ज्ञानमित्र | साहित्य | भदौ १९, २०७७
धेरै भारतीयले भन्ने गरेको पाइन्छ, भारतको सबैभन्दा राम्रो शहर चण्डीगढ़ हो। निकै पटक चण्डीगढ़ पुगेको छु, चण्डीगढ़का विभिन्न ठाउँमा कैयन रात गुजारेको छु । जीवनमा पहिलो पटक भिक्षाटन गरेर भोजन जुटाएको छु यस शहरमा । हो, यो शहर प्लानिङ गरेर बसाइएको शहर हो । तर के कुनै स्थान आधुनिक पाराले विभिन्न डिजाइन गरेर बनाइदैमा जीवन्त हुन सक्छ ? चण्डीगढसँग सबै कुरा भए पनि आफ्नो कुनै संस्कृति छैन, तुलना नै गर्नु पर्यो भने बंगलौर र पुणे चण्डीगढ भन्दा धेरै समृद्ध शहर हुन् । कोलकाता, चेन्नई, मुम्बई र दिल्लीलाई म आफ्नो रूचि अन्तर्गतका शहरमै गन्दिन। भारतका यी चारवटै शहर मानिस बस्ने लायक ठाउँ नै होइनन्।
मेरा लागि भारतमा लखनऊ जतिको मोहक अर्को कुनै शहर छैन । यस पछि ,इन्दौर ,पुणे, भोपाल, बंगलौरलाई लिन सकिन्छ । ठूला शहरको प्रसंगमा मैले साना शहरलाई समावेश गरेको छैन । साना शहरको गणना गर्ने हो भने लखनऊभन्दा पनि धेरै समृद्ध ठाउँ छन भारतमा । मेरो दृष्टिमा यस पंक्तिमा अनेकौ नाम छन्। वाराणसी, श्रीनगर, अल्मोड़ा, कुल्लु /मनाली, मैसूर, उज्जैन,गोवा ,पान्डिचेरी, ऋषिकेश, जोशीमठ, लेह /लद्दाख, केलांग, वृन्दावन, दार्जिलिंङ, भुवनेश्वर आदि भारतका मनमोहक ठाउँ हुन् ।
लखनऊसँग आत्मीयता हुनुको कारण बाल्यकालको धेरै समय यहाँ बितेकोले पनि हो । हुन त जीवनको यस दोसाँधमा आएर सोच्छु के म अब लखनऊमा आफ्नो सम्पूर्ण जीवन व्यतीत गर्न सक्छु ! जबाफ सकारात्मक पाउँदिन। यस पंक्तिमा बरु कौशानी आउँछ, वाराणसी आउँछ, ऋषिकेश, उज्जैन, सारनाथ, बोधगया,पोखरा आऊँछन् । तर लखनऊ आउँदैन । शायद ! जीवनका प्राथमिकता बदलिएका छन् , रूचि फेरिएका छन् , दृष्टिकोण 'अपग्रेड' भएको छ।
केही दिन पहिला एकजना 'फेसबुक यूजर'को पोस्ट पढ़े। एउटा रमणीय स्थलको फोटो हालेर उनले लेखेका थिए -यस ठाउँमा घर भए यहाँ नै आफ्नो सम्पूर्ण जीवन व्यतीत गर्ने थिए ! म चिन्तनमा डूबे, यो वक्तव्य कतिको यथार्थ हो, के कुनै पनि मानिस आफुले कल्पना गरेको स्वर्गमा पनि हलचल नगरी बस्न सक्छ ?
