एक गर्भवतीको अनुभूति : नाकाबन्दी कहर बीचमा पनि असीमित आनन्द !

एक गर्भवतीको अनुभूति : नाकाबन्दी कहर बीचमा पनि असीमित आनन्द !

राधा कणेल  |  साहित्य  |  भदौ १०, २०७७

मेरो अघिल्लो स्तम्भमा मैले नाकाबन्दीका बेलामा एउटी गर्भवतीले भोग्नुपरेको पीडा मेरो व्यक्तिगत अनुभवका आधारमा लेखेकी थिएँ । उक्त लेख पढेपछि धेरै जनाले त्यसपछिको घटना पनि लेख्नुहोस् न भन्ने सुझाव दिनुभयो- फेसबुकको कमेन्टमा, इनबक्समा र व्यक्तिगत भेटघाटमा पनि । त्यसैले त्यसभन्दा पछिका दिनका घटना र बच्चा जन्मिँदासम्मको अनुभवलाई मैले प्रस्तुत गर्ने जमर्को गरेकी छु । 

नाकाबन्दीको बेलाको दिनचर्या अघिल्लो लेखमा उल्लेख गरेभन्दा केही फरक रहेन । तीबाहेक अन्य कुनै कुनै दिन विशेष समस्या आइपर्‍यो, जुन कुरा यहाँ शेयर गर्न मन लाग्यो । 

२०७२ फागुन ११ गते 

बेबी, 
आज तिम्रो र मेरो स्वस्थ्य जाँचको दिन हो । मलाई ब्लड टेस्ट रिपोर्ट लिएर आउनू भन्नुभएको छ डाक्टरले । मेरो ब्लडमा हेमोग्लोबिन कम भएको रहेछ । रगत बढाउने खानेकुरा खानु रे ! खाना रुचे पो सबै खान मन लाग्छ । नरुचेपछि के गर्नु ? तर पनि हामीले अनार किनेर ल्याएका छौँ । चुकन्दरले रगत बढाउँछ भनेर त्यो पनि खोजेर ल्याएका छौँ । त्यसको गन्ध खासै मनपरेको त छैन तर पनि तिम्रो लागि मैले जसरी पनि खानै पर्छ । 

मैले जागिरमा जान पूर्ण रूपमा नै जान छाडेकी छु । अब घरमा नै समय बिताउने हो । घरमा पनि धेरैजसो समय मेरो युट्युबमा हप्ताहप्ताको गर्भावस्थाको विकासको एनिमेसन हेर्दै बित्छ । यस्तो बेला खान हुने कुरा, नहुने कुरा, बच्चाको ढुक्ढुकी आदिका बारेमा हेरेको हेर्‍यै गर्छु ।

एउटै कुराकोे पनि २-४ वटा च्यानलमा हेरेपछि मात्र विश्वास लाग्छ । कति कुरामा त डाक्टरले भन्ने कुरा अगाडि नै मलाई थाहा भइसक्छ । प्रविधिले मानिसलाई आफूले चाहेको क्षेत्रको विज्ञ बनाएको छ । साँच्चै अद्भूत र आश्चर्य छ यो इन्टरनेटको दुनियाँमा पनि । यहाँ बसेर सजिलै अमेरिका/युरोपको ल्यापटप/कम्प्युटर चलाउन सकिने । उताका मनिसले यता पढाउन सक्ने । मानिससँग भौतिक दूरी जतिसुकै होस्, इन्टरनेटले संसारलाई मुठ्ठीमा लिएको छ । 

ल त बेबी आजलाई यति नै । 

२०७२ फागुन १३ गते 

बेबी,
मैले जागिर छाडे पनि अधिवक्ताको अनुमतिपत्रको परीक्षाको फर्म भरेकी थिएँ । अब मेरो समय त्यता दिन्छु । हुनत यो वर्ष नै पास गर्न सके राम्रो हुन्थ्यो । नसके पनि अर्को वर्षलाई सजिलो होला । त्यताको पढाइमा ध्यान दिनै पर्नेछ । 

तिम्रो बाबाले विश्वविद्यालय आयोगमा लेखा अधिकृत (करार)मा पनि फर्म भर्न लगाउनुभयो । उता पनि भयो भने ४ वर्षजति त काम गर्न पाइन्छ । अब थोरै समय दुवैतिर पढ्नका लागि छुट्याउनुपर्ने भयो । कसरी व्यवस्थापन गर्ने होला ? तर, दुवै परीक्षा त दिन्छु । आखिर फर्म भरेकै छ ।  पास भए राम्रै हुन्छ । परीक्षा नै नदिए त पास हुने सम्भावना पनि त गुम्छ नि होइन ? आखिर ५० प्रतिशत सम्भावनालाई किन खेर जान दिनु ?

