रूपक अलङ्कार | साहित्य | भदौ २०, २०७७
बाबाजी र हलुवाको निकट सम्बन्ध थियो । समय समयमा प्रसंग निकाली निकाली उनी हलुवाको कुरा गर्थे । हुन त हलुवाबाहेक अरू पक्वान्नमा पनि बाबाजीको रुचि नभएको होइन । 'संन्यासी मरगया खा खा के' भन्ने त उनको थेगो नै थियो । जुनसुकै खाने कुराको प्रसंग आए पनि सुहार्दताका साथ त्यसकै सत्संगमा लागिहाल्नु उनको विशेषता नै थियो । बाबाजीका हरेक कुरा ब्रह्मवाक्य लाग्ने भक्तहरू पनि प्रसन्न मुद्रामा ध्यानस्थ भएर उनको मुखारविन्दबाट भोजन महात्म्य श्रवण गर्न पाउनुलाई आफ्नो पूर्वजन्मको प्रताप नै ठान्दथे । त्यसमा पनि हलुवाको कुरा निस्किहाल्यो भने बाबाजीको हलुवा वेदको व्याख्या लम्वायमान भइहाल्थ्यो ।
'मैले एक बारमा पाँचसय आद्मीको लागि हलुवा बनाएको छु ।हलुवामा घ्यु, चिनी र पिठो बरोबर डाल्नुपर्छ । काजु किसमिस बिना त हलुवा हुनै सक्दैन । ढिँडो बन्छ ।' हलुवाको कुरा आएपछि बाबाजी यस्ता सूत्र र व्याख्या दोहोर्याइरहन्थे ।
भक्तजनलाई बाबाको कुरा पवित्र लागे तापनि सँगै बस्ने चेला चपेटाका लागि भने यो नीरस गीत भएको थियो । बाबाजीले धक्कु लाउने मात्र हुन् यिनलाई पकाउन आउन्न भन्ने अवस्थामा चेला पुगिसकेका थिए । आजसम्म बाबाजीले पकाएको हलुवा उनीहरूले खाएका थिएनन् पनि ।
बाबाजीले हर्षोल्लासका साथ आफैँले हलुवा पकाउने उद्घोष गरे । उनको उद्घोषणले भक्तजनहरूमथि असीम आनन्द वर्षा भयो । बाबाजीको करारविन्दबाट निर्मित प्रसाद रूपी हलुवा मुखमा पर्ने कुरालाई उनीहरूले आफ्नो भाग्योदय सम्झे । चेला चपेटाहरू पनि विस्मयसागरमा नडुबी रहन सकेनन् । यत्रा बर्षको संगतमा बाबा भोजनागारमा पसेर डाडु पन्यु समातेको उनीहरूलाई थाहा थिएन । बाबा भोजनको दोषकलामा निपुण थिए तर उनको पाककलासित कोही पनि परिचित थिएन ।
भोजनपश्चात हलुवाका विषयमा समीक्षा बैठक भयो । हलुवा कुनै दैवी तत्त्व थिएन । न त यसले दशरथका रानीहरूलाई जसरी कसैलाई गर्भाधान गराउन सक्थ्यो । न त यो हलुवा खाएर कुनै धुन्धुकारी या गोकर्ण जन्मिने योग थियो । हलुवाको स्वाद सामान्यभन्दा पनि सामान्य थियो । बाबाजीको भयावह उपस्थिति पाकशालामा नभएको भए शिष्यहरूले नै कयौं गुना मिठो हलुवा बनाउँथे ।
साच्चै भन्ने हो भने उनीसित कोही पनि परिचित थिएन । बाबा आफ्ना तमाम परिचयसित संन्यस्त थिए । उनले सत्यका विषयमा जति प्रवचन गरे तापनि आफ्नो विषयमा कहिल्यै सत्य बोलेनन् । प्रत्येक दिन नयाँ सत्य बोले । त्यसकारण बाबाका बारेमा अनेकौँ किंवदन्ती चलनचल्तीमा थिए । बाबाको बहुरूपलाई अनुयायीले स्वीकृत गरेका थिए ।
