पाँच अन्तरराष्ट्रिय उडानबाट फर्किए ३४८ जना नेपाली

पाँच अन्तरराष्ट्रिय उडानबाट फर्किए ३४८ जना नेपाली

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३ सय ४८ जना नेपाल फर्किएका छन् ।

नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २ सय १५ जना नेपाली काठमाडौँ ल्याएको छ । 

निगमले नियमित उडानअन्तर्गत आज काठमाडौं–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज बुधबार साँझमात्रै काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । 

आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौँ ल्याएको छ । कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ ।

कतार एयरवेजले दोहाबाट ९ हजार ३४२ कार्गो नेपाल ल्याएको छ । बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।

यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौँ गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ ।