लोकसंवाद संवाददाता | विदेश | भदौ १५, २०७७
भारतमा २४ घन्टामा विश्वकै सबैभन्दा उच्च कोरोना संक्रमण देखिएको छ । भारतले अमेरिकालाई समेत एकै दिन संक्रमित हुने संख्यामा पछि पारेको हो ।
विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन् । यसअघि १७ जुलाईमा अमेरिकामा ७८ हजार २९९ जना सङ्क्रमित भेटिएका थिए । त्यो एकै दिन विश्वकै उच्च दैनिक सङ्क्रमण थियो ।
भारतमा कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा ठूलो क्षति पुगेपछि पछिल्ला केही महिनायता क्रमशः प्रतिबन्धहरु खुकुलो पार्दै लगिएको छ ।
प्रतिबन्ध खुकुलो पारिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा उच्च वृद्धिदर देखिएको छ ।
आइतवारमात्रै विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघेको छ भने कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४३ हजार पुगेको छ।
जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख सङ्क्रमितहरूसहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रुपमा रहेको छ ।