यस्तो हुनु भनेको मस्तिष्कको मृत्यु हुनु सरह हो। मस्तिष्क सबै कुरा स्वीकार गर्नसक्छ तर जिउँदो रहँदै आफ्नो मृत्यु स्वीकार गर्दैन।
हिन्दू अवधारणामा शरीर पञ्च तत्वको 'मेनीफेस्टेसन' हो- क्षिति, जल,पावक,गगन ,समीरा अर्थात पृथ्वी ,पानी ,आगो आकाश र वायु तत्वबाट शरीर बनेको हो । मस्तिष्कलाई वायु तत्वसँग सम्बधित मानिन्छ अर्थात सबैभन्दा चन्चल- अस्थिर । ध्यान गर्दा तर्जनी (चोर औला) र अंगुष्ठ (बूढ़ी औला ) लाई संयुक्त गरेर जुन मुद्रा ( दुबै औलाको अग्रभाग जोडेर गरिने ध्यान मुद्रा ) बनाइन्छ त्यसमा ठूलो रहस्य लुकेको छ। यस मुद्राले मस्तिष्क (मन ) लाइ स्थिर गराउँछ।
मुद्रा रहस्य अथवा मुद्रा विज्ञान हिन्दूहरुको अत्यन्त उच्च खोज हो जसलाई आधुनिक विज्ञानले बुझ्न अझै सय दुइ सय वर्ष पर्खिनु पर्ने हुन्छ।
हातका ५ वटा औलालाई पञ्च तत्व मध्ये १-१ तत्वको प्रतीक मानिन्छ। तर्जनी वायु तत्वको प्रतीक हो, अर्थात मन -मस्तिष्कलाई प्रतिनिधित्व गर्छ। के तपाईलाई लाग्दैन ५ वटै औला मध्ये सबैभन्दा 'एक्टिभ' अथवा चन्चल तर्जनी - चोर औला नै हुन्छ।
कारण यो सबैभन्दा चन्चल तत्व वायु ,सबैभन्दा चन्चल अंग मस्तिष्कको प्रतिनिधित्व गर्छ । तर्जनी र अंगुष्ठको युतिले बन्ने ध्यान अथवा ज्ञान मुद्राले मनको चन्चलतालाई स्थिरतातिर डोर्याउँछ। बूढ़ी औला पृथ्वी तत्वको प्रतीक हो। कतिपय मानिसले मुद्रा अभ्यास त गर्ने गरेको पाइन्छ तर यसको कार्यप्रणालीबारे ज्ञान नभएको पाइन्छ। मुद्रा रहस्य अन्तर्गत एक तत्वले अर्को तत्वको समायोजन गर्न सकिन्छ। जस्तो कि वायु तत्व अर्थात मनलाई स्थिर गराउने चेष्टामा पृथ्वी तत्व (बूढ़ी औला) ले वायु तत्व (मन) लाई 'ब्यालेन्स' गरिन्छ।
ध्यान मुद्रा गर्दा बूढ़ी औलाको अग्रभागले तर्जनीको अग्रभागमा मधुर दबाब दिएको हुनुपर्छ। पृथ्वी तत्वले वायुतत्वलाई 'डोमिनेट' गरी मनलाई स्थिरतातिर डोर्याउँछ।
यसै मुद्रा प्रयोगलाई शरीरको आलस्य/ जडता मेटाउन पनि गर्न सकिन्छ । यसका लागि तर्जनी औलाको अग्रभागले बूढ़ी औलाको अग्रभागमा मधुरतापूर्वक दबाब दिनुपर्छ । यसो गर्दा वायु तत्वले पृथ्वी तत्वलाई आफ्नो गुणानुसार सक्रिय बनाउँछ।
आयुर्वेद चिकित्सा पद्धतिमा त्रिदोष-कफ, वात पित्तको समायोजन गरेर शरीरलाई स्वस्थ राख्ने प्रयास गरिन्छ। पित्त अग्नि तत्व, वात वायु तत्व र कफ जल तत्वलाई प्रतिनिधित्व गर्छन् ।
हातको बूढ़ी औला (thumb) पृथ्वी तत्व, तर्जनी (index finger) वायु तत्व, मध्यमा (middle finger) आकाश तत्व, अनामिका (ring finger) अग्नि तत्व र कान्छी औलो ( little finger) जल तत्व को प्रतीक हो। यी पाँचैवटा औलाले बन्ने विभिन्न मुद्राले शरीरको त्रिदोषलाई शमन गर्न सकिन्छ। मैले आजसम्म कुनै पनि आयुर्वेदाचार्यलाई मुद्रा रहस्यको प्रयोग आफ्ना रोगीलाई भन्ने गरेको पाएको छैन। उनलाई ज्ञान नभएर हो कि उनीहरुको औषधिमै बढी विश्वास भएर हो, यसबारे मलाई केही थाहा छैन।
मुद्रा रहस्यबारे विस्तृतमा छुट्टै चर्चा गरौला ,अहिलेलाई यति नै।
चर्चा थियो के मानिस जीवन भरी एउटै ठाउँमा बसेर जीवन बिताऊँन सक्छ ?
