लोकसंवाद संवाददाता | विदेश | भदौ १०, २०७७
एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ ।
रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरुपमा परिणत गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'उहाँका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल छन् । राष्ट्रपति ट्रम्पका साहसिक प्रयासले विश्वका सबै भागमा प्रभाव पारेका छन् ।'
विदेश मन्त्री पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी नीतिलाई नियन्त्रणमा राख्न राष्ट्रपति ट्रम्पले दबाब सिर्जना गर्नु भएको बताउँदै झण्डै आठ लाख मानिसको मृत्यु हुनेगरी फैलिएको कोरोनाभाइरसका लागि चीनलाई जिम्मेवार ठहर्याउनु भएको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले चीनसँग भएका असन्तुलित व्यापार सम्झौता खारेज गर्नु भएको, विदेशतर्फ स्थानान्तरित भइरहेको रोजगारी अमेरिकामा फिर्ता हुन थालेको तथा अमेरिकाविरोधी गुप्तचर अभियानलाई बन्द गराउन कुटनीतिक पहल गरिएको पनि विदेश मन्त्री पोम्पेओले बताउनुभयो ।
पोम्पेओले उत्तर कोरियाली नेतासँग वार्ताको वातावरण बनाउन राष्ट्रपति ट्रम्प सफल हुनुभएको बताउँदै भन्नुभयो, 'उत्तर कोरियामा पछिल्ला वर्षहरुमा कुनै आणविक परीक्षण भएनन्, लामो दूरीका क्षेप्यास्त्र परीक्षण भएनन् र उत्तर कोरियामा बन्दी जीवन बिताइरहेका अमेरिकीहरु आफ्ना घर फर्किन पाएका छन् ।'
पोम्पेओले राष्ट्रपति ट्रम्पकै कारण तेल अभिभमा रहेको अमेरिकी राजदूतावास मे २०१८ मा जेरुसेलम स्थानान्तरित गरिएको जानकारी दिनुभयो । यहूदी नागरिकका लागि जेरुसेलम वास्तविक राजधानी रहेको पनि उहाँले बताउनुभयो ।
सामान्यतया, अमेरिकी विदेश मन्त्रीले पार्टीको सम्मेलनलाई सम्बोधन नगर्ने विगतको परम्परा तोड्दै विदेश मन्त्री पोम्पेओले राष्ट्रपतिका विदेश नीतिको बचाउ गर्नु भएको थियो ।
रिपब्लीकन पार्टीको गत सोमबारदेखि शुरु भएको सम्मेलनले राष्ट्रपति ट्रम्पलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा मनोनयन गर्दैछ ।