उपत्यकामा थप एक साता निषेधाज्ञा, यस्ता सेवा हुनेछन् सुचारु

उपत्यकामा थप एक साता निषेधाज्ञा, यस्ता सेवा हुनेछन् सुचारु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७७

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञाको अवधि थपिएको छ । 

गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले केही सेवालाई सहजीकरण गर्दै एक साता अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधाज्ञा जारी गरिएको हो । यसअघि ३ भदौको राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । 

सो आदेश १० भदौको राति १२ बजे सकिएपछि बुधबार राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो । 

सो अवधि सकिएपछि केही सेवा सञ्चालन गर्न पाउने गरी पुनः एक साता निषेधाज्ञा लम्ब्याइएको हो । अब २४ भदौंको राति १२ बजेसम्म निषेधाज्ञा कायम रहछनेछ । 

केके सञ्चालन गर्न पाइन्छ

तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय २४ घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम गरिएको छ । 

अन्य खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुका व्यवसाय भने बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि व्यवसाय बिहान सवा ९ बजेसम्म मात्रै सञ्चालन हुँदै आएको थियो ।

तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । 

पीसीआर नेगेटिभ भएका व्यक्तिबाट टेक–अवे सेवा तथा सरकारले तोकेको मापदण्ड प्रयोग गरी अनलाइन सेवासमेत सञ्चालन गर्न पाइने भएको छ । होमडिलिभरी सेवा भने मापदण्ड जारी भएपछि मात्रै सञ्चालन गर्न पाइने छ । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ । 

कामदार र कर्मचारीलाई आयोजनास्थलकै क्वारेन्टाइनमा रहने गरी राष्ट्रिय प्राथमिकतामा परेका आयोजना सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । 

यस्तै मापदण्डअनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टाइन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न पाउने छन् । 

अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको भने पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने जनाइएको छ । स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नाउञ्जेल क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

यस्तै अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछन् । उद्योगले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र छुट्टै क्वारेन्टाइनको व्यवस्था गनुपर्नेछ । 

बैंकलगायत अन्य संस्थाले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा सञ्चालनको व्यवस्था गर्नुपर्ने छ ।