मास्टर साबको  समताको मिसन : दमाईं विद्यार्थीलाई पानी सार्न लगाई सबैका अगाडि खाने !

मास्टर साबको  समताको मिसन : दमाईं विद्यार्थीलाई पानी सार्न लगाई सबैका अगाडि खाने !

हरिविनोद अधिकारी  |  साहित्य  |  भदौ १३, २०७७

काठमाडौँलाई हामी नेपाल नै भन्थ्यौँ पछिसम्म । त्यसै भनिन्थ्यो गाउँघरमा । अहिले त्यसो भनिँदैन । तर पहिले नेपाल जाने भनिन्थ्यो, नेपालबाट आएको भनिन्थ्यो । मैले २१ वर्षको उमेरसम्म काठमाडौँ देखेको थिइनँ । फोटोहरूमा प्रशस्त देखेको काठमाडौँ हेर्न जाने रहर त धेरै पहिलेदेखि थियो तर त्यो साइत जु¥यो २०३१ सालको चैतको अन्त्यतिर ।
 त्यो बेलामा म सिन्धुलीको परेबाडाँडाको निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएको थिएँ । त्यो विद्यालय प्राथमिक नै थियो, तर नयाँ शिक्षा योजनाअन्तर्गत कक्षा ३ सम्म मात्र प्राथमिक, कक्षा ४ देखि ७ कक्षासम्म निम्न माध्यमिक र कक्षा ८ देखि माध्यमिक विद्यालय भनियो । परेबाडाँडाको त्यो प्राथमिक विद्यालयलाई यथावत् कक्षा राखिएको त्यो स्वतः निम्न माध्यमिक विद्यालय भएको रहेछ । अनि, त्यसैले त्यो कक्षा ५ सम्म चल्ने विद्यालयलाई निम्न माध्यमिक कक्षा सञ्चालनार्थ आईएड या सो सरहको शिक्षक चाहिएकोले म आइ कम उत्तीर्ण गरेको मान्छेलाई नचाहँदा नचाहँदै पनि त्यहाँ पठाइएको रहेछ ।

त्यसको भित्री कारणचाहिँ रातमाटामा रहेको प्रहरी कार्यालयमा परिधिभित्र राख्नु रहेछ । बेला मौकामा प्रहरीहरू आएर गाउँमा चियो गरेको पनि थाहा भयो तर रातमाटामा रहेका प्रहरीहरूले त्यति धेरै वास्ता गरेको जस्तो लागेन त्यसको कारण हुनुपर्छ नेपाली काँग्रेसको सशस्त्र सङ्घर्ष एउटा टिम्मुरबोटेको काण्डपछि सेलाएको थियो । 

त्यसको पनि बेग्लै कथा छ । प्रायशः सबैलाई घर पायकमा नै विद्यालयको शिक्षक बनाएर पठाएको थियो र मेरा गाउँका साथीहरूलाई पनि आफ्नै गाउँमा नियुक्ति दिइएको थियो । हाम्रो गाउँमा पनि त प्राथमिक विद्यालयलाई निम्न माध्यमिक बनाइएको थियो । तर मलाई भने गाउँभन्दा करिब ७ कोस टाढा पुराना झाँगाझोली अन्तर्गतको परेबाडाँडामा पठाइएको थियो । त्यसको एउटै कारण थियो, म पञ्चायतको आँखामा प्रतिबन्धित नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घको सक्रिय कार्यकर्ता हुनु । 

एकातिर भने अर्कोतिर जिल्ला शिक्षा कार्यालयलाई शिक्षकको आवश्यक सङ्ख्यामा विद्यालयहरूमा आपूर्ति जरुरी थियो । त्यही बेलामा अर्थात् २०३१ सालको मङ्सिर महिनामा नेपाली काँग्रेसको सशस्त्र सङ्घर्ष चर्किएको थियो । हामी नेपाली काँग्रेससँग सम्बन्धित भएकाहरूलाई शिक्षकमा भर्ना नलिँदा पनि शिक्षकको सङ्ख्या नपुग्ने, लिँदा पञ्चायतको विरुद्धमा गाउँ गाउँमा प्रचार हुन  सक्ने । 

