दिपक श्रेष्ठ | साहित्य | भदौ १३, २०७७
मसँग भएका
मेरा केही होइनन्
शब्द मेरो होइन
अर्थ मेरो होइन
सोच मेरो होइन
कर्म मेरो होइन
रूप मेरो होइन
रङ्ग मेरो होइन
हृदय मेरो होइन
चित्त मेरो होइन
मन मेरो होइन
माया मेरो होइन
म बोल्छु लिएर शब्द सापट
तिमी आफ्नै अर्थ लगाइदिन्छौ
म सोच्छु ज्ञानको भण्डार हेर्दै
तिमी गर्छौं आफ्नै हिसाबमा कर्म
म पक्कै पनि देखिन्छु भिन्दै
तिमी खोज्छौ मलाई मेरा जन्मदातामा
म फिंजाउँछु विशाल हृदय
तिमी आफुलाई मात्र समेट भन्छौ
म मन दिन्छु तिमीलाई
तिमी त्यसमा शंका गर्छौ घरिघरि
म मायाले भर्न खोज्छु जिन्दगी
तिमी रित्तो रित्तो भेट्छौ वरिपरि
ढिलै भएपनि
म मा चेतना पलाएको छ
मसँग भएका
मेरा केही होइनन्