गण्डीखोलामा पुल बनेपछि स्थानीयवासीलाई सहज

गण्डीखोलामा पुल बनेपछि स्थानीयवासीलाई सहज

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १४, २०७७

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेको टिमुरदहस्थित गण्डीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ । पुल निर्माण भएसँगै स्थानीयवासीमा खुशीयालीसमेत छाएको छ ।

विगतका वर्षमा पुल नभएका कारण बर्सातको समयमा खोलाबाट आवतजावत गर्नुपर्ने भएका कारण कतिपय स्थानीयवासीको खोलाले बगाएर ज्यानसमेत जाने गरेको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र पूर्वीचौकी गाउँपालिकाको  ४६ लाख ८२ हजारमा उक्त पुल निर्माण भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा कार्यरत रहेको केदार ग्रामीण समाज नेपालको प्राविधिक सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको हो ।
 
वर्षाैँदेखि पुल नहुँदा गण्डीखोला आवतजावत गर्न समस्या भोग्दै आएका त्यहाँका नागरिक अहिले पुल बनेपछि आवतजावत गर्नमा निकै सहज भएको भन्दै खुशी भएका पुल निर्माण उभोक्ता समितिका अध्यक्ष नन्दसिंह महराले बताउनुभयो । उहाँले भन्नुभयो, 'खोलामा पुल नहुँदा निकै समस्या हुँदै आएको थियो, अहिले पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ, सबै खुशी भएका छन् ।' 

उक्त खोलामा पुल नहुँदा स्थानीयवासी दैनिक आवतजावत गर्न ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने वाध्यता हटेको स्थानीयवासी दिनेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, 'पुल नहुँदा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य थियौँ, अहिले पुल बनेको छ, कसैले अकालमै ज्यान गुमाउनुपर्ने छैन, हामी सबैलाई सहज भएको ।' उक्त पुलको लम्बाइ ९३ मिटर रहेको छ । नेपाल सरकारको तुइनमुक्त गर्ने अभियानअन्तर्गत सो खोलामा झोलुङ्गे पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।