लोकसंवाद संवाददाता | समाचार | भदौ २१, २०७७
काठमाडाैँ । नेपाली भाषा शिक्षा समूह (२०६८–०६९) त्रि.वि., कीर्तिपुरका २ सय २८ जना विद्यार्थीहरुले २०७७ भदौ २० गते एक प्रेस विज्ञप्ति जारी गरी देशको अस्मितालाई रक्षा गर्ने भाषामा प्राविधिक सहजता विकास गरेर कायम गर्नुको साटो विभिन्न कारणहरू देखाउँदै विदेशी भाषाको बढोत्तरी गरेको अदालतको फैसलाप्रति खेद प्रकट गरिएकाे छ ।
नेपाली भाषा शिक्षा समूहका संयाेजक रमेश भट्टराई ‘सहृदयी’द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा 'नम्बर प्लेटका आकार एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी र दुर्घटना कम हुने लगायतका अदालतका तर्कहरू अन्तर्राष्ट्रिय परिवेशमा प्रयोग भइरहेका अभ्यासका आधारमा पनि वैज्ञानिक र प्रामाणिक छैनन् । आजको विज्ञान–प्रविधिको युगमा पनि आफ्नो देशको अस्मितालाई रक्षा गर्ने भाषामा प्राविधिक सहजता विकास गरेर कायम गर्नुको साटो विभिन्न कारणहरू देखाउँदै विदेशी भाषाको बढोत्तरी गरेको अदालतको यो निर्णयप्रति हामी खेद प्रकट गर्दछौँ ' भनिएकाे छ ।
विज्ञप्तिमा 'संवैधानिक प्रावधान तथा नेपालीहरूको गरिमाका लागि नेपालले आफ्नो स्वाभिमान रक्षार्थ अपनत्व कायम राख्नु आवश्यक छ । तथापि, न्यायिक गरिमा र भाषिक राष्ट्रवादको महत्तालाई भुलेर सवारी साधनमा प्रयोग हुने इम्बोस्ट नम्बर प्लेटलाई रोमन लिपिको अङ्ग्रेजी भाषामा राख्ने सर्वोच्च अदालतको निर्णयले नेपाली भाषाको गरिमामाथि गम्भीर असर पारेको छ । यसअघि पनि अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै हालसालै देवनागरी लिपिमा लेखिने नेपाली अक्षरमा मात्राको आकार सानो–ठूलो हुने कारण देखाएर सर्वोच्च अदालतले गरेको यो निर्णयप्रति हाम्रो आपत्ति र असहमति रहेको कुरा सरकारसमक्ष अनुरोध गर्दछौँ ।' भनिएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ -अदालतद्वारा नेपालको राष्ट्रियता र अस्मितामाथि गाँसिएको यस्तो महत्वपूर्ण विषयमा चालिएको यस कदमले संवैधानिक मर्यादालाई नै बिर्सेकोतर्फबाट हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । अतः यो निर्णयलाई तत्काल सच्याई सवारी साधनमा प्रयोग हुने इम्बोस्ट नम्बर प्लेटमा पहिला देवनागरी लिपिमा लेखिने नेपाली भाषा तथा आवश्यक रहेमा कोष्ठकभित्र अङ्ग्रेजी भाषाको प्रयोग गर्न हामी अपिल गर्दछौँ । त्यस्तै गरेर प्रदेश सरकारले आफ्नो प्रदेशको भाषालाई पहिलो स्थानमा राखेर दोस्रो लहरमा कोष्ठकभित्र नेपाली भाषा तथा आवश्यक ठानेमा अङ्ग्रेजी समेत राखेर त्रिभाषिक नीतिलाई अपनाउनु वाञ्छनीय हुनुपर्ने हाम्रो ठहरलाई यस विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ ।
साथै 'सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने गरी गरेको फेसलालाई पुनर्विचार गरी तुरुन्त सच्याउन माग गर्दछौँ । यो फैसलाले राष्ट्रभाषालाई प्राथमिकतामा राख्न नसकेको र अन्तर्राष्ट्रिय भाषा वा विदेशी भाषालाई नै प्रश्रय दिएको तर अन्तर्राष्ट्रिय अभ्यासमा विभिन्न मुलुकहरूले अङ्ग्रेजी भाषा नराखेर आफ्नै राष्ट्रभाषालाई सहजै उपयोग गरिरहेको यथार्थलाई बोध गर्दै गरिमामय अदालतले समयमै यस फैसलालाई सच्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।' भनिएकाे छ ।
अन्तमा, यो हाम्रो शान्तिपूर्ण विज्ञप्तिमार्फत यो विषयलाई कुनै स्वार्थसँग नजोडी संवैधानिक प्रावधान तथा भाषिक अस्मिताका आधारमा केवल राष्ट्रिय स्वार्थसँग गाँसेर हेरिनेछ भन्ने कुरामा हामी ढुक्क छौँ । साथै गरिमामय अदालतले हाम्रो यो मागलाई सम्बोधन गर्नेछ भन्ने बारेमा हामी विश्वस्त छौँ । विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति जारी गर्नेकाे सूचि