लोकसंवाद संवाददाता | समाज | भदौ ०९, २०७७
बागलुङ । बागलुङ जिल्ला सदरमुकाममा जारी निषेधाज्ञाको अवज्ञा भएको गुनासोपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको पालनामा थप कडाइ गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा बसेको सरोकारवाला निकायको बैठकले भदौ ३ गतेदेखि जारी रहेको निषेधाज्ञा १५ गतेसम्म पुर्याउने निर्णयपछि बागलुङ बजारको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने ४० मोटरसाइकलसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।
समुदायमा कोरोना सङ्क्रमण फैलिएको भन्दै जारी निषेधाज्ञाको अवज्ञा गर्ने ४० मोटरसाइकल र अवज्ञाका विषयमा सम्झाउन खोज्दा प्रहरीसँग अभद्र व्यवहार गर्ने दुई मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार बजार अनुगमनका क्रममा भेटिएका १५० सर्वसाधरणलाई मास्कको प्रयोग तथा निषेधाज्ञाको पालनाका विषयमा सम्झाइबुझाई गरिएको छ । पक्राउ गरिएका मोटरसाइकल निषेधाज्ञा खुलेपछि मात्रै सवारीधनीलाई दिइने गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसहित जिल्ला सुरक्षा निकायले बजार अनुगमन गर्ने क्रममा हालसम्मकै बढी सवारीलाई एकैपटक कारवाही गरिएको छ ।