हामीलाई भने त्यो बेलामा स्पष्ट निर्देशन थियो, सकेसम्म विद्यालयमा शिक्षक भएर जनतालाई सचेत गराउने प्रजातन्त्रका पक्षमा किनभने त्यो बेलामा नेपालभर योग्यता अनुसारको शिक्षक विद्यालयहरूमा पठाउनै पथ्र्यो नत्र सरकारको नयाँ शिक्षा योजना असफल हुन्थ्यो । त्यसले हामीजस्तालाई एकातिर बाँच्ने आधारको तलब प्राप्त हुन्थ्यो भने अर्कोतिर गाउँमा गएर आफ्नो सिद्धान्तको प्रचार गर्न सहज हुन्थ्यो । 

नयाँ शिक्षा योजनाको एउटा विशेषता थियो–योग्यता अनुसारको सेवाको अवसर र पद अनुसारको पारिश्रमिक । नत्र गाउँका शिक्षकहरू सञ्चालक समितिले  प्राप्त आर्थिक सहायताको भाग बन्डामा तलब तोकेका हुन्थे । त्यसपछि आजसम्म सरकारी अनुदान प्राप्त विद्यालयका शिक्षकहरूको पारिश्रमिक कम्तीमा पनि समान तहका सरकारी कर्मचारी सरह छँदैछ । अझ शिक्षकहरूको एउटै  तहमा पनि श्रेणीको व्यवस्था गरिएको छ जस्तो कि प्राथमिक तह तृतीय श्रेणी, द्वितीय श्रेणी तथा प्रथम श्रेणी, त्यस्तै निम्न माध्यमिक तह र माध्यमिक तहमा । अब केही व्यवस्था फरक भएको छ शिक्षामा पनि, सायद समयानुकूल परिवर्तन होला तर खाइपाई आएको तलबमानमा फरक नपारेर, अझ बढाएरै । 

फेरि पुरानै सम्झना, सिन्धुलीको विद्यालयमा शिक्षकको रुपमा भर्ना हुने बेलाको ।  त्यो बेलासम्ममा सिन्धुली उपत्यकामा कम्युनिस्टहरूको जगजगी भइसकेको थियो शिक्षकहरुमार्फत् नै । त्यो बेलाका अवस्था के हुन्थ्यो भने जिल्ला शिक्षा कार्यालय जिल्ला पञ्चायतअन्तर्गत थियो, जिल्ला शिक्षा समितिका अध्यक्ष जिल्ला पञ्चायतको सभापति हुन्थे र जिल्ला पञ्चायतको सभापतिले छानेको मानिस र प्रमुख जिल्ला अधिकारीले तोकेको ठाउँमा शिक्षक पठाइन्थ्यो । जिल्ला शिक्षा समितिमा प्रजिअ उपाध्यक्ष हुन्थे सायद ।त्यो बेलामा सिन्धुलीका प्रजिअ मुकुन्दप्रसाद घिमिरे थिए ।

मलाई डर थियो, कहीँ नागरिकताको प्रमाणपत्र दिन ढिलो गर्ने हुन् कि ? सिफारिस गराउनु पथ्र्यो कुनै सरकारी अधिकृतको या गाउँ पञ्चायतको या जिल्ला पञ्चायतको । अनि म सिफारिस गराउन गएँ पद्मजंग थापाको कार्यालयमा । उहाँ त्यो बेलामा जिल्ला पञ्चायतको सभापति हुनुहुन्थ्यो । उहाँलाई म काका नै भन्थेँ किनभने मेरो साथी नरेन्द्रजंग थापाको उहाँ पिता हुनुहुन्थ्यो । मेरो बाको साथी पनि ।

उहाँ पुरानो राजनीतिक कार्यकर्ता हुनुहुन्थ्यो र हामीलाई थाहा थियो उहाँ प्रजातन्त्रवादी हुनुहुन्थ्यो । त्यो बेलामा पनि प्रत्येक व्यक्तिप्रतिको धारणा भनेको उनीहरूको राजनीतिक धारणाका आधारमा बनाइन्थ्यो । जस्तो कि वासुदेव श्रेष्ठ हुनुहुन्थ्यो कम्युनिस्ट पृष्ठभूमिको तर उहाँलाई उदार मनाको रुपमा लिइन्थ्यो तर पनि उहाँले संरक्षण गर्ने भनेको कम्युनिस्टहरूलाई नै । उहाँ राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्म हुनुभयो र पछि बहुदलीय व्यवस्थामा कमलामाई नगरपालिकाको मेयर ।