शिरडी साईं बाबा, रमन महर्षि, नयाँ साईं बाबा, लगायतका केही उदहारण हेर्ने हो भने यिनीहरुले एउटै स्थानमा जीवन बिताएको देखिन्छ ।
मनको यात्रा जारी रहेसम्म एउटै स्थानमा जीवन बिताऊँन सम्भव छैन । तर के साधारण मानिस कुनै एक ठाउँमा जीवन पर्यन्त अडेर बस्न सक्छ ? मन स्थिर नभए सम्म यो सम्भव छैन।
माओवादी हिंसाकालमा नेपालीले जति दुःख पाए, त्यसको हिसाब गरी साध्य छैन। आज तिनै 'हिंसा मच्चाउने'हरु सत्ताको शीर्षमा बिराजमान भएर देश र जनतालाई निरन्तर अधोगतिमा लै जान दिलो ज्यानले लागि परेका छन्। कहिले काहिँ सोच्छु- ०४६ सालमा नेपालमा परिवर्तन नआएको भए देश र जनता कुन हालमा हुन्थे ! यो त निश्चित छ वर्तमान भन्दा राम्रै अवस्थामा हुन्थे। नेपालको दुर्भाग्य नै तथाकथित प्रजातन्त्र हुदै गणतन्त्रसम्म आउनु हो।
स्वर्ग नै उपलब्ध भए पनि मनको स्वभाव शेष छ भने केही दिनमै स्वर्ग पनि 'मोनोटोनस' हुन पुग्छ। श्रीनगरको सम्झना आउँछ । श्रीनगर जसलाई पृथ्वीको स्वर्ग नै भनिन्छ । त्यहाँको एउटा सम्पन्न मुस्लिम परिवारमा पाहुना भएर पुगेको थिए। परिवारमा चारजना छोरीहरु थिए। गफ गर्दै उनीहरुसँग उनीहरुको भावी जीवनको 'प्लानिंग' बारे सोधे। जेठी छोरी अमेरिका गएर बस्न चाहन्थिन, अर्की मुंबईमा 'बिजनेस वुमेन' भएर बस्न चाहन्थिन। अन्य २ जना पनि श्रीनगरबाट निस्केर कुनै महानगरमा 'शिफ्ट' हुने सपना उन्दै थिए। म झसँग भए, केही समय पहिलासम्म मेरो कल्पना थियो, 'डल लेक' मा आफ्नो एउटा 'हाउसबोट' भए म सम्पूर्ण जीवन नै श्रीनगरमा बिताई दिन्छु। तर ३ वटा हाउसबोट, आफ्नै गलैचा कारखाना, लाल चौकमा विशाल शोरूम, आफ्नै केशर र स्याऊको बागान लगायत सबै प्रकारले समृद्ध जीवन बाची रहेका काश्मीरी बालाहरु येन केन प्रकारेण पृथ्वीको स्वर्गबाट उम्किने दाऊ पर्खी रहेका थिए ।
कुल्लुबाट बस यात्रा शुरू भएको झन्डै ३३-३४ घण्टा बितीसकेको थियो। लखनऊँमा बस धेरै बेर रोक्यो। बसले छिट्टै सुनौली बोर्डरसम्म पुर्याई दिए । साँझसम्म काठमाडौँ पुग्न सकिन्थ्यो भन्ने मेरो चाहना माथि विस्तारै तुषारापात भईरहेको थियो । एक डेढ़ घण्टाको विश्राम पछि बसले गति लियो । ९ बजेसम्म पनि यसले बोर्डर पुर्याई दिए भैरहवाबाट काठमाडौँको दिवा बस भेटिने आशा अझै जिवन्त थियो। गोरखपुरसम्म बसले द्रुत गतिले यात्रा गर्यौ । तर गोरखपुर पछि बसले लोकल यात्री ओसार्न थाल्यौ। ५-५ रुपैयाँ भाडाका यात्री पनि बोक्न थाल्यौ बसले परिणाममस्वरुप बोर्डरसम्म आउँदा बिहानको साढ़े दस नै भयो ।
