३६ वर्षदेखि भेडा पाल्दै

३६ वर्षदेखि भेडा पाल्दै
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत ११, २०७५

बाग्लुङ । उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्रायः भेडिगोठमै बित्ने गरेको छ । 

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उहाँको पेशा हो । 

गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आउनुभएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक रु ४० हजार आम्दानी गर्नुहुन्छ । 
पहिले ३०÷३५ वटा भेडा पाल्नुभएका उहाँले पछिल्लो समय भेडाको सङ्ख्या घटाउनुभएको छ । भेडाका लागि चरनको अभाव हुँदै गएकाले सङ्ख्या घटाउनुपरेको श्रेष्ठ बताउनुहुन्छ । 

विसं २०२९ देखि निरन्तर भेडा पाल्दै आउनुभएका उहाँ यो पेशाबाट खुसी हुनुहुन्छ । पालिएका भेडा देवी–देवतालाई बली दिन र विभिन्न चाड पर्वमा खानका लागि ग्राहकहरू श्रेष्ठको घरमै किन्न आउने गरेका छन् । 

गाउँछेउमा रहेको जङ्गलमा भेडाका लागि प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उहाँ बताउनुहुन्छ । भेडाको बजार राम्रो रहेकाले मासिक आम्दानी पनि राम्रो हुने गरेको छ । ‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन्,’ श्रेष्ठ भन्नुहुन्छ, ‘एउटै भेडाको दस हजारदेखि १५ हजार रूपैयाँसम्म पर्छ ।’ बागलुङ बजारको विलासी जीवनशैली त्यागेर धम्जा पुग्नुभएका श्रेष्ठ सुरुमा स्थानीय एक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । 

भेडा पालनमा लाग्दा लाग्दै उहाँले त्यहाँ घरबार पनि जोड्नु भएको छ । पछिल्लो समयमा नेपालका अधिकांश गाउँ रित्तिदैछन् । युवायुवतीको मोह गाउँघरप्रति खासै देखिदैन । 

उनीहरूमा पनि सुकिलामुकिला बन्ने सोखमा सहर पस्ने गरे पनि श्रेष्ठ भने आफूलाई काठेखोला–३ धम्जाबाट पुनः बजार फर्केर आउन कहिल्यै मन नलागेको बताउनुहुन्छ । गाउँको हावापानी, घरछेउको भेडीगोडमा हुर्किरहेको भेडाका पाठाले उहाँको मन उतै रोकिरहेको छ । उहाँलाई त्यस्तो मोहनी लगाउने चिज भनेको त्यहाँको स्वस्थ र सफा अनि हरियाली वातावरण पनि हो । 

सुरुमा धम्जा जनता प्राविमा शिक्षण पेशा गर्दा १० रूर्पैयाँ घरभडा तिरेर गाउँको बसाइँ सुरु गर्नुभएका श्रेष्ठको अहिले त्यहाँ सुन्दर घर बनिसकेको छ । 
विसं २०४८ तिर शिक्षण गरेबाफत मासिक १४० रूपैयाँ पारश्रमिकले घर चलाउन कठिन भएकाले शिक्षणसँगै भेडा पाल्न थालेकाले थप खर्चको जोहो हुन्थ्यो, पछि भेडाबाट राम्रो आम्दानी हुन थालेपछि शिक्षण पेशा छोडेर व्यावसायिक रूपले भेडापाल्न थालेको उहाँ बताउनुहुन्छ । 

विदेशमा रहेका छोराले पटक/पटक बजार झर्न आग्रह गरेपनि गाउँको मोहनीले उहाँलाई छोडेको छैन । दिनदिनै आफ्नो माटो विर्सेर विदेशिने युवालाई गाउँमै केही गर्न उहाँ सुझाउनुहुने खबर राससमा  छ ।