म बस्ने घर शङ्कर दाहाल दाइको थियो, उहाँहरूलाई दिउँसै कसैले त्यो कुरा भनेका रहेछन् तिम्रो घरमा बस्ने मास्टरले त दमाईंको हातले छोएको पानी खाए । मैले बेलुका सविस्तार सबै कुरा भनेँ र कसैले पनि कसैलाई अछुत भन्न पनि पाइँदैन, झन् विद्यालयमा त कुने विभेद पनि गर्न पाइँदैन । हामीले सिकाउने भनेको नै समानताको कुरा हो भनेपछि उहाँले केही पनि भएको छैन भाइ, सबै ठिकै छ भन्नुभयो । 

 

पद्मजंग काकाले मलाई बिस्तारै भन्नुभयो—तिम्रो विरुद्धमा प्रजिअलाई कुरा लगाइएको छ, शिक्षक नबनाउन भनेर । म तिम्रो नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गर्दछु , तिमी तुरुन्त प्रजिअको कार्यालयमा जाऊ र अहिले नै मलाई यो प्रमाणपत्र चाहियो भन्नू अनि मेरो कोठामा आएर बस्नू । नभन्दै मैले आवेदन दिएँ र मेरोलागि यो प्रमाणपत्र तत्काल चाहिने कुराको जानकारी गराएँ । हामी सिन्धुलीका त्यस्ता युवा थियौँ जसलाई त्यो बेलामा बेवास्ता गर्न पनि प्रशासनलाई मुस्किल थियो किनभने म सिन्धुलीकै कमला हाइस्कुलमा पढेको विद्यार्थी थिएँ, नेपाल विद्यार्थी सङ्घको हर्ताकर्ता कार्यकर्ता  थिएँ । सिन्धुलीमा नचिनेका कोही  पनि थिएनन् भने पनि हुन्थ्यो । शिक्षक हुन नेपालको नागरिकताको प्रमाणपत्र जरुरी थियो आवेदन दिन पनि ।

नयाँ शिक्षा योजनाअन्तर्गत सिन्धुलीका विद्यालयहरूमा योग्यता पुगेका शिक्षकहरूको आपूर्ति गर्नु जरुरी थियो सरकारलाई । जनकपुरको रामस्वरुप राम सागर महाविद्यालयका हामी दुई जना साथीहरू नयन ध्वज गिरी र मलाई डर थियो कि हामीलाई शिक्षक बनाउँदैनन् । तर काकाले सायद अडान लिनुभयो र हामीसहित अरूको पनि नियुक्ति १५ दिन ढिलो गरी दिइयो । त्यो बेलामा मेरो तलब २९२ रुपैयाँ थियो सायद । त्यो बेलामा सुब्बाको तलब त्यही थियो होला । प्रधानाध्यापकको भत्ता ५० रुपियाँ थियो । 
हाम्रो तलब सिन्धुलीमा रहेको विद्यालयको खाता हुन्थ्यो र प्रत्येक महिना विद्यालय सुपरिवेक्षकको सिफारिस लिएर तलब माग गरिन्थ्यो । त्यो बेलामा हाम्रो तिरका निरीक्षक यमुना यादव हुनुहुन्थ्यो । कुशेश्वर विद्यापीठमा प्रधानाध्यापक विद्यानाथ कोइराला हुनुहुन्थ्यो भने प्रगतिशील मावि रातमाटामा गोपाल अधिकारी तालिममा जानु भएकाले प्रेमनाथ दाहाल कार्यवाहक हुनुहुन्थ्यो प्रधानाध्यापकमा । 