कोही भन्थे 'बाबा सुदुर पहडी जिल्लाको कुनै दरिद्र बाहुन परिवारमा जन्मे । मातापिता घरसहित पहिरोमा लतारिएर गए । एक्लिएको बच्चो लाखौँ हन्डर ठक्कर खाँदै ब्रह्मरूप भए ।'
पिठ्युँ पछाडि नारी निमठ्नेहरू भन्ने गर्थे 'सत्रै वर्षको उमेरमा बाबाको अन्तस्करणमा यौवनको अग्नि भर्भराएर आयो त्यो अग्निमा उनले आफ्नै नसनाताकी तेह्र वर्षकी बालिकालाई होमिदिए । तर त्यसको धुवाँ उनकै टाउकामा मडराउन थाल्यो । उनलाई चारपाटे मुडियो । कालो मोसो दलियो । जुत्ताको माला लगाइयो । दोबाटोमा उभ्याएर चप्पलले गालामा हानियो । पुलिसले पाता कसेर लगेको भिमे खत्रीका बारेमा कसैलाई केही थाहा छैन ।'
यसो भन्नेहरू पनि थिए 'बाबा बालककालदेखि नै अत्यन्त मिहिनेती थिए । उनी कहिल्यै दोस्रा भएनन् । पढाइ सकेर प्रशस्त आय आर्जन गर्न थाल्दा पनि उनको हृदय उज्यालो भएन । विषय वासनामा उनको मन पटक्कै लाग्न मानेन । उनमा सहज वैराग्य प्रादुर्भाव भयो । उनले आफ्ना भए भरका प्रमाणपत्रहरू सोपान खोलामा निर्ममताका साथ बगाए । सम्पत्तिप्रति लेस पनि वास्ता नदेखाएर उनी तीर्थाटनमा निस्किए । आज बाबा जे छन् त्यो जगजाहेर छ ।'
बाबाजीका सबै किंवदन्ती बयान गरिसाध्य छैन । हालसाल बाबा देश, काल र उपाधिले शून्य थिए । उनको निर्विकार र झलझलाकार व्यक्तित्व भक्तजनको मानसपटलमा प्रतिपदाको चन्द्रमासमान देदीप्यमान थियो । उनी दयासागर थिए । कृपा सिन्धु थिए । उनको धीर गम्भीर व्यक्तित्वको चौतारीमा नेता, मन्त्री, व्यापारी, न्यायाधीश, सेना प्रहरीका हाकिम (सुरमुनिदेखि भुसुनासम्म) निर्भय घुमिरहन्थे । आफ्नो सफलताको निर्विकल्प सूत्र बाबाजीको आशिर्वाद नै हो भन्नेमा उनीहरू ढुक्क थिए ।
बाबा समतावादी भएकाले जगतका यावत जीवहरूमाथि उनको समान स्नेह थियो । उनी जातभात, ऊँचनीच, छोइछिटोजस्ता कुराका सख्त बिरोधी थिए । बाबाको यस्तो आचरणबाट त्रस्त मानिसहरू भने उनको जातमाथि सन्देहग्रस्त नै थिए 'पक्कै पनि बाबा कुनै दमित जातिमा पैदा भएका हुन् त्यसैले उनी जातभातमा सम्मै छन् ।'
सोच्नेले यस्तो सोचे पनि बाबामा जातको अहंकार तिरोहित भएको थियो । यतिबेला बाबा परब्रह्मस्वरूप समदर्शी थिए । अज्ञानको अन्धकारमा रुमल्लिएका दुस्खीहरूलाई मोहनिर्मुक्त पार्नु बाबाको लक्ष्य थियो । बाबाको सपनालाई साकार पार्न उनका भक्तहरूले आफ्नो सम्पत्तिको सत्रन्जा ओच्छ्याएर सहयोग गरेका थिए । ब्रह्मज्ञान वितरण गर्नका लागि बाबासित विशाल आश्रम थियो । गाडी थियो । सभाहल थियो । चेलाचपेटा थिए । उच्च पदस्थ महानुभावहरूको साथ थियो ।
