लोकसंवाद संवाददाता | विदेश | भदौ १६, २०७७
भारतका प्रभावशाली र विपक्षीले समेत सजिलै आलोचना गर्न नसक्ने छवि बनाएका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उत्तिकै ख्याती कमाएका नेता भएका कारण उनको निधनमा विश्वभरबाट दुःख व्यक्त भएको छ ।
उनलाई अगस्टको सुरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ८४ वर्षीय मुखर्जी विभिन्न रोगबाट ग्रसित थिए भने कोरोना संक्रमण पुष्टि भएकै दुई दिनमा उनको शल्यक्रिया गरिएको थियो । मस्तिष्कको शल्यक्रियापछि उनी बेहोस अवस्थामा अस्पचारमा उपचार गराइरहेका थिए ।
भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उपचार सफल नभएको उनका छोराले जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर यसअघि पनि विभिन्न समाचार सार्वजनिक भएपछि उनले परिवारजन र अस्पतालले पटक पटक उनी जिवित रहेको र उपचार जारी रहेको स्पष्टीकरण दिएका थिए ।
उनी भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भएपनि तीन पटक प्रधानमन्त्री बन्ने करिब निश्चित रहेको अवस्थामा उनले त्यो अवसर पाएनन् । सन १९८४, १९९१ र सन् २००४ मा उनी प्रधानमन्त्रीका लागि सशक्त दाबेदार थिए । भारतीय कांग्रेस पार्टीकी तत्कालीन अध्यक्ष इन्दिरा गान्धीको सबैभन्दा प्रिय र निकट व्यक्ति भएका उनले गान्धी परिवारबाटै सधैं शंका र षडयन्त्रको सिकार हुनुपरेको थियो ।
१९८४ मा लोकसभा निर्वाचनमा कांग्रेसले ४१४ सिट जित्दा उनी नै प्रधानमन्त्रीको पहिलो दाबेदार जस्ता थिए । तर त्यसबेला प्रणवले सरकार र पार्टीमा कुनै जिम्मेवारी पाएनन् ।
उनले पछि लेखेका थिए, ‘मलाई मन्त्रिपरिषदमा स्थान दिइएन भन्ने थाहा पाउँदा अचम्म लाग्यो । तर मैले आफूलाई सम्हाले र टेलिभिजनमा शपथ ग्रहण समारोह हेरेँ ।’ त्यो अपमानबाट विक्षिप्त बनेका प्रणवले सन् १९८६ राष्ट्रिय समाजवादी कांग्रेस (आरएससी) नामको पार्टी गठन गरे । त्यसको ३ वर्षपछि राजीव गान्धीसँग उनको सम्झौता भयो र आरएससी कांग्रेसमा बिलय भयो ।
प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरेपनि उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता कता अन्याय अनुभव गरेको बताएकी थिइन् ।
उनी सन् २०१२ मा भारतको राष्ट्रपति बने । उनलाई राष्ट्रपतिको कार्यकाल समाप्तिपछि भारत रत्नबाट सम्मानित गरिएको थियो । सन् १९३५ को डिसेम्बरमा पश्चिम बंगालको मिराटी गाउँमा सामान्य परिवारमा जन्मिएका मुखर्जी युवा अवस्था देखि नै राजनीतिमा सम्लग्न भए । मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए ।
सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका उनले पार्टीबाट ६ वर्ष निलम्बन समेत भोग्नु परेको थियो ।
उनले भारतमा अर्थमन्त्री, रक्षामन्त्री र विदेशमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे । भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो ।
उनले भारतका धेरै जिम्मेवारीमा रहेर काम गरेपनि स्वभावित दाबेदार हुनुका बाबजुद प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएन । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका धनी उनी भारतको राजनीतिमा संकटमोचकका रुपमा परिचित थिए ।