त्यही विद्यालयको शिक्षकको रुपमा, नयाँ शिक्षा योजना अनुसारको नाम र विद्यालयको छाप बनाउन म पहिलो पटक काठमाडौँ सानीमा बीना कोइरालासँग आएको हुँ २०३१ सालको अन्तमा । धर्मपथमा रहेको आरती साप्ताहिकको कार्यालयमा जुन नगर पञ्चायतको सामुन्ने थियो, त्यहाँ बनाएँ विद्यालयको प्याड, छापसहित । त्यो बेलामा साना बा सानीमाको डेरा बानेश्वर हाइटको भवेन्द्र खड्काको घरमा थियो । वास्तवमा मलाई विद्यालयमा लामो समयसम्म बस्न मन नै थिएन, एउटा बाध्यताले शिक्षक बनेको थिएँ तर पहिलोपटक पढाउन थालेकोमा पछुतो भने पटक्कै थिएन । त्यो विद्यालय अहिले माध्यमिक बनेको छ र म घरतिर जाँदा रातमाटातिरबाट अहिले पनि नयाँ भवन देखिन्छ । त्यो निम्न माध्यमिक विद्यालयको जग मैले नै प्रधानाध्यापकको रुपमा राखेको थिएँ । म हाजिर हुन आउँदा भोला ढुंगाना विद्यालयको अध्यक्ष हुनुहुन्थ्यो भने मैले राजीनामा दिने बेलामा समाजसेवी गुणराज दाहाल विद्यालयको अध्यक्ष हुनुहुन्थ्यो ।

विद्यालयको नयाँ व्यवस्था र खाता खोल्ने झमेलामा ढुंगानाजीले धेरै सहयोग गर्नु भएको  थियो । विद्यालय बनाउला लागि आवश्यक पर्ने जग्गा मेरो नातामा बुढा मावली पर्ने बद्रि दाहालले दिनु भएको थियो । मैले २०३२ सालको दसैँको तलब खाएर राजीनामा दिएँ तर मलाई तत्कालीन अध्यक्ष गुणराजजीले बरु सहयोग गरौँला जे गर्नुपर्ने हो, तर राजीनामा नदिनुस् भन्नु भएको  थियो । तर काठमाडौँ पढ्न जाने रहरले मैले राजीनामा दिएँ । यसरी मेरो शिक्षण पेसाको सुरुवातचाहिँ २०३१ सालको पुस महिनादेखि नै मान्नुपर्ने हुन्छ किनभने त्यसपछि मैले सानोठिमीबाट व्यावसायिक लेखा विषयमा स्नातक तह उत्तीर्ण गरेँ । थोरै समय सानोठिमी क्याम्पसमा तर स्थायीरुपमा माध्यमिक शिक्षक भएर ३५ वर्ष अनवरत पढाएँ । 

स्नातक तहमा लेखा मूल विषय र सहायक विषयमा सचिवालय विज्ञान लिएको थिएँ । वास्तवमा म सचिवालय विज्ञान पढ्न भनेर भर्ना भएको थिएँ सानोठिमी क्याम्पसमा । वास्तवमा मैले लेखा विषयलाई लिने विचार नगरेर सचिवालय विज्ञानमा भर्ना भएको थिएँ तर यदि लेखा मूल विषय लिएमा ४ सेमेस्टरमा कोर्स समाप्त हुने भयो, नत्र ६ सेमेस्टर लाग्ने भयो किनभने हामी माघे सेमेस्टरमा भर्ना भएका थियौँ । मैले साउनमा भर्ना हुन भनेर शंकरदेव क्याम्पसको जनप्रशासन विभागमा भर्ना हुन प्रवेश परीक्षा दिएको थिएँ । तर प्रवेश परीक्षामा म असफल भएँ किनभने त्यहाँ राजनीति शास्त्रको एक पेपर थियो जसमा मेरो आवश्यक नम्बर आएनछ । त्यो कुरा पछि थाहा भयो, विपिन सानाबासमेतले तत्कालीन उप कुलपति सूर्यबहादुर शाक्यलाई भन्दा पनि मेरो भर्ना भएन । मलाई एकातिर दिक्क लाग्यो किनभने चाहेर पनि पढ्न पाइन । म लेखाबाट भाग्न चाहेको थिएँ , तर नियतिले त्यही लेखामा पढ्न र पढाउन लेखेको रहेछ । भागेको लेखा विषय नै  ३५ वर्ष भन्दा बढी पढाएर  त्यसैमा पेन्सन पकाउने अनि जीवन बाँच्ने आधार बनेको छ । 

