लोकसंवाद संवाददाता | समाचार | चैत १२, २०७५
काठमाडौं । नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र (एमओसी)मा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो । सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । योसँगै नेपाल जापानसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर गर्ने दोस्रो मुलुक बनेको छ । जापानले ५ चैतमा पहिलो मुलुकका रूपमा फिलिपिन्ससँग एमओसीमा हस्ताक्षर गरेको थियो ।
१ अप्रिलदेखि कार्यान्वयनमा आउने समझदारीपत्रअनुसार निश्चित सीपयुक्त नेपाली कामदार कोरियाको इपिएस प्रणालीजस्तै सरकारी स्तरबाटै रोजगारीका लागि जापान जान पाउनेछन् । म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने कामदारमाथि चरम ठगी हुन थालेपछि सरकारले जापानसमक्ष सरकारी संयन्त्रबाटै पठाउने अडान राखेको थियो ।
समझदारीपत्र कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधिहरू रहने संयुक्त समितिको व्यवस्था गरिएको छ । सो समितिले निश्चित सीपयुक्त नेपाली कामदारको भर्ना, रोजगारी र स्वदेश फिर्तीलगायतमा अपनाउने विधि तथा प्रक्रियाको टुंगो लगाउनेछ । जापानले आउँदो पाँच वर्ष नेपालसहित विभिन्न ९ वटा मुलुकबाट १४ औद्योगिक क्षेत्रमा करिब ४ लाख विदेशी कामदार भिœयाउने नीति तय गरेको छ । कुन क्षेत्रमा कति संख्यामा नेपाली कामदार लैजाने भन्ने विषय निश्चित हुन बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।