लोकसंवाद संवाददाता | स्वास्थ्य | भदौ १०, २०७७
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड१९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा रु २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो 'क्रश चेकिङ्गको काम भइरहेको छ । अब हामी परीक्षण गर्न सक्छौँ ।'
अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रयोगशालाको निरीक्षण गरी अनुमति दिन अनुरोध गरिसकेको छ । गौतमका अनुसार मङ्गलबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परीक्षण शुरु हुने भएको हो । सङ्क्रमण बढ्दै गएका कारण पिसिआर परीक्षणबिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगेपछि आफ्नै प्रयोगशालालाई पिसिआर परीक्षण गर्ने गरी व्यवस्थित गरिएको हो ।
आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाइ भइरहेको भन्दै गौतमले भन्नुभयो 'धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो ।' गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परीक्षण प्राथमिकतामा राखिने छ । शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा सञ्चालक समितिले गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ । हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशाला त्यति नै क्षमताको हो । क्यान्सर अस्पतालमा प्रयोगशाला सञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन् । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन् । हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला सञ्चालनमा रहेको छ ।