काठमाडौँ आएपछि राष्ट्रपुकारको सम्पर्कमा आएँ अर्थात् होमनाथ दाहाल दाइको सम्पर्कमा आएँ । २०३४ सालदेखि त्यही पत्रिकामा स्वयंसेवी पत्रकार भएर करिब २० वर्षसम्म लेखेँ । कहिले सम्पादकीय लेखेँ, कहिले लेख लेखेँ, कहिले कविता लेखेँ अनि धेरैजसो समाचार लेखेँ । अनि विज्ञापनका लागि आउने अङ्ग्रेजी सामग्रीलाई नेपालीमा अनुवाद गरेर पनि प्रकाशित गरियो । खासगरी  प्रोब्लम अव कम्युनिजमका लेखहरूलाई भावार्थमा अनुवाद गरेर प्रकाशित गरिन्थ्यो । मेरो त्यो हिसाबले त शिक्षण पेसा भन्दा पहिले पत्रकारिता सुरु गरेको हुँ तर मलाई पत्रकारिता र शिक्षणसँगै लिएर हिँडेर होला, म आफूलाई पत्रकारभन्दा शिक्षकको रुपमा नै धेरै सम्झन्छु र पनि पत्रकारिता मेरो पेसा भन्दा पनि सोख भएको छ । नलेखी चित्त नबुझ्ने, लेख्यो कसैलाई वास्ता नहुने । त्यो क्रम यथावत् छ । अहिले पनि हप्तामा दुई तीन ओटा लेख लेखेकै हुन्छु, अनलाइन या पत्रिकामा छापिएकै हुन्छ । यसैमा चित्त बुझाएको छु । 

काठमाडौँ पहिलो पटक आउँदा कल्पना गरिएको भन्दा धेरै फरक पाएँ । फोटोमा त काठमाडौँ धेरै देखिएको हो, पशुपति नाथको मन्दिर पनि देखिएको हो, सिंहदरबारको फोटो पनि देखिएकै हो तर वास्तवमा काठमाडौँ सोचेको भन्दा एकदम फरक पाएँ । झन् नयाँ सडकको त कुनै कुरो भएन । गुरुले जहिले पनि भूगोल पार्क, नयाँ सडकको पिपलको बोट भनेर भन्नुहुन्थ्यो, पहिलो पटक देखियो । यसरी काठमाडौँ टेकियो, त्यसपछि त मलाई कहिले विद्यालयबाट राजीनामा दिएर हिँडूँ जस्तो लागेको थियो काठमाडौँमा आएर पढ्नका लागि । नभन्दै पढियो यहाँ आएर काठमाडौँमा । पछि पढाउँदै स्नातकोत्तर तहको परीक्षा पनि पूरा गरेँ तर शोधपत्र लेखेर बुझाउन खोइ किन हो ढिलो भयो तर बुझाएँ भन्नुपर्‍यो । 

त्यसो त निम्न माध्यमिक विद्यालयमा शिक्षक हुँदा नै सर्त गरिएको थियो, कम्तीमा पनि ५वर्षमा तालिम लिनेछु भनेर । अर्थात् सरकारले नै तालिम दिने व्यवस्था गर्ने थियो त्यो बेलाको  नीतिमा । एक दिन के भयो भने विद्यालयमा एउटा दमाईं विद्यार्थीले पानी राखेको घैँटोबाट सारेर पानी खाएछ । मलाई भन्न त आएको थियो,  मास्टर साब ! मलाई पानी दिनुस् । मैले सारेर खान भनेँ, ऊ सरासरी गएर सारेछ र खान थालेछ । एउटै थियो घैँटो अनि एउटै थियो पानी खाने भाँडो । उसले पानी के सारेर खायो, त्यहाँ हल्ला खल्ला ठुलै भयो । के भएछ भनेर कक्षाबाट हेरेको त दमाईंको छोरालाई सबै भएर गाली गर्दा रहेछन् । अनि लछार पछार गरुँला जस्तो गरेर सबै आइलागेको देखेँ । अनि म गएँ र सोधेँ, कुरो बुझेँ अनि उसैलाई सार्न लगाएर मैले पानी खाएँ । तर त्यहाँ आउने गाउँले, विद्यार्थी तथा मेरा शिक्षक साथीहरूले समेत त्यसलाई मन नपराएको पाएँ । अनि अर्को घैँटो पनि राख्न लगाएँ । जसलाई जुन भाँडोबाट खान मन छ, त्यही भाँडोबाट खान पाउने व्यवस्था गरेँ । पछि सम्झाउँदा सबै विद्यार्थीहरूले त्यो दमाईं विद्यार्थीसँग एउटै भाँडोबाट पानी खान थालेको देखेपछि मलाई खुसी लाग्यो । 