यस्ता करुणावतार बाबाजीले आफ्नै हातले हलुवा पकाएर ख्वाउने कुरा उद्घोष गर्दा भक्तजनको हृदयमा खुसीको सागर उर्लिनु स्वाभाविक थियो । धेरै भक्तजनले प्रसाद ग्रहणका लागि आश्रममा आउने कुरा फोनबाट जानकारी गराएका थिए भने बाबाले अतिविशिष्ट भक्तहरूलाई आफैँले दूरभाषा गरेका थिए । जम्माजम्मी डेढसय मान्छे प्रसाद ग्रहणका लागि आउने निश्चित भयो । आश्रमका पचास जना रैथाने पनि जोड्दा दुई सय मुखका लागि हलुवा पाक्ने भयो ।
हलुवा मात्र त के खानु छ र ? मटर पनिरको रसात्मक तरकारी, परवर र आलु फ्राई, गोलभेँडाको अचार बासमती चामलको पुलाउ, काउलीको तरकारी, पुरी पहिले नै पाके । ब्रह्ममुहूर्तबाट नै खटिएका आश्रम निवासी शिष्यगणले दत्तचित्त भएर व्यंजन तयार पारे । सारा परिकारको समवेत सुगन्धमामा आश्रमको वातावरण मगमगायो । प्रतीक्षा बाबाजीले बनाउने हलुवाको मात्र थियो ।
नौ बजेतिर आफ्नो नित्यकर्मबाट निवृत्त भएर बाबाजीले पाकशालामा प्रवेश गरे । उनको मुखबाट निस्केको आदेश भुइँमा खस्न नपाउँदै परिपालन गर्नका लागि चार जना सेवक पनि उनको पछिपछि उपस्थित भए । भट्टी चुलाको अगाडि आरामदायी कुर्सी राखियो । उनको निजी सेवकले कुर्सीमा मृगचर्म ओछ्याइदिएपछि त्यसमा बाबाजी आरामसित विराजमान भए । एउटा सेवकले चुलामा अग्नि प्रज्वलित गरिदियो । अर्कोले चुलामा बडेमानको कालो कराही बसाल्यो । अर्को चुलो बालेर पानी तताउन आदेश गरे बाबाजीले । काजु, बदाम लगायतका मसला थालमा भरिएर बाबाको वरिपरि सजिए ।
सेवकले शुद्ध गाईको घिउ कराहीमा खन्याउँदै बाबाजीको हुकुम पर्खियो । बाबाजीले रोकिन इसारा गरे । दुइटा ग्यास चुलाको हुरुरु संगीतले पाकशाला गुन्जायमान भयो । घिउको बासना बढ्दै गयो । उपस्थितहरू पनि उल्लासको उत्कर्षतिर बढ्न थाले । एउटा निकटको शिष्य ब्रान्डेड क्यामरा बोकेर वृत्तचित्र खिच्नका लागि अघि सरेको थियो तर बाबाजीले फोटो खिच्नका लगि मात्र अनुमति प्रदान गरे । हलुवा पाचन प्रकिया सन्तोषका साथ अघि बढ्यो ।
शिष्यले सावधानीका साथ तातेको घिउमा सुजीको पिठो खन्यायो । बाबाजीले रोकिन इसारा गरे । दुई जनाले दाबिलो समातेर होसियरीका साथ हलुवा हुँडल्न थाले । हलुवाको राग पाकशालामा व्याप्त हुनथाल्यो । बाबाजी प्रसन्न मुद्रामा सहभागी भइरहे । सेवकहरूले पसिनामा डुबेर हलुवा हल्लाइरहे । पिठो रातो रातो भएपछि मसला हाल्ने आदेश आयो बाबाजीबाट । पालैसित मसलाको थाल रित्यायो सेवकले । चिनी पनि बाबाजीकै आदेशमुताबिक हालियो ।
