प्रजातान्त्रिक आचरण, संस्कृति र सत्ताबाट बाहिर नजाने षडयन्त्र : हिट्लर पथको नियति !

फर्कलान् र ती दिनहरू

प्रजातान्त्रिक आचरण, संस्कृति र सत्ताबाट बाहिर नजाने षडयन्त्र :  हिट्लर पथको  नियति !

हरिविनोद अधिकारी  |  साहित्य  |  भदौ २०, २०७७

रामस्वरुप राम सागर डिग्री कलेज, जनकपुर । आरआर कलेज छोटकरीमा । डिग्री यस कारणले कि त्यहाँ बिएसम्मको कक्षा हुन्थ्यो । आईए, बिए र आइ कमसम्मको पढाइ हुन्थ्यो २०२७ सालमा । केही समय पहिले त्यहाँ दुई वटा घटना भएका रहेछन् म आइकममा भर्ना हुँदाको बेला अर्थात् २०२७ असारमा । एउटा घटना विद्यार्थीहरूमा जातीय विभाजनले केही झडपसमेत भएको अनि राजा महेन्द्रको सालिकमा कालो मोसो पोतिएको । हुनचाहिँ विद्यार्थीहरूको विवादले उग्ररुप लिएकोले केही पहाडिया अनि केही मधेसी विद्यार्थीहरूलाई समेत कलेजबाट निष्कासन गरिएको रहेछ । अनि त्यो समस्याको समाधानका लागि प्रिन्सिपलमा रामचन्द्रबहादुर सिंह आउनु भएको रहेछ । पछि हाम्रो प्रिन्सिपल सर त्रिभुवन विश्व विद्यालयमा सायद रजिस्ट्रार हुनुभयो, अञ्चलाधीश हुनुभयो र थाइल्यान्डका लागि नेपाली राजदूत पनि हुनुभयो । उहाँको बारेमा हाम्रो टिप्पणी थियो–कडा पनि दयालु पनि । प्रशासकका रुपमा कडा, शिक्षकका रुपमा अति मायालु । उहाँको विषय इतिहास थियो क्यारे तर उहाँले कक्षा लिनु भएको देखिएन । उहाँको क्षमता कस्तो थियो भने उहाँ प्राचार्य हुँदासम्म कलेज परिसरमा कुनै पनि बेला प्रहरी प्रवेश गर्नु दिनु भएन । परीक्षामा समेत उहाँले प्रहरी बोलाउनु भएन । 

कमला हाइस्कुल, सिन्धुलीबाट उत्तीर्ण हुनेमा म र नयन ध्वज गिरी आइकममा भर्ना हुन पुगेका थियौँ । सामान्यतया पहाडबाट पढ्न जानेहरू नेपाल अर्थात् काठमाडौँमा जान्थे सक्नेहरू । नसक्नेहरू पढ्न छोडेर बस्नुपर्ने बाध्यता थियो किनभने काठमाडौँ यसै पनि महँगो थियो । अहिले जस्तो कक्षा १२ र स्नातकतहका लागि प्रशस्त कलेजहरू थिएनन् गाउँ ठाउँमा या सदर मुकाममा पनि । कोही गाउँका या परिवारका मानिसहरू नजिकको सहरमा भए मात्र पढ्न आउने हो । 

तर सिन्धुलीको दक्षिणी भेगबाट भने पढ्न जाँदा रहेछन् जनकपुरमा । सिन्धुलीकै अधिकारी परिवारको ब्रह्मपुरमा घर नै रहेछ । ब्रह्मपुरमा वकिल विष्णुप्रसाद उपाध्यायको घरले पनि रामेछाप, सिन्धुलीका कतिपय मानिसहरूलाई पढ्नका लागि अभिभावकत्व दिएको थियो । ब्रह्मपुरीमै साहित्यकार लीलासिंह कर्मा बस्नुहुन्थ्यो उपाध्यायजीकै बगलमा । सरोजप्रसाद कोइरालाजीको घर पनि त्यहीँ थियो बाटा वारिपारि । पछि पूर्व राष्ट्रपति डाक्टर राम वरण यादव र डाक्टर ध्रुव शर्मा ढकालहरू चिकित्सक भएर आउनु भयो तर हामी पढ्दा उहाँहरू बाहिर भारतमा पढ्दै हुनुहुन्थ्यो । त्यहाँको सुहृदय पुस्तकालय कांग्रेसीहरुको पढ्ने र खेलकुद र राजनीतिक शिक्षा अध्ययनको लागि अखाडाको रुपमा नै थियो । अनि मेरो पनि कुलनाथ जिबाको घर त्यहीँ अधिकारी निवासको नजिकै थियो । 

