करुणा राई | साहित्य | भदौ १९, २०७७
हिँड्दा...हिँड्दा...हिँड्दा
थाकेर टक्क अडिएको छ
समय मेरो गाउँमा,
गाउँमा गाउँहरू
तङ्गरिन नपाएको यो बेला
एउटा कुनामा बसेर म
रमिते भएको छु,
पुजारीले भनेको मान्ने चलन छ
गाउँमा नत्र अनर्थ हुन्छ
त्यसैले म चुपचाप छु ।
गाउँमा गाउँ थुनिएको छ
बग्दै गरेको खोला रोकिएको छ
रूखमा चराहरू अल्झिएका छन्
गन्तव्य भुलेर विचल्ली भएका छन् बाटाहरू
पखेटा भाँचिएर कुरुप भएको छ हावा
आफ्नो खुशीले श्वास फेर्न नपाएर
निसासिएको छ मान्छे ।
धुप अक्षता उठाउन हुँदैन
देवीथान छिर्न मिल्दै मिल्दैन
यो बेला देवीथानतिर फर्केर
हेर्याे भने मात्र पनि गाउँ बिपत्तिमा पर्छ
यो आदेश मूल पुजारीको हो
मेरो गाउँमा पुजारीको हुकुम चल्छ ।
छिमेकी गाउँबाट
आवा आइरहन्छ बारम्बार
भन्छ– देवीथान पसेर
मेरो नाममा धुप बालिदेऊ, बल मागिदेऊ ।
मैले मेरो गाउँको लागि
कुनै देवीदेवता पुकार्न नसकेको यो बेला
नरिसाऊ मेरो छिमेकी गाउँ
यतिबेला तिम्रो निम्ति
देवीदेवता सम्झँदै बल माग्न सकिनँ
मलाई माफ गर
मेरो गाउँ सुतकमा छ ।
धरान, सुनसरी