म बस्ने घर शङ्कर दाहाल दाइको थियो, उहाँहरूलाई दिउँसै कसैले त्यो कुरा भनेका रहेछन् तिम्रो घरमा बस्ने मास्टरले त दमाईंको हातले छोएको पानी खाए । मैले बेलुका सविस्तार सबै कुरा भनेँ र कसैले पनि कसैलाई अछुत भन्न पनि पाइँदैन, झन् विद्यालयमा त कुने विभेद पनि गर्न पाइँदैन । हामीले सिकाउने भनेको नै समानताको कुरा हो भनेपछि उहाँले केही पनि भएको छैन भाइ, सबै ठिकै छ भन्नुभयो । 

अहिले पनि मलाई लाग्छ, त्यो दिनको घटनाले मलाई नयाँ ज्ञान दियो । हामीले चाहेमा विद्यालयमार्फत समानता र  समताको मिसन पूरा गर्न सक्छौँ । आज पनि म त्यो मिसनमा छु र सामाजिक न्यायको यो बाटोमा सबैले लाग्नु जरुरी छ भन्ने ठान्छु । 

सायद, प्रजातन्त्रको यही एउटा विशेषता पनि हो । प्रजातन्त्र भनेको नेपाली काँग्रेस भन्ने नै रह्यो । आज पनि त्यो यथावत् नै छ । नेपालको राजनीतिमा एउटा पर्यायवाची शब्द प्रचलित छ-नेपाली काँग्रेस र प्रजातन्त्र । वास्तवमा नेपाली काँग्रेस नै प्रजातन्त्र होइन । यसो भन्नु पनि हुँदैन । यो कुरा आफैँमा ठिक होइन तर नेपालको राजनीतिक इतिहासले के देखायो भने प्रजातन्त्रको एउटा सिद्धान्तलाई मूर्तरूप दिनका लागि नेपाली काँग्रेस आफ्नो जन्मको समयदेखि नै सङ्घर्षरत छ । आज पनि प्रजातन्त्रका लागि प्रतिबद्ध भएको पाइन्छ । 

यसको पछिल्लो उदाहरण राजा ज्ञानेन्द्रको सक्रिय राज्य सञ्चालनको बेलामा नेपाली काँग्रेसले आफ्नो एक सूत्रीय माग राखेको थियो-यो राजाको सक्रिय शासन गैर संवैधानिक छ, तत्काल विघटित प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्छ र नेपालको राजनीतिको नेतृत्व संसदमार्फत् हुनुपर्छ । नभन्दै त्यही भयो र २०६३ साल वैशाख ११ गते संसद् पुनर्स्थापित भयो र त्यही सांसदले जेठ ४ गते नै दूरगामी  निर्णय गरेको थियो, आजको राजनीतिको मियो त्यहीँ छ । अहिले त्यो बेलाको राजनीतिको धेरै विश्लेषण किन पनि जरुरी छैन भने जस जसले गल्ती गरे, तिनीहरूले या त गल्ती सच्चाएर राजनीतिको मूलधारमा आए, या त असह्य गल्ती गर्नेहरू इतिहासबाट नै बिदा भए । 

चाहे २००७ सालको प्रजातन्त्र स्थापनामा सशस्त्र क्रान्ति गरेर भए पनि राणा शासनको अन्त्य गरेकोमा होस्, या २०१७ सालको प्रजातन्त्रको हत्यापछि अनवरत प्रजातन्त्रका पक्षमा सङ्घर्ष गरेर प्रजातन्त्र पुनर्स्थापनाका लागि मुख्य नेतृत्व गरेर होस् या राजाको सक्रिय शासनका विरुद्ध अनवरत आन्दोलन गरेर लोकतन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेर होस्, नेपाली काँग्रेसले प्रजातन्त्रको बिगुल फुकिरहेकोले नै आज पनि त्यो दलको नाम प्रजातन्त्रको पर्यायको रुपमा नेपालमा छँदैछ । 

त्यसो त नेपालको इतिहासमा राणाविरुद्ध प्रजातन्त्रको बिगुल फुक्नका लागि प्रजापरिषदको गठन पनि भयो, त्यो दलले प्रजातन्त्र स्थापनामा लागि नेपाली जनतालाई सचेत गरायो र उपत्यकाभित्र शान्तिपूर्ण सङ्घर्षको थालनी पनि गर्‍यो । अनि महान् शहीदहरूले त्यही पार्टीको नेतृत्वमा सहादत पनि दिनुभयो तर त्यो संस्था जनताका लागि चलायमान हुन सकेन । श्रद्धेय टङ्कप्रसाद आचार्यको देनलाई नेपाली इतिहासले भुल्नै सक्दैन जसरी कि महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गङ्गालाललाई कृतज्ञ नेपालीले बिर्सने कुरै आउँदैन । त्यसपछिका प्रत्येक प्रजातान्त्रिक आन्दोलनका अमर सहिदहरूलाई कृतज्ञ नेपालीले बिर्सने कुरै आउँदैन । प्रजातन्त्रका विरुद्ध भनेर गठित संस्थाहरूलाई पनि नेपाली काँग्रेसले प्रजातन्त्रप्रति समर्थन गर्ने बनायो । राजतन्त्रलाई परिवर्तन गर्न सकेन, त्यो राजतन्त्र आफैँ प्रजातन्त्रसँग पराजित भयो र नेपाली जनताको नासो नेपाली जनतामा नै फर्कियो नेपाल राष्ट्र । गणतन्त्र नेपालका बारेमा अहिल्यै मूल्याङ्कन गर्ने बेला भएको छैन । यदि प्रजातन्त्र र गणतन्त्रलाई बाँदरको हातको नरिवल बनाए भने समयले नै ती अपराधीहरूलाई दण्ड दिनेछ तर आजसम्मको सबैभन्दा जनताको शासन प्रजातन्त्रको भने नेपालबाट अन्त्य हुनेछैन । समयले निर्धारण गर्नेछ । आजका युवाहरू प्रजातन्त्रका पक्षमा पक्कै छन्, प्रजातन्त्रका गुणहरूका बारेमा सुनिश्चित छन् तर ती सबै नेपाली काँग्रेस नहुन सक्छन् किनभने प्रजातन्त्र सबैको सिद्धान्त हुनुपर्छ ।  

प्रसङ्गमा नेपाली काँग्रेस आएकोले यी कुराहरू लेखेको हुँ । बिपीको त्यो निडरपन र प्रजातन्त्रको सिद्धान्तप्रतिको अडानले नै आजसम्म नेपाली काँग्रेस भनेका प्रजातन्त्र र प्रजातन्त्र भनेको नेपाली काँग्रेस बनेको हो । हामी या म पनि युवा वयमा प्रजातन्त्रवादी हुनुमा सिद्धान्तप्रतिको निष्ठाले हो जसले एउटा अमूर्त शासन प्रणालीप्रति निष्ठावान् हुनका लागि प्रेरित गरेको थियो । त्यही प्रजातन्त्रप्रतिको  यथार्थ भावले नै आजको संसारमा धेरै राज्यहरू प्रजातन्त्रप्रति आस्थावान् भएका छन्  र प्रजातन्त्रलाई नै आधारभूत राज्य प्रणाली मानेका छन् ।
 क्रमशः