तातेको पानी आफैँले हाल्ने उत्साह बाबाजीबाट प्रकट भएलगत्तै तेस्रो शिष्यले जगमा तातो पानी टक्र्यायो । बाबाजीले अडेस लगाएको कुर्सीबाट अलिकति पनि हलचल नगरी हलुवामा पानी खन्याए । पानीले किन बाबाजीको आदेश मान्थ्यो र ? उछिट्टियो । हलुवा चलाइरहेका शिष्यहरूका हात र खुट्टा एकैसाथ पोल्यो । दुवै शिष्य एकैसाथ चिच्याए ।
'कुनै काम ढंगले गर्दैनौ तिमीहरूझ बाबाजीको अनुहार हलुवाभन्दा रातो भयो । बाबाजीले सबै पानी खन्याउन फर्मान जारी गरे। पोलेको ठाउँमा फोका उठिसक्दा पनि चेलाहरूले हलुवा चलाउन भने छाडेनन् ।
धेरै नै जलेको भए नुन लगाउनु भनेर बाबाजीले पाकशालाबाट बहिर्गमन गरे । पोलेको घाउमा नुन छरेर बाबाजी निस्किसकेपछि पनि हलुवा हुँडल्ने कामले भने नैरन्तर्य पाइनै रह्यो ।
साँढे दस बजे भोजनको पंगत लाग्यो । मर्यादानुकुल भोजनासनमा सारा विराजित भए । श्लोक उच्चारण हुन थाले । भक्तजनले बाबाजीका चरणकमलमा खाम अर्पण गरे । पत्तलमा क्रमैसित भोजनका किसिम आए । बसिसकेका बाबाजी जुरुक्क उठे । शिष्यले हलुवाको भाँडो उचाल्यो । बाबाजी हलुवा बाँड्दै अघि बढे । बाबाजीको करकमलबाट हलुवा पाएका भक्तजनको अन्तर्मन आनन्दले लवालव भयो । धेरैले आफू चिनी रोगी भएको पनि बिर्से । सबैलाई प्रसाद बाँडेर बाबाजीले आफ्नो आसन ग्रहण गरेपछि एउटा सेवक उच्चैस्स्वरेण करायो- 'हरिहर' ।
भोजनपश्चात हलुवाका विषयमा समीक्षा बैठक भयो । हलुवा कुनै दैवी तत्त्व थिएन । न त यसले दशरथका रानीहरूलाई जसरी कसैलाई गर्भाधान गराउन सक्थ्यो । न त यो हलुवा खाएर कुनै धुन्धुकारी या गोकर्ण जन्मिने योग थियो । हलुवाको स्वाद सामान्यभन्दा पनि सामान्य थियो । बाबाजीको भयावह उपस्थिति पाकशालामा नभएको भए शिष्यहरूले नै कयौं गुना मिठो हलुवा बनाउँथे ।
तर भक्तजनले हलुवालाई हलुवा मात्र सम्झेनन् त्यसलाई परमेश्वरको असीम अनुकम्पा ठाने । साक्षात भगवत्प्रसादका रूपमा ग्रहण गरे । सुख ऐश्वर्यले तत्क्षण परिपूर्ण भएको भाव उनीहरूको अन्तस्करणमा उदय भयो । हलुवा अत्यन्त स्वादु भएको र बेलाबेलामा बाबाजीबाट यस्तो अनुकम्पा भइरहनु पर्ने उत्कट अभिलाषा प्रकट गरे ।
बाबाजीबाट उनीहरूको प्रस्ताव सहर्ष स्वीकृत भयो ।
पर बसेर पोलेको ठाउँमा फुकिरहेका शिष्यहरूले भने 'अब अर्कोचोटि कसको हातखुट्टा पोलिने हो ?'