भर्खरै नेपाल विद्यार्थी सङ्घको स्थापना भएको थियो । त्यसभन्दा पहिले प्रजातन्त्रवादी र प्रगतिशील पक्ष भनेर निर्वाचन लड्ने चलन रहेछ । पछि हामीले नेविसंघ भन्न थालेपछि प्रगतिशील पक्षले अनेरास्ववियु अर्थात् अखिल भनेर आफ्नो सङ्गठन गरेको थियो । २०२७ सालको विद्यार्थी युनियनको निर्वाचनमा मेरो प्रस्तावमा नै नेविसंघको केन्द्रबाट जानुभएका विद्यार्थी नेता दाजुहरू हेरम्ब थापा र वसन्त गुरुङले रामपदारथ झालाई सभापतिमा र नयनध्वज गिरीलाई युनियनको सचिवमा उठाउने निर्णय गर्नुभएको थियो । त्यो बेलामा पनि हामीले समावेशी कुरालाई ध्यान दिएका थियौँ किनभने हामीलाई लाग्थ्यो , नेविसंघले नै समाज रूपान्तरणको काम गर्नुपर्छ । त्यहाँ जातीय विवादको कुनै गुन्जायस हुनुहुँदैन तर मिलाएर आम विद्यार्थीहरूको अपनत्व आवश्यक छ । 

आज धेरै नेपालीहरु प्रजातन्त्रको त्यो जगमा, प्रजातन्त्रको जनपक्षीय परिणामका लागि पुरिएका छन् र ती जीवित स्वतन्त्रता र प्रजातान्त्रिक सेनानीहरुमा तर निराशा आउन दिनु हुँदैन भन्ने आजको समयको पदचापलाई सुनिएको देखिँदैन भन्ने गुनासो पनि आएको छ । 

रामपदारथ झालाई सभापतिमा र नयनध्वज गिरीलाई सचिवमा अत्यधिक मतले विजयी गराइयो । त्यो भन्दा पहिले महन्त ठाकुर सभापति र रामप्रसाद गिरी सचिव हुनुहुँदो रहेछ । २०२८ सालमा भएको विद्यार्थी युनियनको निर्वाचनमा आनन्द ढुङ्गाना सभापतिमा र गणेश तिवारीलाई सचिवमा उठाइयो तर अत्यधिक मतले जिताइयो । गणेशजीलाई राम्रोसँग नेपाली बोल्न आउँदैन थियो र भाषण गर्न पनि जान्नुभएको थिएन तर मान्छे हुनुहुन्थ्यो सङ्गठनकर्ता । समावेशी पनि भयो । त्यसैले भन्ने पनि गरिएको थियो- नेपाल विद्यार्थी सङ्घ भनेको प्रजातन्त्रवादी उत्पादन गर्ने नर्सरी हो । पछि अहिले पनि नेपाल विद्यार्थी सङ्घका उत्पादनहरू नै नेपाली काँग्रेसमा नेतृत्वदायी पङ्क्तिमा देखिएका छन् । दोस्रो सभापति शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्री हुने मौका पाउनु भयो ४ पटकसम्म । अरु नेताहरूको कति सङ्ख्या गन्नु र ? कम्युनिस्ट पार्टीहरूमा पनि विद्यार्थी नेताहरू नै अहिले निर्णायक नेतृत्वमा हुनुहुन्छ । हिजोका दिनमा जुनसुकै सङ्गठनका विद्यार्थी नेताहरूमा समाज रूपान्तरणको जिम्मा हामी तरुणमा छ है भन्ने समाजसेवी र चेतनामूलक भावना थियो । तर आज ? त्यो विवेचना अर्को कुने बेलामा गरौँला । 

हामी भर्ना हुँदा कतिपय युनियनका पदाधिकारीहरू केन्द्रीय कारागार काठमाडौँमा हुनुहुन्थ्यो राजा महेन्द्रको जानकी मन्दिर परिसरमा रहेको सालिकमा कालो दलेकोले । राजाको जन्मदिन जेठको ३० गते पर्ने । अनि त्यही दिन राजाको चाकडीमा प्रभात फेरी गर्न जाँदा प्रहरीले त देख्छ, सालिक तोडफोड भएको छ, कालो मोसो मुखमा दलेको छ । त्यसैले महन्त ठाकुर, रामप्रसाद गिरी सहित केशव कोइराला, हरिहर विरही, आनन्द ढुङ्गाना, महेन्द्र  मिश्र आदि विद्यार्थी नेताहरू जेलमा हुनुहुन्थ्यो । केशव दाइ र हरिहरजी ज्ञानकूपको संस्कृत महाविद्यालयमा पढ्नु हुँदो रहेछ । 

पछि पछि उहाँहरू जेलबाट छुटेर आए पनि राजाको सालिकमा लगाएको चस्मा देखाउनु हुन्थ्यो केशव दाइले । त्यो बेलाका ज्ञानकूपका विद्यालय तहमा पर्दासमेतका विद्यार्थी नेताहरू हुनुहुन्थ्यो कुलप्रसाद कोइराला, नारायण घिमिरे आदि । पछि कुलप्रसाद कोइराला नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुनुभयो र नारायण विश्वविद्यालयकै शिक्षण र पत्रकारितामा लाग्नुभयो । तर ती थिए संस्कृत विद्यालयका कडा विद्यार्थी नेताहरू त्यो बेलामा जो कुनै पनि बेलामा सहादत दिनका लागि तयार थिए जस्तो कि त्यही समूहको महेश कोइराला पछि सहिद भयो र केशव दाइ त हामी सबैको नेता नै हुनुहुन्थ्यो जसलाई पञ्चायती शासनले गोली हानेर मारेको थियो मटिहानीमा आजभन्दा ४० वर्ष अघि । 

त्यो बेलामा मात्र प्रजातन्त्र स्थापनाको मात्र कल्पना हुन्थ्यो र प्रजातन्त्र प्राप्त भएपछिका सुनौला दिनहरूको कल्पना गरेर विद्यार्थी साथीहरूलाई प्रजातन्त्रवादी बनाइन्थ्यो । हामीले प्रजातन्त्रको स्वाद चाखेका थिएनौँ र पनि अरूका अनुभव र पढेका कुराको आधारमा संसारमा सबैभन्दा वैज्ञानिक तथा जनताको शासन प्रणाली भनेको प्रजातान्त्रिक वहुलवादी बहुदलीय शासन प्रणाली हो भनेर एउटा स्थायी प्रभाव परेको नै हो । पञ्चायत भन्ने विषय अनिवार्य थियो प्रवेशिका र आइकममा । सायद त्यो विषयमा देखाइएका बहुदलीय तथा संसदीय व्यवस्थाका अवगुणहरूलाई हामी उल्टाएर बुझ्ने पनि गर्थ्यौँ । कहिलेकाहीँ बढी प्रचारात्मक हुँदा त्यसको पर्ने कुप्रभाव पनि त्यही थियो, मानिसहरू पञ्चायतको विरुद्धमा लाग्ने मनोविज्ञान जस्तो कि सोभियत सङ्घमा भयो त्यस्तै ।

एउटा प्रजातन्त्रभित्र पनि मौलाउने निरङ्कुश प्रवृत्तिको एउटा उदाहरण हिट्लर । जर्मनीको चान्सलर, संविधानअनुसार नै कानुनी हैसियतमा जनता विरुद्ध एउटा निर्वाचित जनप्रतिनिधि कसरी जान सक्दो रहेछ भन्ने उदाहरण हिट्लर हो । युद्धको विभीषिकाका कारणले हिटलरको शासनका विरुद्धमा जनता जान त सकेनन् तर नियतिले यस्तो दिन पनि आयो, उसकै जर्मनीमा अहिले हिटलरको नाम सार्वजनिक ठाउँमा कसैले बोल्यो भने पनि उसले सार्वजनिक मुद्दा बेहोर्नु पर्छ । भन्न त उसले हामी जर्मन, हाम्रो जर्मनी संसारमा महान् भनेर उग्र राष्ट्रवादको नाराभित्र आफ्नो अभीष्टता पूरा गरेको थियो र पुरै जर्मनीलाई एउटा कठोर कारागारको रुपमा विकसित गरेको थियो ।

पञ्चायतको पनि एक प्रकारले त्यस्तै नियत थियो र नियति पनि त्यही भयो । यसलाई संसारको परिवर्तनको अथक चक्र भनेर बुझ्नु पर्ला । तर प्रजातन्त्रको गतिशील चक्र त जनताको पक्षमा नै रहन्छ किनभने गलत तरिकाले ‘वाइमर’ संविधानलाई व्याख्या गरेर अर्थात् बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने हिटलर पछि पनि प्रजातान्त्रिक व्यवस्थाले झन् नयाँ नयाँ संस्करणमा विकास गरेको पाइयो । 

आज विश्वमा प्रजातान्त्रिक व्यवस्था र समाजवादको नमुनाको रुपमा छ । हिटलरको कुरा गर्दा म पोहोर बर्लिन् पुगेको थिएँ । त्यहाँ हामीलाई सुरुमै भनियो–झुक्किएर पनि हिट्लरका बारेमा कुनै कुरा सार्वजनिक ठाउँमा नगर्नु होला किनभने यदि कसैले प्रहरीलाई यहाँ हिट्लरका बारेमा कुरा गर्दै छन् भनेर भन्यो भने तत्काल हतकडी लगाएर लैजान्छ । नाजीको पक्षमा बोल्ने त कता हो कता, कोही नाजीको सन्तान रहेछ भने पनि अहिलेसम्म छिछिदुरदुर गरिँदो रहेछ । 

प्रजातन्त्रभित्र पनि कसरी निरङ्कुशताले जन्म लिन सक्दो रहेछ भन्ने उदाहरण थियो एडोल्फ हिटलर । ‘वाइमर’ संविधानले दिएको प्रजातान्त्रिक हक अधिकारको दुरुपयोग गरेर हिटलरले कसरी नाजी फौजको निर्माण गरेको थियो र ती नाजीले कसरी आम जनताको राष्ट्रवादी भावना भड्काउँथे जातीय विद्वेष भन्ने कुराको एउटा उदाहरण यस्तो रहेछ—हिटलरको साथी थियो गोयबल्स । ऊ प्रचारको काम गथ्र्यो प्रचार मन्त्रीको रुपमा । कुनै झुठ कुरो सयपटक भन्यो भने र प्रचार गरेका त्यो जनताले पत्याउँछन् भन्ने सिद्धान्त दिएकाले नै आज पनि गोयबल्सको जस्तै भनिन्छ । 

संसारलाई थाहा छ कि यहुदी प्रति हिटलरको घृणा थियो र उसले ६० लाखभन्दा बढी यहुदीहरुको हत्या गरेको थियो । त्यहीक्रममा एकपटक के भएछ भने बर्लिनको नजिकैको गाउँमा एउटा मेला लागेको रहेछ । त्यो मेलामा कतैबाट एउटा बाघ आएछ । त्यहाँ जम्मा भएका युवाहरुमध्ये १०जनाले मिलेर बाघ समाएछन्, पक्रेर कुटी कुटी मारेछन् । भोलिपल्ट हिटलरको पत्रिकाले लेखेछ–महान जर्मनहरु जसले बाघलाई पनि कुटी कुटी मारेर मेलाका हजारा मानिसहरुको ज्यान जोगाए । तर कुरो के रहेछ भने ती युवाहरु यहुदी रहेछन् । भोलिपल्टको हिटलरको मुखपत्रमा गोयबल्सले लेखेछन्–साथीहरु, हामी हिजोको समाचारप्रति लज्जित छौँ किनभने एउटा विचरा बाघलाई १० जना आततायी यहुदीहरुले कुटी कुटी मारेछन् । हाम्रो सरकार ती अपराधीहरुलाई दण्ड दिन सक्षम छ र पक्कै ती बाघमाराहरुलाई कडा दण्ड दिइनेछ । अर्थात् तिनले मारिनु परेछ । 

 यसैक्रममा थाहा भयो–एकजना जर्मनीमा बसेर काम गरिरहेका वैज्ञानिक हिन्दुस्तानीले तिहारको बेलामा आफ्नो घरको आँगनमा शुभ लाभको चिन्ह स्वस्तिक बनाएको रहेछ । कसैले उजुर गरेछ कि यहाँ हिटलरको स्वस्तिक चिन्ह आफ्नो आँगनमा राखेर पूजा गरिरहेको छ । प्रहरी घुम्दै जाँदा स्वस्तिक चिन्ह देखेछन् । तत्काल उनलाई पक्राउ गरेर लगेछ । बल्ल बल्ल भारतीय कूटनीतिक प्रयास पछि स्वस्तिक चिन्हको वारेमा जानकारी लिएछन् । हिटलरले उल्टो स्वस्तिक प्रयोग गर्दथ्यो तर स्वस्तिक नै भनेर प्रयोग गर्दथ्यो । अहिले पनि हामी के भन्न सक्छौँ भने प्रजातन्त्रमा पनि निरङ्कुशता बढेर हिटलर जन्मन सक्छ । यसो हुनुमा अत्यधिक शक्ति सञ्चय गरिनु हुँदैन किनभने हिटलरले म नै संविधान हुँ, म नै प्रजातन्त्रको नायक हुँ भन्यो र निर्वाचनलाई फगत एउटा औपचारिक कामको लागि मात्र प्रयोग गरेको थियो । 

प्रजातन्त्रको परिकल्पनाले मात्र पनि पुलकित हुने हामीले नै कठोर राजाको शासनलाई परिवर्तन गर्ने जिम्मा लियौँ र अर्को पुस्तासम्म आएपछि आज मुलुकमा गणतन्त्रात्मक शासन व्यवस्था छ । कहिलेकाहीँ अचम्भ लाग्छ केमा भने जनता जागेपछि के पो परिवर्तन सम्भव छैन र ? अनि फेरि परिवर्तनलाई यदि संस्थागतरुपमा सजगताका साथ प्रयोग गर्न सकिएन भने अराजकता पनि आउन सक्छ । 

हिजोको परिकल्पनाको प्रजातन्त्र, सिद्धान्तको प्रजातन्त्र र आजको प्रयोगमा रहेको प्रजातन्त्रमा पाइने फरकलाई हेर्दा हुन्छ । आफ्नो किशोरावस्थादेखि प्रजातन्त्रका पक्षमा वकालत गर्नेहरुका लागि अहिले प्रौढावस्था र अझ भनौँ वृद्धावस्थासम्म आउँदा देखिएका परिवर्तन अनि ती परिवर्तनको पक्षमा इमान्दार प्रयास र प्रयोग नहुँदा दिक्क लाग्छ नै । तर प्रजातन्त्रभन्दा अर्को मानव अधिकारको प्रत्याभूति दिने संस्था, वैचारिक स्वतन्त्रताको पक्षमा वकालत गर्ने संस्था र सहिष्णुताको पाठ पढाउने संस्था अरु शासन व्यवस्थामा देखिएको छैन अहिलेसम्म पनि । 

कल्पनासम्म पनि गर्न सकिएको छैन र राजनीतिक शास्त्रीहरुले पत्ता लगाउन सकेका छैनन् । जतिसुकै अपवाद भए पनि, देखिए पनि प्रजातन्त्रमा आम जनताको पहुँच हुँदो रहेछ भन्ने कुरा संयुक्त राज्य अमेरिकामा बाराक ओबामा राष्ट्रपति हुनु या नरेन्द्र मोदीजस्ता व्यक्ति भारतको प्रधानमन्त्री हुनु र हाम्रै नेपालमा पनि आजको अवस्थामा केपी शर्मा ओली, शेरबहादुर देउबा जस्ताले राज्यको शासन भार लिनु भनेको आम नागरिकका प्रतिनिधिले सत्ता चलाउने जिम्मा प्राप्त गर्नुलाई लिन सकिन्छ । 

तर डर के छ भने जब जब सत्ताधारीहरुमा कुण्ठा उत्पन्न हुन्छ, आफ्ना निहित, फगत व्यक्तिगत स्वार्थमा कतैबाट हस्तक्षेप हुने सम्भावना देख्छन् त्यसलाई समन गर्न संविधानको तोडमरोड गरिन्छ र आफू सत्ताबाट बाहिर नजाने षडयन्त्र सुरु हुन्छ । यो नेतृत्वमा आउनेको विचारमा देखिने कुरा हो । पहिले त्यो देखिने रहेनछ । अन्तरमनमाको पो पसेको हुन्छ र ? त्यसैले प्रजातान्त्रिक पद्धतिमा सत्ताको साँचो लिने व्यक्तिमा प्रजातान्त्रिक आचरण र संस्कृति चाहिन्छ । व्यवस्था प्रजातान्त्रिक भएरमात्र हुँदैन, नियत पनि त्यतिकै प्राञ्जल र जनपक्षीय हुनु जरुरी छ । 

आज धेरै नेपालीहरु प्रजातन्त्रको त्यो जगमा, प्रजातन्त्रको जनपक्षीय परिणामका लागि पुरिएका छन् र ती जीवित स्वतन्त्रता र प्रजातान्त्रिक सेनानीहरुमा तर निराशा आउन दिनु हुँदैन भन्ने आजको समयको पदचापलाई सुनिएको देखिँदैन भन्ने गुनासो पनि आएको छ । 
क्रमशः