कास्की र पाल्पामा गरी थप २ जना कोरोना संक्रमितको मृत्यु

कास्की र पाल्पामा गरी थप २ जना कोरोना संक्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७७

कास्की र पाल्पामा गरी थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । 

उनी श्वासप्रश्वास समस्या भएर १२ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

ती पुरुषको उपचारका क्रममा गएराति सवा १२ बजे मृत्यु भएको हो । यो सँगै पोखरामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यता पाल्पाकी १ कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छन् । उनको लुम्बिनी मेडिकल कलेजमा शुक्रबार साँझ मृत्यु भएको हो ।

ती महिला ५ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा उपचाररत उनको शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको  हो ।