चट्याङबाट मरे पाँच सय भेडा

चट्याङबाट मरे पाँच सय भेडा

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ०९, २०७७

जुम्ला । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर  करीब पाँच सय  भेडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि  स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् ।

पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार   घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण भने केही समयमा आउने छ ।
चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेडापालक किसानको पुख्र्यौली पेशालाई नै  बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो ।

बुढथापाले भन्नुभयो, 'सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ ।' जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेडा मरेका थिए ।