यिनै कुरा सोचेर आज लाइब्रेरी रुम सफा गरेँ । तल हार्डवेयर पसलमा भएको डेस्कटप कम्प्युटर लाइब्रेरी रुममा सारेँ । इन्टरनेटको तार जोडेँ । पुराना किताब जम्मा बनाएँ- सिलेबसलाई सहयोग गर्नेजति सबै । 

खुब पढ्ने जाँगर आएको छ । हेर्दाहेर्दै कोठा चिटिक्कको भयो । सानो खाटमा यसो पल्टिएको, भुसुक्कै निदाएछु । ब्युँझिएर उठ्न खोजेको उठ्नै सकिनँ । शरीर नै चल्दैन । धेरै प्रयास गरेँ तर फर्कनै सकिनँ । ममी-बुबाको आवाज सुनेर उहाँहरूलाई बोलाएँ तर सुन्नुभएन । ढोका लगाएको थियो तर लक गरेको भने थिएन । 

मलाई त्यस्तो गाह्रो भएको कुरा उहाँहरूलाई के थाहा हुनु र ! कहिल्यै त्यस्तो भएको थिएन । धेरै नै गाह्रो भएपछि फोन गर्ने विचार आयो । ममीको मोबाइल स्वीच अफ रहेछ । बुबाको फोन लाग्दै लागेन । 

अचम्म छ ! एउटै घरमा सबैजना छौँ तर एउटा कोठाभित्र अर्कोलाई परेको समस्यामा अनभिज्ञ ! केही गरी जिउ फर्काउन नसकेपछि मैले तिम्रो बाबालाई कल गरेँ । ममी-बुबालाई फोन गर्नुभएछ । फोन लागेको भए त अघि नै समस्या समाधान भइहाल्थ्यो नि ! बल्ल सुस्मिता दिदीको फोन सम्पर्क भएर उहाँलाई भन्नुभएछ । 

दिदी बाहिर जानुभएको र १० मिनेटपछि आउने कुरा भयो । मलाई पानी तिर्खा लागेर हैरान । जब नसक्ने अवस्था हुन्छ, तब मानिसलाई त्यही चिज चाहिन्छ, जुन चिज ऊसँग हुँदैन ।

डाक्टरले हामीलाई तर्साइदिनुभयो । पेट पनि तुलनात्मक रूपमा सानो, मेरो तौल पनि अत्यन्त कम र तिम्रो तौल पनि कम । ‘भोलि नै भर्ना गर्नू, म पाटनमा नै हुन्छु’ भन्नुभयो डाक्टरले । भर्ना भएको २–३ दिनमा नै तिमीलाई निकाल्ने रे ! सकेसम्म नर्मल नभए सर्जरी गरेर । डाक्टरले दिएको मितिअनुसार तिमी जन्मिने समय आइपुग्न अझै २६ दिन बाँकी नै छ । लगभग ४ हप्ता । 

हस्याङफस्याङ गर्दै सुस्मिता दिदी भित्र छिर्नुभयो गुरुदाइकी छोरीलाई लिएर । दुवै मिलेर मलाई उठाउनु भयो । उहाँहरू आउँदा मात्र ममी-बुबा छक्क पर्नुभयो । ‘अचम्म ! यहीँ भएर पनि थाहा पाएनौँ’ भन्नुभयो तर त्यसमा उहाँहरूको कुनै दोष नै थिएन ।  ‘यस्तो सानो कोठामा किन एक्लै बसेकी ? भित्र आराम नै गर्दै होली भनेर डिस्टर्ब नगरेको’ भन्नुभयो । ठीकै हो उहाँहरूको कुरा तर बिरामी र विशेष अवस्थाको बिरामीले ढोका ढ्याम्म लाएर बस्नुनहुनेरहेछ भन्ने सिकेँ मैले । अबदेखि यसरी बस्दिनँ । ल अब सुतेँ है । गुड नाइट । 

