पुरिएको कुवा डेढ महिनापछि सञ्चालनमा

पुरिएको कुवा डेढ महिनापछि सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १४, २०७७

तनहुँ । तनहुँको व्यासनगरपालिका–१ धुपखोलामा बाढीले पुरिएको खानेपानीको कुवा करिब डेढ महिनापछि शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । गत असार अन्तिम साता परेको अविरल वर्षापछि खोलामा आएको बाढीले खानेपानीको कुवा ढुङ्गा र माटोले पुरिएको थियो ।
 
उक्त कुवाको पानी चिसो र मिठो रहेकाले विशेषगरी सुक्खा महिनामा सदरमुकाम दमौलीबाट समेत मानिस पानी लिन आउने गरेको स्थानीय भरत अधिकारीले बताउनुभयो । पहिला–पहिला यस कुवाको पानी नै वडावासीले प्रयोग गर्दै आएको र अहिले घरघरमा पानीको धारा जडान भएपछि कहिलेकाहीँ मात्रै पानी लिन आउन थालेको उहाँले जानकारी दिनुभयो ।
 
वनमा जाने, भदु्रडाँडा जाने र बटुवाले समेत उक्त पानी पिउने गर्ने भएकाले यसको संरक्षणमा स्थानीयवासीले जोड दिँदै आएका छन् । कुनै कारणवश खानेपानीको पाइपमा समस्या आएर धारामा पानी आएन भने त्यही कुवाको पानी प्रयोग गर्ने गरिएको अर्का स्थानीय नवीन अधिकारीले बताउनुभयो । खोलामा आएको बाढीले कुवा पुरेपछि वडाध्यक्ष खरसिं दरैलाई भनेर तत्कालै डोजरको सहायताले कुवामा बाढी नपस्ने गराए पनि कुवा पुरिएको केही भाग सरसफाइ गर्न बाँकी रहेकाले स्थानीयवासी कुवा संरक्षणमा लागेका हुन् ।
 
यस वडाका चारकुने र रत्यौली टोलका बासिन्दाको सक्रिय सहभागितामा बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो हटाउने र सरसफाइ गर्ने कार्य गरिएको चारकुने टोल विकास संस्थाका कोषाध्यक्ष चन्द्रकला मिश्रले बताउनुभयो । वडाभित्र रहेका पाटीपौवा, कुवा धारालगायतका सम्पत्तिको संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने हुँदा आफूले पनि यस कार्यमा सहभागिता जनाएर काम गरेको रत्यौली टोलका राजेश न्यौपानेले बताउनुभयो ।
 
बर्सात रोकिएपछि पुरिएको कुवा मर्मतसम्भार गर्ने योजना रहे पनि वडामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मर्मत रोकिएको चारकुने टोल विकास संस्थाका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र जिसीले जानकारी दिनुभयो । स्थानीयवासीले कुवा मर्मतमा चासो देखाए पनि वडा नजिकै एकै घरका पाँच जनामा कोरोना पुष्टि भएसँगै व्यास नगरपालिकाले लकडाउन गरेपछि उक्त कार्य रोकिएको हो । उहाँले भन्नुभयो, 'लकडाउन खुलेसँगै मर्मत तथा सरसफाइ कार्य गरियो ।'