वृद्ध दाजुबहिनीको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला

वृद्ध दाजुबहिनीको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७७

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमायाको शव आफ्नै घरमा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोली घटनास्थल गएको थियो । घटनास्थल भोजपुरको सिमानामा पर्छ । 

घटनाको प्रकृति हेर्दा तीन/चार दिन अगाडि हत्या भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । ‘यही भदौ १७ गते दिउँसो साढे ४ बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्,’ उनले भने, ‘अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।’

घटनास्थल दिक्तेल बजारबाट करीब ३० कोस टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । 

अविवाहित  दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बस्दै आएको बताइएको छ ।