बुटवल र चितवनमा एक एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल र चितवनमा एक एक जना कोरोना संक्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १८, २०७७

बुटवल र चितवनमा थप एक एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । 

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देही सैनामैना–११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी महिलामा साँझ नै कोरोना संक्रमण देखिएको थियो । 

कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसीयू बेड खाली नभएकाले विरामीलाई फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गरिएको छ । 

उता चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो । उनलाई उपचार गर्न ५ भदौंमा चितवन मेडिकल कलेज लगिएको थियो । उनको १० भदौमा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।