कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १२, २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका सबै निकायलाई नियन्त्रणको रणनीतिमा रहेको ठहर गरेको हो।

सेना परिचालनदेखिका सबै अधिकार प्रधानमन्त्रीले आफू मातहतमा ल्याउन सक्रिय रहेको निष्कर्षसहित कांग्रेसले सरकारका गलत क्रियाकलापविरुद्ध जनमत निर्माणमा जुट्न सांसदहरूलाई निर्देशन दिएको छ। ‘सरकार एकपछि अर्को गर्दै असंवैधानिक कदम उठाइरहेको छ,’ सांसद् प्रकाश रसाइलीले भने, ‘सरकारका गलत क्रियाकलाप जनतामाझ लैजाने र त्यसकाविरुद्ध जनमत निर्माणमा लाग्छौं।’

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषद्को बैठक राखेर संवैधानिक आयोगका अध्यक्षहरूको नियुक्ति गरेर संवैधानिक व्यवस्थालाई नै सरकारले चुनौती दिएको ठहर पनि कांग्रेसले गरेको छ। ‘सरकार स्वेच्छाचारी बाटोमा हिँडेको छ,’ रसाइलीले भने, ‘सरकारका गलत निर्णयलाई रोक्न आगामी दिनमा संसद् र सडकमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने छौं।’ आजको नागरिक दैनिकमा खबर छ ।