२०७३ वैशाख २५

आज फेरि तिम्रो र मेरो स्वास्थ्य जाँचका लागि क्लिनिक गएका थियौँ । सधैँ देखाउने डाक्टर आज बाहिर जानुभएको रहेछ– अर्को डाक्टरलाई जिम्मेवारी दिएर । अरू सबै कुरा सामान्य नै थियो, मेरो तौल भने बढेको थिएन । म सामान्य अवस्थामा नै थिएँ । 

डाक्टरले ‘घरमा रेस्ट गर्नू । अर्को हप्ता  युएसजी गरेर रिपोर्ट लिएर आउनू’ भन्नुभयो । घरमा पूरा आराम पनि कहाँ गर्न पाइन्छ र ? ममी–बुबा तराई जानुभएको छ । तिम्रो बाबाको अफिस । तिम्रो दादाको पढाइ । घरको काम त भइहाल्छ नि ! तैपनि केसिस गर्छु सकेसम्म । 

२०७३ जेठ १ 

आज तिम्रो र मेरो चेकअपका लागि हस्पिटल जाने दिन । हुनत एक हप्ताअघि मात्र हो हस्पिटल गएको तैपनि डक्टरले दिएको समय नाघ्न मन लागेन । 

केही रिस्क पो छ कि भनेर रिपोर्ट लिएर गयौँ हस्पिटल । तिम्रो तौल २.१ किलो भएछ । समयअनुसार हल्का कम । मलाई डेलिभरी कहाँ गराउने भनेर सोध्नुभयो । मैले पाटन भनेँ । तिम्रो दादालाई पनि हामीले पाटनमा नै जन्माएका हौँ । 

गर्भवती हुनुभन्दा अगाडि मेरो तौल ५७ किलो थियो भने अहिले ६० किलो मात्र पुगेको छ ।

डाक्टरले हामीलाई तर्साइदिनुभयो । पेट पनि तुलनात्मक रूपमा सानो, मेरो तौल पनि अत्यन्त कम र तिम्रो तौल पनि कम । ‘भोलि नै भर्ना गर्नू, म पाटनमा नै हुन्छु’ भन्नुभयो डाक्टरले । भर्ना भएको २–३ दिनमा नै तिमीलाई निकाल्ने रे ! सकेसम्म नर्मल नभए सर्जरी गरेर । डाक्टरले दिएको मितिअनुसार तिमी जन्मिने समय आइपुग्न अझै २६ दिन बाँकी नै छ । लगभग ४ हप्ता । 

तिमी भर्खर २.१ किलोको भयौ भने अहिले नै कसरी निकाल्नु ? निकालेपछि तिम्रो फोक्सोको विकासका लागि नर्सरीमा राख्नुपर्छ रे ! ३६ हप्तासम्म कति कष्ट भोगेर मैले जोगाइरहेकी छु तिमीलाई । 

मलाई त्यस्तो असहज भएकै छैन पछिल्लो समयमा । यतिकै प्राकृतिक रूपमा नै आमाको गर्भमा पूरा समय हुर्किन  पाउने तिम्रो अधिकार म कसरी छिन्न सक्छु ? डाक्टरले त भन्नुभयो तर मेरो मन मानेकै छैन । समय नपुगी निकाल्दा तिमीलाई केही भयो भने सहन सक्ने क्षमता मेरो छैन । 

तिम्रो दादा दीक्षान्त पनि ४० हप्तामा जम्मा २.८ किलो मात्रको त थियो । अन्तिम महिनामा बच्चाको छिटोछिटो विकास हुन्छ भनेर युट्युबमा हेरेकी छु र अन्य रिसर्च पनि पढेकी छु मैले । कतिपय आमाको अनुभव पनि हेरेँ । 

यस्तो हुँदा पनि खासै आत्तिनुचाहिँ पर्दैन रे ! मलाई भोलि हस्पिटल जान पटक्कै मन छैन बेबी, पटक्कै । 

तैपनि डाक्टरले यति भनेपछि हामी जुनसुकै अवस्थामा पनि  तयारी भएर त बस्नै पर्ने भयो । तिम्रा हजुरबुबा र हजुरआमालाई तुरुन्तै काठमाडौँ आउनू भनेर तिम्रो बाबाले बोलाउनुभएको छ । मचाहिँ हस्पिटल जाने मनस्थितिमा छँदै छैन । 

