जनतासमक्ष माफी माग्दै जापानी प्रधानमन्त्री शिन्जो आबेद्वारा राजीनामा

जनतासमक्ष माफी माग्दै जापानी प्रधानमन्त्री शिन्जो आबेद्वारा राजीनामा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ १३, २०७७

जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भनेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । 

आफ्नो पदावधि पूरा गर्न नपाएकोमा उनले जापानी जनतासँग क्षमायाचना गरेका छन् । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित रहेका छन् । पछिल्लो एक सातामा उनी २ पटक अस्पताल गएपछि अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।

सन् २०१२ देखि निरन्तर जापानको प्रधानमन्त्री रहका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् । ‍उनको पदावधि सेप्टेम्बर, २०२१ सम्म थियो ।  सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्रधानमन्त्री पद छाड्नुपरेको थियो ।

उनलाई किशोरावस्थादेखि आन्द्रा सुन्निने रोग छ। एक सातामा दुई पटक अस्पताल गए पनि उनले आफू अस्पताल जानुको कारण बताएका छैनन् । 

यसअघि सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठीक रहेको दाबी गरेका थिए ।