माओवादी हिंसाको समय थियो । देशभरी रात्रि दस बजे पछि कर्फ्यू लाग्ने बेला थियो। एउटा बस ड्राइभरले सात बजेसम्म काठमाडौँ पुग्ने भनी प्रलोभन दियो। तर आखिर बस ड्राइभरको कुरा न थियो। कर्फ्यूको समय हुँदा बस मुगलिन पनि पुग्न पाएन, मुगलिन वरैको चिया पसलमा बस रोकियो। भोलीपल्ट कर्फ्यू खुलेपछि मात्रै बस गुड़्यो। माओवादी हिंसाकालमा नेपालीले जति दुःख पाए, त्यसको हिसाब गरी साध्य छैन। आज तिनै 'हिंसा मच्चाउने'हरु सत्ताको शीर्षमा बिराजमान भएर देश र जनतालाई निरन्तर अधोगतिमा लै जान दिलो ज्यानले लागि परेका छन्। कहिले काहिँ सोच्छु- ०४६ सालमा नेपालमा परिवर्तन नआएको भए देश र जनता कुन हालमा हुन्थे ! यो त निश्चित छ वर्तमान भन्दा राम्रै अवस्थामा हुन्थे। नेपालको दुर्भाग्य नै तथाकथित प्रजातन्त्र हुदै गणतन्त्रसम्म आउनु हो।
अन्ततः कुल्लु छाडेको ६६-६७ घण्टाको बस यात्रा पछि म काठमाडौँ आई पुगे। मान भारतीलाई पशुपतिनाथमा छाडी म झन्डै ४ महिनाको भारत प्रवास पछि बानेश्वर स्थित साथी रामसुन्दरको घरमा रहेको डेरामा पुगे।
हालीनालाई आफु मान भारती सहित काठमाडौँ आई पुगेको जानकारी फोन मार्फ़त दिए । आफु घर आई पुगेको र मान भारती पशुपतिमा रहेको जानकारी गराए । उनले ४ बजेतिर पशुपतिमा भेट्ने भनिन् ।
हालीना पशुपतिमा मान भारतीलाई हेरेर अति खुशी भइन। ग्रेगोर पर्सीको 'फ्लाईट' बाट नेपाल आउँदै थिए । ग्रेगोर आएपछि हाम्रो मुक्तिनाथ जाने कार्यक्रम रहेको थियो।
पशुपतिबाट हालीनालाई बौद्ध स्थित सेचेन मोनास्ट्रीको गेस्ट हाउस जान टैक्सी गराएर म सांझ घर फर्किए। भोली पल्ट मैले हालीनालाई ठमेलमा बोलाए। म मान भारतीलाई लिएर ठमेल पुगे । मान भारतीका लागि मुक्तिनाथ यात्रामा जाने केही किनमेल गरी दिनुका साथै मैले यात्रा विषयक जानकारी पनि लिनु थियो ।
यो पनि
दक्षिणकाली मन्दिरमा 'फायर' पूजा अर्थात् होम अनुष्ठानको खेल
मुक्तिनाथ जस्तै त्रिलोकनाथ जहाँ शिव र बुद्ध एउटै मन्दिरमा विराजमान छन्
न कमला न कामास्वामी न वासुदेव , कलियुगको सिद्धार्थलाई सोझै नारायणदर्शन !
हर्मन हेस लिखित कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा