तिलक थापा भोजपुरे | साहित्य | भदौ १३, २०७७
कृषकलाई ठूलो सहारा बन्छन् हलका गोरु
यिनैले जोत्छन् जमिन बढी कुरा के गरुँ
जतातिर लगायो हलियाले उतैतिर जान्छन्
जस्तोसुकै हलो लगाए नि तिनैले तान्छन् ।
जमिन चिर्नुपर्ने हलो तानेर पीडा कति पर्छ
झरीबादल कहिले त चर्को घाम झर्छ
पिटाइ खाँदै हलो तान्दै गोरु अघि बढ्छन्
आत्मा प्राणीका एकै तर दुःख कति गर्छन् ।
तान्दा हलो सास फेर्न घाँटी कसिएको हुँदा
देख्ने हेर कसले हो र तिनको आत्मा रुँदा
गर्छ हुकुम ढिलो भो गोरु छिटो कुदा
कस्तो विपत्ति हुँदो हो खुट्टा हिलोले कुहिँदा ।
बेलामा न पाउनु छ घाँस अनि पानी
न त पोख्न सक्छन् पीडा न छ बोल्ने शक्ति नि
दिनरात पिटाइ खाई दास मानिसको बन्दै
आत्मा सबैको एउटै हुन्छ विचार गर मानव भन्दै
बल्लतल्ल साँझ मेला छोडियो बन्धन परे गोठमा
घाँस हैन दाम्लो पो पर्यो कठै सधैँ ती चोटमा ।
अरुण गा.पा.–७, मैदाने, भोजपुर