ताजनक लक्षण देखिएका छन् ।एजेन्सी