त्यसपछि हामीले अर्को डाक्टरलाई देखाउने निधो गर्‍यौँ । अम्बिका दिदी सिभिल हस्पिटलमा काम गर्नुहुन्छ । उहाँसँग मैले सबै कुरा गरेँ । उहाँले आज नै सिनियर डाक्टरसँग कुरा गर्नुभएछ मेरो अवस्थाका बारेमा । भोलि बोलाउनुभएको छ । हेरौँ के हुन्छ । 

२०७३ जेठ २ 

आज सिभिल हस्पिटल गयौँ । डाक्टरसँग कुरा भयो । उहाँले एक हप्ता हेरौँ न त भनेर बच्चा बढ्ने औषधि दिएर पठाउनुभएको छ । आखिर औषधि पनि हुँदो रहेछ त ! हामी यति कुराले पनि दंग परेका छौँ । कम्तीमा एक हप्ता त तिमी पेटमा बस्न पाउने भयौ । 

२०७३ जेठ ९

आज अल्ट्रा साउण्ड गरियो । तिम्रो तौल २.५ किलो भएछ । हामी दंग परेका छौँ । डाक्टरले ठिकै छ ग्रोथ भन्नुभयो । पुनः त्यही औषधि नियमित सेवन गर्नू र पूरै बेड रेस्ट गर्नू भनेर पठाउनुभएको छ । 

तिम्रो मुभमेन्टलाई एकदम ख्याल गर्नू र असहज हुनेवित्तिकै आउनू भन्नुभएको छ । सहज नै भएमा अर्को हप्ता आउनू भन्नुभएको छ । म फेरि दंग परेकी छु, तिमीले तिम्रो अधिकारबाट आउने हप्तासम्म बञ्चित हुनुपर्नेछैन ।

अनि अर्को खुसीको कुरा, अधिवक्ताको लिखित परीक्षाको रिजल्ट आयो । म पास भएकी छु ।  अन्तर्वार्ता कहिले हो, टुंगो छैन । जानचाहिँ सक्ने हो कि होइन, थाहा छैन । तर, आज धेरै खुसी छु बेबी !  

२०७३ जेठ १६

यतिबेला दिउँसोको १ बजेको छ । आज तिम्रो हजुरबुबा र हजुरआमा खाना खाएर हस्पिटल जानुभएको छ । अस्ति तिम्रो हजुरआमा लड्नुभयो बाथरुममा । बुढी औँला चलाउनै नहुने भएको छ । त्यही भएर दुवै जना हिँड्नुभयो । मलाई अलिक असहज भएको छ । हल्का पेट दुख्दै छ । पेट दुख्नेवित्तिकै हस्पिटल आउनू भन्नुभएको थियो डाक्टरले । हल्का मात्र दुख्छ एकैछिन । फेरि सञ्चो भएको जस्तो हुन्छ । 

हिजोदेखि नै तिम्रो बसाइ (पोजिसन)ले मलाई अप्ठ्यारो त पारेकै छ । हिजो २ जना पाहुना आउनुभयो । म एक्लै सुतिरहेकी थिएँ । उहाँहरूलाई चिया बनाएर दिएँ । 

चिया पिउन्जेल बस्दा पनि मलाई गाह्रो भएको थियो । उहाँहरू दुवै जना महिला नै हुनुहुन्थ्यो । अलिक अप्ठ्यारो भएको कुरा शेयर गरेँ तर ‘अनुहार त उज्यालो छ, केही हुँदैन होला’  भन्नुभयो । 

नभन्दै राती असहज भएन । आज पनि मलाई त्यस्तै मात्र भएको होला भन्ठानेँ । फेरि एकछिनमा दुखेजस्तो हुन्छ । ग्यास्ट्रिक पो हो कि भन्ने सोचेर ज्वानो–पानी पकाएर पिएँ । अहँ उस्तै छ । 

आधा घण्टाको फरकमा त्यस्तो महसुस हुन्छ । भोलि त डाक्टरले दिएको डेट नै हो । तिम्रो बाबालाई फोन लगाएको । हस्पिटल आऊ भन्नुभएको छ भाउजू (सुस्मिता दिदी)लाई लिएर । 

खासै धेरै दुखेको पनि होइन । हस्पिटल जानलाई पनि केही नभएको मान्छे जानु मात्र हुने हो कि भन्ने धक लागेको छ  ।  के गरौँ भन्दै दोधारमा छु । नजाँदा पनि राती अप्ठ्यारो हुने हो कि भन्ने डर छ । के गर्ने होला ? 

मैले म एक्लै आउँछु भन्दा गाली गर्नुभयो । सुस्मिता दिदीलाई आफैँ फोन गर्नुभएछ । एकैछिनमा आउँदै हुनुहुन्छ रे ! अब हस्पिटल जान्छु है !
++++

यतिसम्म लेखेको रहेछु । त्यस बेलाको दैनिकी । यसभन्दा अगाडिको कहानी यस्तो छ ।

हामी हस्पिटल पुग्दा पौने ४ बजेको छ अपराह्नको । प्रसूति सेवाका सबै डाक्टरहरू एकै ठाउँमा हुनुहुन्थ्यो । मैले मेरो समस्या बताएँ । डाक्टरले मेरो चेक गर्नुभयो । 

‘सबै ठिकै छ, कहिलेकाहीँ यस्तो हुन्छ’ भन्दै हुनुहुन्थ्यो, पछि बच्चा उल्टो छ कि क्या हो ? भन्ने शंका गर्नुभयो । उहाँले सिनियर डाक्टरलाई बोलाउनुभयो । नभन्दै बच्चा उल्टो परेर बसेको रहेछ । 

हिजोदेखि मलाई त्यसैले गाह्रो भएको रहेछ । तुरुन्तै इमरजेन्सी अल्ट्रासाउन्ड गरियो त्यहीँ । बच्चा निकै तल आइसकेको रहेछ– उल्टो पोजिसनमा नै । हतारहतार अपरेसनको तयारी गर्नू भनियो । रगत दिने मान्छे तयार गर्नू,  भर्ना भइहाल्नू भन्नुभयो । हामी अलमल्ल पर्‍यौँ ।

डाक्टर मलाई लिएर भर्ना गर्ने ठाउँसम्म आफैँ आउनुभयो । आउँदै गर्दा ‘एकदम ठीक समयमा आउनुभएछ । यस्तो अवस्थामा तुरुन्त नगरे गाह्रो हुन्छ । साल बच्चाको घाँटीमा बेरिन सक्छ जुनसुकै बेला’ भन्नुभयो । म झसङ्ग भएँ । 

सबै आवश्यक जाँचपछि मलाई वार्डमा लगियो । सबैतिर तारैतार भएको बेड देखेर डर पनि लाग्यो । लामो श्वास लिएर बच्चालाई केही नहोस् भनेर भगवान सम्झिएँ । ६ बजेर ५० मिनेटमा नानीले जन्म लिई । 

म दंग परेँ । हजुरबुबा र हजुरआमाको आफ्नै हातले छोरी खेलाउने रहर पूरा नभए पनि नातिनी खेलाउने रहर पूरा भएको थियो । म ढुक्कले निदाएँ । 

प्रसूति सर्जिकल वार्डमा ठाउँ नपुगेर मलाई जनरल पोस्ट–अप वार्डमा राखिएछ र नानी बाबा र दिदीले लिनुभएछ । 

बच्चालाई ल्याक्टोजिन दूध बनाएर सुस्मिता दिदी र बाबाले खुवाउनुभएछ । मेरो मोबाइलबाट फोटाहरू खिच्नुभएको रहेछ । मलाई भोलपिल्ट मात्र नानीसँग भेट्न दिइयो । छोरो पनि भेट्न आएको रहेछ । एकातिर छोरो, अर्कोतिर छोरी । असीमित आनन्द आयो । अपरेसनको दुखाइको पीडा भुलेँ एकछिन । 
++++

विश्वविद्यालय अनुदान आयोगको नतिजा २०७३ माघमा आयो । म पास भएँ । अन्तवार्ता   पछिको नतिजामा मेरो नाम निस्कियो । छोरी १० महिनाकी भएकी थिई । मैले पुनः जागिर सुरु गरेँ । माथि परीक्षा दिएको प्रसङ्ग आएर मात्र उल्लेख गरेको है ! 

एक दिन मोबाइल खेलाउँदै  जाँदा नानी र मैले नानीको सानो बेलाको सबै फोटो हेर्‍यौँ । नानीले ती फोटो खुब चाख दिएर हेरी । अहिले ४ वर्षे छोरीले ‘म सानो हुँदा सिभिल हस्पिटलमा जन्मेको अनि बाबाले बुबु खान दिनुभएको’ भन्छे ।

याे पनि 

महाभूकम्प, भेदभाव र नाकाबन्दीको त्रासमा एउटी गर्भवतीको मनोविज्ञान