ढोरपाटन पहिरोमा परी ४ जनाको मृत्यु, बेपत्ता १३ को परिचय खुल्यो

ढोरपाटन पहिरोमा परी ४ जनाको मृत्यु, बेपत्ता १३ को परिचय खुल्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १८, २०७७

बागलुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । 

ढोरपाटन नगरपालिका–८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना बेपत्ता भएका थिए । 

उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । 

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको छोरा नाम नखुलेको ६ वर्षीया बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । 

पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०÷३२ वर्षका पुरुषको शव फेला परेको छ । 

ढोरपाटन–५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा पुरूषको शव भेटिएको हो । त्यस्तै  बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०–२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२–१३ का पुरूषको शव फेला परेको छ । 

शवको सनाखत हुन सकेको छैन । प्रहरी घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल जाँदैछ ।