तीन महिनामा रेल

तीन महिनामा रेल

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ११, २०७५

काठमाडौ । नेपालको रेल विभागले घनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका लागि आवश्यक रेल खरिद प्रक्रिया अगाडि बढाएकोे छ ।

विभागका महानिर्देशक बलराम मिश्रले सरकारी तहमा हुने खरिद सम्झौताका लागि भारतीय पक्षलाई नेपाल आउन आउँदो साता पत्राचार गरिने बताए ।उनका अनुसार सम्झौता गरिएको बढीमा तीन महिनाभित्र रेल नेपाल आइपुग्नेछ ।

नेपालले खरिद गर्ने रेल भारतको चेन्नईस्थित सरकारी कम्पनीले निर्माण गर्ने अधिकारीहरूले बताएका छन् ।

भारतमा रेल निर्माणदेखि मर्मतसम्मका सबै काम सरकारी कम्पनीबाटै हुने गरेको छ । 

‘अहिलेलाई धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्न लागिएको हो । त्यसका लागि तत्काल दुई थान रेल भए हामीलाई पुग्छ ।’ महानिर्देशक मिश्रका अनुसार, नेपालले झन्डै ८५ करोड रुपैयाँमा दुई थान रेल खरिद गर्न लागेको हो । त्यसका लागि आवश्यक रकम मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरिसकेको छ ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ ।

खरिद गर्न लागिएका रेलका विशेषता यस्ता छन् 

कुर्थादेखि जयनगरसम्म आठवटा स्टेशन र हल्ट हुनेछन अर्थात् आठ स्थानमा रेल रोकिनेछ ।

नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ । अहिले ल्याउने भनिएको ‘ब्रोडगेज’ रेलबारेको अनुभव भने नेपालसँग  छैन । त्यसकारण नेपाली जनशक्ति तयार नभएसम्म कम्तीमा एक वर्षसम्मका लागि रेल चालक भारतबाट ल्याइने छ । 

त्यसबाहेक मर्मतका लागि आवश्यक पर्ने प्राविधिकहरू पनि निश्चित समयका लागि भारतबाट ल्याइने कुरा बिबिसि नेपाली सेवाको अनलाइन संस्करणमा उल्लेख छ ।